व्यवसायीलाई बिजुलीको डिमान्ड शुल्कमा छुट

२०७७ माघ ५ गते, सोमबार

काठमाडौं । अर्थ मन्त्रालयले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने जानकारी दिएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रह अनुसार नै आजदेखि शुल्कमा छुट दिन लागिएको हो । अर्थ मन्त्रालयले विज्ञप्ति निकालेर कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको लकडाउन अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट कार्यान्वयन हुने जनाएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले यो निर्णय कार्यान्वयनबाट उद्योग लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप सहयोग पुग्ने बताए । औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने तयारी छ ।
चालु आर्थिक वर्षको बजेटमा कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभर विद्युत डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु