बास्तोलाको रिहाइको माग गर्दै देशभर प्रदर्शन

२०७७ माघ ६ गते, मंगलवार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत नेकपा नेता–कार्यकर्ताको रिहाइको माग गर्दै देशभर प्रदर्शन गरिएको छ । यसैक्रममा नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार सामाजिक फासिवादी सरकारले गैरन्यायिक ढङ्गले पार्टीका नेताहरूलाई गिरफ्तार गरेको विरोधमा काठमाडौँमा विरोध सभा सम्पन्न गरेको जनाइएको छ । विरोध सभालाई सम्बोधन गर्दै मञ्चका सचिव खेम प्रधानले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत नेता–कार्यकर्तालाई तत्काल रिहा नगरे राज्यले ठूलो मूल्य चुकाउनुपर्ने बताएका थिए ।
मञ्चका केन्द्रीय सदस्य तथा धादिङ–काठमाडौँ जिल्ला सम्पर्क मञ्चका अध्यक्ष प्रतीक अधिकारीले दलाल राज्यसत्ताका विरुद्ध नेकपा वैकल्पिक शक्तिका रूपमा उदाएपछि केपी वलीहरूको राजनीति धर्मराएको बताए । उनले त्यसैको प्रतिशोधस्वरूप नेकपामाथि प्रतिबन्ध लगाएर दमन गरेको भन्दै गिरफ्तार सचिवालय सदस्य बास्तोलालगायत सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई रिहा गर्न माग गरे । उनले नेताहरूलाई रिहा नगरिए राज्यले ठूलै मूल्य चुकाउनुपर्ने पनि बताए । कार्यक्रममा मञ्चमा आबद्ध जिल्ला मञ्चहरूको उलेख्य सहभागिता रहेको जनाइएको छ ।
यता, नेकपा रोल्पाले पार्टी केन्द्रीय सचिवालय सद्रय धर्मेन्द्र बास्तोलालगायत नेता–कार्यकर्ताको रिहाइको माग गर्दै जिल्लाका ६ ठाउँमा भव्य प्रदर्शन गरेको छ । नेकपा रोल्पाले दिएको जानकारीअनुसार जिल्लाका विभिन्न ६ स्थानमा विरोध सभा सम्पन्न गरिएको हो । सामाजिक दलाल पुँजीवादी सरकारले पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख कञ्चन, सुदर्शनका साथै केन्द्रीय सदस्यहरू वीरजङ्ग, विरही, ओमप्रकाश पुन, माइला लामा, आदर्शलगायत नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध ६ स्थानमा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले गिरफ्तारीको घोर भत्र्सना गरेका थिए । जिल्लाको एक स्थानमा भएको विरोध सभामा सेक्रेटरी विस्फोटले सम्बोधन गर्दै केपी वली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले आफ्नो सत्ता लम्ब्याउनका लागि देश र जनताका लागि अहोरात्र खटिरहेका नेकपाका नेता–कार्यकर्तालाई दमन, धरपकड, गिरफ्तारी र हत्याजस्ता फासिस्ट गतिविधि गरिरहेको र इतिहासका कुनै पनि वादशाहहरू जनताको विद्रोहको अगाडि टिकेको उदाहरण नभएकाले उनको सत्ता पनि तासको घरजस्तै गल्याम–गुर्लुम ढल्ने बताए ।
यसैगरी नेकपा अछामले पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्तालाई सामाजिक फासिवादी सरकारले गैरन्यायिक ढङ्गले गिरफ्तार गरेको विरोधमा जिल्लाका विभिन्न ठाउँमा विरोध सभा सम्पन्न गरेको जनाएको छ ।विरोध प्रदर्शनमा नेकपा अछामका जिल्ला नेताहरूले बास्तोलालगायत गिरफ्तार गरिएका नेकपाका नेता–कार्यकर्तालाई तत्काल रिहा नगरिए राज्यले ठूलो मूल्य चुकाउनुपर्ने बताएका थिए । उनीहरूले दलाल राज्यसत्ताका विरुद्ध नेकपा वैकल्पिक शक्तिका रूपमा उदाएपछि केपी वलीहरूको राजनीति धर्मराएको र त्यसैको प्रतिशोधस्वरूप नेकपामाथि प्रतिबन्ध लगाएर दमन गरेको बताएका थिए ।
यसैगरी ,बास्तोलाको रिहाइको माग गर्दै नेकपाले कपिलवस्तुमा विरोध प्रदर्शन तथा कोणसभा गरेको छ । कोणसभालाई सम्बोधन गर्दै सन्देश, विज्ञानलगायत वक्ताहरूले दलाल संसदीय व्यवस्था चरम सङ्कटमा रहेको र त्यसैको परिणाम संसद् विघटन र संसदीय पार्टीहरूभित्र विभाजन भएको बताए । उनीहरूले यो व्यवस्थाले जनताको समस्या समाधान गर्न नसक्ने बताएका थिए । वक्ताहरूले संसदीय व्यवस्थाकै कारण नेपाली जनताले दुःख पाउनुपरेको भन्दै अहिले आएर यो असफलसिद्ध भएको धारणा पनि राखे । वक्ताहरूले नेपाली श्रमिक जनताको मुक्ति वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र हुने भन्दै त्यसका लागि एकीकृत जनक्रान्तिमा लामबद्ध हुनुपर्ने बताए । उनीहरूले नेकपाका नेता बास्तोलालगायत जेल र हिरासतमा रहेका सम्पूर्ण नेता–कार्यकर्तालाई बिनासर्त रिहा नगरिए सरकारले सशक्त सङ्घर्षको सामना गर्नुपर्ने बताए ।
यसैगरी नेकपा नवलपुरले नेकपा नेता बास्तोलाको रिहाइको माग गर्दै प्रदर्शन गरेको छ । प्राप्त समाचारअनुसार जिल्लाको कावासोती नगरपालिकाको विद्यालयमा आयोजित विरोध प्रदर्शनमा बास्तोलालगायत सम्पूर्ण राजनीतिक बन्दीलाई रिहा गर्नसमेत माग गरिएको थियो । कार्यक्रमअघि गिरफ्तार नेता–कार्यकर्ता रिहा गर, फासिवादी दमन र प्रतिबन्ध खारेज गर, एमसीसी खारेज गरलगायत नारा लगाएको बताइएको छ । विरोध कार्यक्रममा विद्यार्थी नेता र कार्यकर्ताले वर्तमान पुँजीवादी व्यवस्थामा वैज्ञानिक शिक्षा सम्भव नभएकाले यसलाई बदल्नुको विकल्प नरहेको बताएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु