डा. बाबुराम भट्टराईद्वारा संघीय राजधानी काठमाडौं बाहिर सार्न प्रस्ताव

२०७७ माघ ६ गते, मंगलवार


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टरार्यले संघीय राजधानी काठमाडौं बाहिर सार्नु पर्ने प्रस्ताव अघि सारेका छन । आज सामाजिक सञ्जालमा ट्वीट गर्दै डा. भट्टराईले विकास र संरक्षणबीचको अन्तर सम्बन्ध कायम गर्न नसक्दा र भूमाफियालाई छाडा छाड्दा केही दशकमै काठमाडौँ उपत्यका कंक्रिटको जंगल बनेर बस्नै अयोग्य हुने चिन्ता जनाएका छन । उनले यसको अन्त्यका लागि तुरुन्त राष्ट्रिय भू–उपयोग नीति लागू गर्न समेत माग गरेका छन । काठमाडौं महानगरपालिका–१ स्थित ऐतिहासिक महत्व बोकेको कमलपोखरीलाई पुनर्निर्माणका क्रममा मौलिकता मास्न खोजेको भन्दै चौतर्फी विरोध भइरहेका बेला डा. भट्टराईले संघीय राजधानी नै काठमाडौं बाहिर सार्नु पर्ने प्रस्ताव अगाडि सारेका हुन् । काम रोक्न पुरातत्वले विभागले सोमबार महानगरलाई पत्राचार गरेको भए पनि सो को बेवास्ता गर्दै सोमबार साँझ डोजर नै चलाएकाे थियाे । पोखरी निर्माण गर्दा परम्परागत निर्माण सामग्री तथा प्रविधि प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ को परिधिभित्र रही कार्य गर्न र गराउन पुरातत्व विभागको पत्रचारलाई महानगरले बेवास्ता गरेको स्थानीयको भनाइ छ ।
यसै सिलसिलामा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले कमलपोखरी निर्माणलाई लक्षित गर्दै काठमाडौं कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने संकेत गर्दै लेखेका छन – ‘विकास र संरक्षण वीचको अन्तर सम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाण्डौ उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो । तुरून्त राष्ट्रिय भूउपयोग नीति लागू गरौं ! संघीय राजधानी काठमाण्डौ बाहिर सारौं !’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु