बास्तोलाको गिरफ्तारीविरुद्ध देशभर बिरोध प्रदर्शन

२०७७ माघ ४ गते, आईतवार


काठमाडौँ i नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत नेताहरूको गिरफ्तारीविरुद्ध सार्वजनिक गरेको सङ्घर्षको कार्यक्रमअनुसार शनिबार देशभर विरोध जुलुस निकालिएका समाचारहरू प्राप्त भएका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी चितवन राप्ती र खैरहनी नगरपालिकाको संयुक्त विरोध प्रदर्शन वीरेन्द्रनगरमा आयोजना गरिएको थियो । भने अखिल क्रान्तिकारी काभ्रेद्वारा बनेपा बजारमा सरकारविरुद्ध भव्य प्रदर्शन सम्पन्न भएको जनाइएको छ । बनेपामा अखिल क्रान्तिकारी ताम्सालिङ ब्युरो समन्वय समितिका संयोजक तथा सचिवालय सदस्य मुकुन्द श्रेष्ठको उपस्थितिमा विरोध कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ ।
उक्त कार्यक्रममा विद्यार्थी नेता मुकुन्दले वर्तमान सामाजिक फासिवादी दलाल सरकार अमेरिकी सेना नेपालमा भित्र्याउने खेलमा लागेर नेपाललाई सिरिया र लिबिया बनाउन लागिपरेको बताए । उनले वर्तमान दलाल संसदीय पुँजीवादी व्यवस्थाको विकल्पमा शोषणमुक्त समाज वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न क्रान्ति जारी रहेको बताए । भ्रष्टाचारका विरुद्ध बोल्दा आफ्नो पार्टीका नेताहरूलाई गिरफ्तार गरी जेल चलान गरिएकोमा आक्रोश पोख्दै मुकुन्दले बिनासर्त कञ्चनलगायत नेतालाई रिहा नगरिए जस्तोसुकै लडाइँ लड्न र बन्दुकसमेत बोक्न युवा विद्यार्थी तयार रहेको बताएका थिए ।
यसैगरी , बास्तोलासहित बन्दी नेताहरूको बिनासर्त तत्काल रिहाइको माग गर्दै पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको जदाहामा विरोधसभा सम्पन्न भएको बताइएको छ । कार्यक्रममा मन्तव्य राख्दै नेकपा नेता गुरुदेवले आफ्नो पार्टीका नेता कञ्चनलगायत सम्पूर्ण नेतालाई तत्काल रिहा नगरिए आन्दोलनको आँधीबेहेरी सिर्जना गर्ने चेतावनी दिए । पार्टी सङ्गठन निर्माणको अभियानमा जुटेका आफ्ना नेतालाई झूट्टा आरोप लगाई थुनामा राखेकोमा खेद प्रकट गर्दै उनले सङ्घर्षबाट स्थापित नेकपासँग पौँठेजोरी नखेल्न राज्यको ध्यानाकर्षण गराए । सरकारले कोरोनाको बेला जनताको स्वास्थ्यका लागि काम गर्नुको साटो जनताप्रति निरङ्कुश बनेको र पार्टीभित्रको झगडाले संसद् नै विघटन गरी निर्वाचन गर्छु भन्दै कोरोनाविरुद्ध लगाउने खोपका लागि चन्दा उठाउने नौटङ्गी गरेको आरोप लगाए । पार्टी नेता–कार्यकर्ता तत्काल रिहा गर्न नेकपाले घोषणाा गरेको सङ्घर्षको केन्द्रीय कार्यक्रमअन्तर्गत विरोध सभा आयोजना गरिएको हो ।
यसैगरी , नेकपा कपिलवस्तुले पार्टी केन्द्रीय सचिवालय सदस्य हरू धर्मेन्द्र बास्तोलालगायत नेता–कार्यकर्तालाई सरकारले कायरतापूर्ण गिरफ्तार गरेको विरोधमा प्रदर्शन गरेको छ । पार्टीले घोषणा गरेको सङ्घर्षको केन्द्रीय कार्यक्रमअनुसार आयोजित विरोध सभाका वक्ताहरूले केपी वली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले नेकपाका नेता–कार्यकर्तामाथि दमन गरेको भन्दै त्यसका विरुद्ध सशक्त प्रतिरोध गर्ने बताएका छन् ।
वक्ताहरूले नेकपाले दलाल पुँजीवादी सरकारको गलत क्रियाकलापका विरुद्ध देशव्यापी सङ्घर्ष गरिरहेको बेला उनीहरूको चरित्र उदाङ्गिएपछि पार्टीमाथि दमन र प्रतिबन्ध गरेको बताए । उनीहरूले धर्मेन्द्र बास्तोलालगायत नेकपाका नेता–कार्यकर्तालाई रिहा नगरे केपी वली र उसको गृहप्रशासनले महँगो मूल्य चुकाउनुपर्ने बताए । जिल्लाका ३ स्थानमा भएको विरोध कार्यक्रममा जिल्ला सेक्रेटरी शेरमान, जिल्ला नेताहरू सन्देश, पावेल र विज्ञान क्षेत्रीले सम्बोधन गरेका थिए ।
यसैगरी , बास्तोलाको रिहाइको माग गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारले विरोध जुलुससहित प्रदर्शन गरेको छ । नेपालको पश्चिम भूगोलमा स्थानीय बासिन्दा र जिल्ला पार्टी सदस्यहरूको साथमा सामना परिवारका २० जना कलाकारले कलाकार पोसाकमै प्रदर्शन गरेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु