जनप्रगतिशील मोर्चा मलेसिया र बहराइनद्वारा कञ्चनलाई तत्काल रिहा गर्न माग

२०७७ माघ ३ गते, शनिबार


काठमाडौँ । नेपाली जनप्रगतिशील मोर्चा मलेसिया र बहराइनले बेग्लाबेग्लै विज्ञप्ति प्रकाशित गरी नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनलगायतलाई तत्काल रिहा गर्न माग गरेका छन। ति मोर्चाले नेकपाका सबै नेताहरूको रिहाइको माग गर्दै नेकपाले घोषणा गरेको माघ १० गतेको नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रमप्रति ऐक्यबद्धता समेत जनाएका छन् ।
मलेसिया मोर्चाका अध्यक्ष विजय लामा र महासचिव तुफान सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केपी वली नेतृत्वको दलाल संसदीय सरकार आफ्नै सत्ताको सङ्कट टार्न नसक्दा विदेशी शक्तिहरूको इसारामा दिनप्रतिदिन हिटलरी शैलीमा एकपछि अर्को असंवैधानिक र निरङ्कुश तथा तानाशाही कदमको भरमा दलाल सत्ता टिकाउन तल्लीन रहेको सन्दर्भ जगजाहेर नै छ । अर्कोतर्फ स्वदेश तथा विदेशमा रहेका नेपाली जनता भने विश्व–महामारीले दैनिक जनजीविका टार्नसम्म पनि कठिन अवस्थामा गुज्रिरहेका छन् त कतै रोजगार गुमाउनेदेखि अलपत्र पर्नेसम्मको अवस्थामा रहेको विद्ययमान परिस्थितिलाई दृष्टिगत गरी हाम्रो महान् तथा गौरवशाली पार्टी नेकपा सङ्घर्षका कार्यक्रमहरू स्थगित गरी देश र जनताले भोगिरहेको असहज परिस्थितिमा सहयोग गर्न जनतासँग साथमा रही सहयोग गरिरहेको अवस्थामा नेपाल प्रहरीले २०७७ पुस २९ गते पार्टी केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहित विवेक कुमाल र विश्वासलाई गिरफ्तार गरी कथित अपराधी करार गर्न कुप्रयास गरेको प्रति नेपाली जनप्रगतिशील मोर्चा मलेसिया घोर भत्र्सना गर्दछ । साथै कमरेड धर्मेन्द्रलगायत सम्पूर्ण कमरेडहरूलाई बिनासर्त ससम्मान रिहाइका लागि जोडदार माग गर्दछौँ ।’
विज्ञप्तिमा भनिएको छ, ‘संसारमा नै इतिहासले पुष्टि गरेको वैज्ञानिक तथ्य के हो भने देश र जनताका पक्षमा लड्ने शक्तिलाई तानशाह शक्तिले जितेको इतिहास छैन, बरु जनताको बलबाट ध्वस्त भएका तानाशाह मात्र छन् । जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि देश र जनताको मुक्तिका लागि योगदान दिन हामी प्रवासी युवाहरू तयार छौँ । त्यसकारण हामी यो अनुरोध गर्दछौँ– सम्पूर्ण राष्ट्रवादी क्रान्तिकारी शक्तिहरूका साथै सम्पुर्ण बैद्धिक जनशक्ति, नागरिक समाज, पत्रकार, न्यायालय सबै एकजुट भई दलाल केपी–बादल सरकारको जनघात र राष्ट्रघात अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि अगाडि बढौँ ।’
यसैगरी नेपाली जनप्रगतिशिल मोर्चा बहराइनका अध्यक्ष भीम केरुङ र महासचिव मीनराज नाथले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७७ पुस २९ गते नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’, ब्युरो सदस्य क. विवेक र क. विशाललाई पूर्ण रूपले असफल भैसकेको संसदीय व्यवस्थाका केपी–बादल समूहको कामचलाउ सरकारले ललितपुर र मकवानपुर जिल्लाको सीमा क्षेत्रबाट बिनाकारण गिरफ्तार गरी नेपाली जनताले स्वतन्त्र रूपले गर्न पाउने राजनीतिक अधिकारको समेत हनन गरेकोमा नेपाली जनप्रगतिशील मोर्चा बहराइनको गम्भीर ध्यानाकर्षण भएको छ । विदेशीहरूको इशारामा चल्ने, देशको स्वाधीनतासमेत बेच्न प्रयत्न गर्ने, देशको प्रधानमन्त्रीजस्तो संवेदनशील पदको मर्यादाको खिल्ली उडाउने गरी विदेशी एजेन्टहरूलाई बालुवाटारभित्र सहजै प्रवेश गराउनेजस्ता कार्यहरूका विरुद्ध आवाज उठाउने पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाई जेल चलान गर्ने, चरम यातना दिने, मोटो रकमको धरौटीका नाममा लूट मच्चाउने कार्यहरूले केपी–बादल समूहको कथित सरकारले देशलाई गृहयुद्धतिर धकेल्न निर्मम प्रयास गरिरहेको बहराइन मोर्चाको ठहर छ ।’

प्रतिक्रियाहरु