भारतीय हस्तक्षेप र नेपाली लेन्डुप दोर्जेहरु

२०७७ माघ ५ गते, सोमबार

हस्तबहादुर केसी

नेपालमा राजनीतिक वातावरण तरल बनेको बेला भारतीय शासकहरुले नेपालमाथि विविध तरिकाले हस्तक्षेप गर्दै आएका छन् । दलाल सरकारका प्रधानमन्त्री केपी ओलीले पार्टी भित्रको आन्तरिक किचलो, झगङ, भागबन्डा र शक्ति र पद– प्रतिष्ठा, पैसो तथा निहित व्यक्तिगत स्वार्थ टकराए पछि गत पुस ५ गते संसद विघटन गरे पछि संसदीय राजनीतिक पार्टीहरुका बीचमा अन्तरविरोध चुलिएको छ । सत्ता रुढ नेकपा बिभाजित भएको छ । एकातिर संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ भने पार्टी फुटको झगडा निर्वाचन आयोगमा विचाराधीन अवस्थामा छ । यस परिघटनाले नेपालको राजनीतिक क्षीतिज ज्यादै तरंगित भइरहेको छ । यस्तै मौका छोपेर भारतीय शासकहरुले नेपालमाथि आफ्नो हस्तक्षेपकारी कदमलाई अगाडि बढाउँछन् ।

नेपालको राजनीतिक परिस्थिति कमजोर भएको बेला यहाँका दलाल शासकहरुले भारतीय विस्तारवादको आड लिएर शासनसत्ताको आयु नम्ब्याउने षड्यन्त्रको तानावाना बुन्न थाल्दछन् । उनीहरूलाई भारतीय विस्तारवादको आडभरोसा र आशीर्वादविना टिक्न सकिन्न भन्ने मानसिकता बनाउँछन् र भारतीय विस्तारवादका आड लिन रुचाउँछन । यही मौका छोपेर भारतीय शासकहरुले पनि आफ्नो दलाल सरकारलाई विभिन्न प्रकारका आश्वासन दिन्छन् र सत्ता टिकाई दिने विश्वास दिलाउँछन् । भारतीयहरुले कुनै पनि काम उधारो गर्दैनन् । नेपाल शासकहरुलाई आस्वस्त दिलाएर यही मौकामा भारतीयहरु नेपाल पसेर आफ्नो दुनो सोझ्याउनतिर लाग्दछन् । अहिले केपी ओलीको काम चलाउ सरकार अप्ठ्यारोमा परेको छ । सर्वोच्च अदालत र निर्वाचन आयोगले के निर्णय दिने हुन्, कुनै ठेगान छैन । यही बेला प्रधानमन्त्री केपी ओली आत्तिएका छन् । केही दिनका लागि सास फेर्न सकिन्छ कि भनेर प्रधानमन्त्री केपी ओलीले भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज टेलिभिजनका प्रधान सम्पादक सुधिर चौधरीलाई केही दिन पहिले नेपालमा बोलाएर राष्ट्रियतनका सवालमा सकारात्मक जवाफ दिए । जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीसित उनले । तर, प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा नेपाल आएका भारतीय पत्रकार तथा जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले प्रधानमन्त्री केपी ओलीको अन्तर्वार्ता लिएको भोलिपल्ट फिस्टेल एयरको हेलिकप्टर चढेर उनी विश्वको उच्च शिखर सगरमाथाको अवलोकन भ्रमणमा गए । सगरमाथा पुगेर भारतीय पत्रकार सुधिर चौधरीले नेपालको राष्ट्रिय स्वाधीनतामाथि धावा बोलेका छन् । प्रधानमन्त्री केपी ओलीको गत सोमबार अन्तर्वार्ता लिएका चौधरीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई भारतीय नाम दिने अभियान चलाउने समाचार प्रसारण गरेका थिए अर्थात् उनले ओलीको अन्तर्वार्ता बजाएको अर्को दिन सोही च्यानलमार्फत् सगरमाथामा भारतीयले धावा गर्नुपर्ने भन्दै प्रचार सामाग्री प्रशारण गरेका छन् । चौधरीले ‘नयाँ भारतके नयाँ राष्ट्रवादकी सच्ची पत्रकारिता भन्दै जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दावी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नू पर्ने भन्दै अत्यन्त लजास्पद रिपोर्ट प्रशारण गरेका छन् । अर्कोतिर प्रधानमन्त्री ओलीले भारतशीत विवादित रहँदै आएको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि नै भएको भन्ने कुरा बढो दह्रो गरिराखेकोमा तारिफ भइरहेको बेला जी न्यूजका प्रधान सम्पादकको नेपाली राष्ट्रियतामाथि धावा बोल्ने गरी आएको पछिल्लो रिपोर्टले सारा स्वाभिमान नेपालीलाई लज्जित बनाएको छ । भारतीय नागरिक राधानाथ सिकदरले पहिलो पटक सगरमाथाको उचाइ नापेका कारण उनकै नामबाट सगरमाथाको नाम हुनुपर्ने चौधरीको भनाइ छ । अगाडि भनिएको छ– “आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनु पर्छ, भारतका जनताले पनि अभियान चलाउनु पर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दावी पेस गर्नु पर्छ, पुरै दुनियाँका सामुन्ने ।’ यसबाट संशलेषण गर्न सकिन्छ कि हाम्रो देशका शासक हुतिहारा, नालायक, देशघाती, राष्ट्रघाती, जनघाती र समग्रमा हाम्रो देशका शासकहरु देशद्रोही भएका भारतीय विस्तारवादी शासकहरु सधैं हेप्दै आएका छन् । सिमानाहरु अतिक्रमण गर्दै आएका छन् । केपी ओली जस्तै जनघाती देशद्रोही शासकहरुले शासन गर्दै आएका कारण नेपाली जनताले करिब ६० हजार हेक्टर जमिन गुमाउनु परेको छ । कोसी, गण्डकी, महाकाली, कर्णाली जस्ता नदीहरु गुमाउनु परेको छ । त्यति मात्र होइन कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत पशुपतिनगर, मानेभञ्ज्याङ, सुस्ता जस्ता भूमि गुमाउनु परिरहेको छ । अर्काको देशको एउटा सामान्य पत्रकार आएर यसरी विश्वकै उच्च शिखरको रुपमा रहेको सगरमाथा भारतको हुनुपर्ने र त्यो पनि एउटा भारतीय नागरिकको नामबाट सगरमाथाको नाम राखिनुपर्छ भन्ने व्यापक रुपमा भारतीय सञ्चार माध्यमबाट प्रसारण भइरहेको अवस्थामा समेत नेपालको दलाल सरकार ‘चुँ’ सम्म नगर्नुले नेपालका शासकहरु भारतीय विस्तारवादका असली नोकर–चाकर र सच्चा दलाल हुन्, नेपाली लेन्डुप दोर्जे हुन् भन्ने कुराको प्रमाणित गर्दछ । भारतीय विस्तारवादले जसरी सिक्किममा देशद्रोही लेन्डुप दोर्जेलाई बलियो दलालको तयार पारेर उसकै प्रयासले सिक्किमलाई भारतमा गाभ्न सजिलो भएको थियो, त्यसैगरी नेपालमा पनि नयाँ नेपाली लेन्डुप दोर्जे जस्तै दलाल तयार पारेर नेपाललाई भारतमा विलय गराउन चहान्छ ।

सिक्किम भारतमा गाभ्नुभन्दा पहिले सिक्किमका लेन्डुप दोर्जेलाई पनि भारतले विभिन्न तरिकाले सम्मान गर्ने, सबैलाई चिनाउने र स्थापित गर्ने काममा भारतले निकै सहयोग गर्ने गरेको थियो । हरतरिकाले तयार पारी सकेपछि भारतले पछिल्लो अबधिमा संसद्भित्र पसेर सांसदहरूलाई तयार पार्ने काम गरेको थियो । अहिले भारतले नेपाललाई सिक्किमीकरण गर्ने तरिका अपनाउन लागेको हो कि भन्ने विषयमा पनि नेपाली जनता होसियार हुन जरुरी छ । नेपाली काँग्रेसले नेपालका नदीनालाहरु भारतलाई सुम्पने क्रम सुरु गर्ने बेला सबैभन्दा पहिले नेपालको सबैभन्दा ठूलो नदी कोसी नदी बि. सं. २०१२ सालमा भारतलाई सुम्पेको थियो । त्यस पछि गण्डकी नदी, महाकाली नदी हुँदै कर्णाली नदीसमेत यहाँका शासकहरुले भारतलाई बेचेका हुन् । नदीनालाहरु त भारतलाई सकिए । नेपालका शासकहरुले नेपालका हिमाल र पहाडहरु भारतलाई सुम्पने क्रम सुरु हुने संकेत देखिन थालेका छन् । नेपालका नदीनालनहरु भारतलाई सुम्पने राष्ट्रघाती कार्यको सुरु सत्तामा रहेको बेला नेपाली काँग्रेसले गरेको थियो भने हिमाल र पहाडहरु पनि भारतलाई सुम्पने अर्को राष्ट्रघाती कार्यको सुरु नामधारी कम्युनिस्ट नेकपा (नेकपा) गर्ने आभास देखिँदैछ । यो कार्यको सुरुवात राष्ट्रघाती महाकाली नदी भारतलाई सुम्पने पहिलो मतियार केपी ओलीबाट हुने सम्भावनाहरु देखापर्दै छन् । यस प्रकारको गम्भीर परिस्थितिको बेला नेपाली जनता होसियार रहन जरुरी छ ।

(लेखक ः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु