अमेरिकामा सुरक्षा व्यवस्था कडा

२०७७ माघ ४ गते, आईतवार


काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले शपथ लिने क्रममा हिंसा भडकिने सम्भावनालाई मध्यनजर गरेर अमेरिकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । पचासवटै राज्यमा डोनाल्ड ट्रम्प समर्थकले प्रदर्शन गर्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा सतकर्ता बढाइएको हो । जनवरी छ मा बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नका लागि सदनको संयुक्त सत्र जारी रहेका बेला राष्ट्रपति ट्रम्पका समर्थकले गरेको हिंस्रक आक्रमण गरेका थिए । पुनः त्यस्तै घटना नदोहोरियोस भनेर राजधानी वासिङटन डिसीमा नेशनल गार्ड परिचालन गरिएको छ । प्रहरीले बासिङटनबाट एकजना हतियारधारीलाई पक्राउ समेत गरेको छ । मेरिल्याण्ड, न्यू मेक्सिको लगायतका राज्यमा सम्भावित प्रदर्शनलाई ध्यानमा राखी आपतकाल घोषणा गरिएको छ । केही राज्यका राजधानी सपथ समारोह नसक्दासम्मका लागि बन्द गरिएका छन् । बाइडेनको टिमले शपथ ग्रहण समारोहका लागि बासिङटन नआउन आग्रह गरेको छ । अमेरिकी संघीय अनुसन्धान ब्यूरो ‘एफबीआई’ले हतियारधारी ट्रम्प समर्थकले सबै राज्यमा प्रदर्शन गर्नसक्ने चेतावनी यसअघि नै दिइसकेको छ ।
ट्रम्पका समर्थकले १६ देखि २० जनवरीसम्ममा हिंसात्मक प्रदर्शनको तयारी गरेको ‘एफबीआई’ले जनाएको छ । बाइडनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदैछन् । ट्रम्पले बाइडेनको शपथ ग्रहण समारोहमा सहभागी नहुने बताएका छन् । उनले आफ्ना लागि रेडकार्पेट तथा २१ तोपको सलामीसहितको बिदाई कार्यक्रमको तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रियाहरु