लुच्चो लोकतन्त्र

बलराम तिमल्सिना २०७७ माघ ३ गते, शनिबार

लुच्चो लोकतन्त्र
भन्नईलाई भन्छ-
‘बहुमतको सरकार
अल्पमतको विपक्ष:
लोकतन्त्रको सुन्दर पक्ष !’
गर्ने वेलामा गर्छ-
अल्पमतको सरकार
बहुमतमाथि शासन
लोकतन्त्र असाध्यै लुच्चो छ
लोकतन्त्र असाध्यै कुरुप छ
सिधा सिधा हिसावमा ठगी गर्छ
सिधा सिधा निसाफमा ठगी गर्छ !

लुच्चो लोकतन्त्र
भन्ने वेलामा भन्छ-
म धनी गरीव सबैको साझा हुँ
तर गर्ने वेलामा
धनीलाई भक्तिपूर्वक हेर्छ
गरीवलाई शक्तिपूर्वक पेल्छ
धनीलाई झन धनी
र गरीवलाई झन गरीव बनाउने खेल खेल्छ !

लुच्चो लोकतन्त्र
भन्ने वेलामा भन्छ-
‘जनताको जनताद्वारा जनताकोलागि’
तर गर्ने वेलामा –
महाजनको महाजनद्वारा महाजनको लागि गर्छ
महाजनकैलागि लड्छ
महाजनकैलागि मर्छ
यो बाहिरबाट हेर्दा जति रङ्गिन छ
भित्रबाट क्रुर, कुरुप र क्रुध्द छ !

लुच्चो लोकतन्त्र
ट्याङ्कको पलङ्गमा
बारुधको बिछ्यौनामा
बन्दूक सिरानी हालेर
पाले पहरा खटाएर सुत्छ
र नागरिकहरूलाई भन्छ-
सब कुरा ठीकठाक छ – आरामले सुत !’
मुखमा यसको वुध्द छ
मनमा सँधैभरि युध्द छ !

लुच्चो लोकतन्त्र
गफाडीहरूको अखडालाई
संसद भन्छ
कपटीहरूको अड्डालाई
अदालत भन्छ
भ्रष्टहरूको विभागलाई
अख्तियार भन्छ
ठगहरूको गठबन्धनलाई
सरकार भन्छ
हत्याराहरूको दलवललाई
सेना भन्छ
झुटको दस्तावेजलाई संविधान
र लुटेराहरूको लुटपाटलाई व्यवस्था भन्छ !

लुच्चो लोकतन्त्र
जव स्थिरताको भाषण गर्छ
नागरिकहरूका जीवनमा अस्थिरता आउँछ
जव शान्तिको उपदेश वाँड्छ
देशैभरि अशान्ति छाउँछ
जव समृध्दिको कथा सुनाउँछ
आधा देश भोकै सुतिरहेको हुन्छ
लुच्चो लोकतन्त्र
ठगिखानेहरूका लागि लाजवाफ छ
गरिखानेहरूका लागि खतरनाक छ !

प्रतिक्रियाहरु