नेकपाद्वारा निरु थापालाई तत्काल रिहा गर्न माग

२०७७ माघ ५ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोले ब्युरो सदस्य निरु थापालाई बाटोमा हिडिरहेको अवस्थामा माघ ३ गते टोखा नगरपालिका काठमाडौँबाट विनाकारण गिरफ्तार गरेको घटनाप्रति घोर निन्दा एवम् भत्र्सना गर्दै अविलम्ब रिहाइको जोडदार माग गरेको छ । ब्युरो इन्चार्ज शिवाले आइतबार प्रेस विज्ञप्ति निकाली केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेताहरूलाई बिनाकारण गिरफ्तार गरेकोमा घोर आपत्ति प्रकट पनि गरेका छन् । उनले, केपी सरकारको फासिवाद, निरंकुशता र अलोकतान्त्रिक कदमका विरुद्ध संगठित हुँदै संघर्षमा आउन नेकपाले घोषणा गरेको माघ १० गतेको नेपाल बन्दलगायतका कार्यक्रमहरुलाई सम्पूर्ण रुपले सहयोग गर्न सबै देशभक्त, वामपन्थी, लोकतन्त्रवादी र सच्चा कम्युनिस्ट शक्तिहरुमा विशेष अनुरोधसमेत गरेका छन् ।
गण्डक ब्युरो इन्चार्ज शिवाको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी दलाल पुँजीवादी सत्ताका विरुद्ध निरन्तर संघर्षरत छ । पार्टीले सञ्चालन गर्दै आएको दलाल संसदीय व्यवस्था, राष्ट्रघात, जनघात र भ्रष्टाचार विरोधी अभियानबाट आतङ्कित केपी सरकारले विगतदेखि दलमाथि प्रतिबन्ध लगाउँदै हत्या, गिरफ्तरी र झूठा मुद्दासहित दमनलाई तीव्र पार्दै आएको छ । एकपछि अर्को संकटमा फस्दै र असफल बन्दै गइरहेको केपी सरकारको गृहप्रशासनले हाम्रो पार्टी गण्डक ब्युरोका सदस्य क. निरु थापालाई बाटोमा हिडिरहेको अवस्थामा माघ ३ गते टोखा नगरपालिका काठमाडौँबाट गिरफ्तार गरेको घटनाप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दै गिरफ्तार कमरेडको अविलम्ब रिहाइको जोडदार माग गर्दछ साथै पछिल्लो समय गिरफ्तार पार्टी केन्द्रीय सचिवालय सदस्य क. धर्मेन्द्र बास्तोला लगायतको गिरफ्तारी, झुठा मुद्दा, धरपकड र जनदमनको विरोधमा यही माघ १० गते आह्वान गरिएको नेपाल बन्दलाई सम्पूर्ण रुपले सहयोग गर्दै केपी सरकारको फासिवाद, निरंकुशता र अलोकतान्त्रिक कदमका विरुद्ध संगठित हुँदै संघर्षमा आउन सबै देशभक्त, वामपन्थी, लोकतन्त्रवादी र सच्चा कम्युनिस्ट शक्तिहरुमा विशेष अनुरोध गर्दछौं ।’

प्रतिक्रियाहरु