पुरातत्व विभागको निर्देशन लत्याउदै कमलपोखरी पुनर्निर्माण

२०७७ माघ ६ गते, मंगलवार

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरातत्व विभागको निर्देशन लत्याउदै कमलपोखरीको पुनर्निर्माण जारी राखेको छ । विभागको निर्देशन विपरित काठमाडौं महानगरपालिका वडा नम्बर एकमा रहेको पोखरीमा रातारात डोजर चलाएर सोमबार बेलुका जैविक हिलो माटो निकालिएपछि स्थानीय र अभियन्ताले रोकेका छन् । ठेकेदारले मध्यरातमा हिलो माटो निकालेर नारायणस्थान बुढानिलकण्ठ ओसारेर लगेको हो । पोखरी निर्माण प्राचीन स्मारक संरक्षण ऐन २०१३ को परिधि भित्र रही कार्य गर्न र गराउन पुरातत्व विभागको सोमबार नै महानगरलाई पत्राचार गरेको थियो ।
पोखरीको मौलिकता मास्ने र क्षेत्रफल खुम्च्याउने गरी महानगरले पोखरीलाई कंक्रिट संरचना बनाउन थालेपछि अभियन्ताहरुले विरोध जनाउँदै आएका छन् । व्यापारिक सोच राखेर सम्पदा पुनर्निर्माण गर्दा मौलिक पहिचान नै मेटिने भन्दै अभियन्ताहरुले आपत्ति जनाउदै आएका छन् । कमलपोखरी पुनर्निर्माणका लागि काठमाडौं महानगरले करोड ४७ लाख रूपैयाँ बजेट छुट्याएको छ । यसअघि कंक्रिटको पौडी पोखरीजस्तै बनाउन लागिएको रानीपोखरीको पुनर्निर्माण पनि अभियन्ताको पहलमा रोकिएको थियो ।

प्रतिक्रियाहरु