जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा गिरफतार नेतालाई रिहा नगरे आन्दोलन गर्ने उदघोष

२०७७ माघ २ गते, शुक्रबार


काठमाडौँ । जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिले नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला , सो समितिका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारीलगायत नेता–कार्यकर्तालाई अविलम्ब रिहा गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो मञ्चका अध्यक्ष कमानसिंहले शुक्रबार बिज्ञप्ति जारी गर्दै नेताहरूलाई रिहा नगरिए सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिएका छन । अध्यक्ष कमानसिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली सङ्गठन जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति स्थापनाकालदेखि नै नेपाली जनताको मुक्तिका लागि सङ्घर्षरत रहेको कुरा सर्वविदितै छ । नेपाली समाजमा विद्यमान विकृति, विसङ्गति, भ्रष्टाचार, कमिसनखोरी, महँगीका विरुद्ध गाँस, बास, कपास, स्वास्थ्य, राष्ट्रिय स्वाधीनतालगायत विषयमा जनताको हितका लागि आन्दोलनरत छ । हामी कथित वामपन्थी सत्तामा रहेको यो दलाल संसदीय व्यवस्थाका विरुद्ध जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्थाका लागि निरन्तर आन्दोलनरत छौँ ।’

कमानसिंहको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘केपी शर्मा वलीको नेतृत्वमा सामाजिक दलाल पुँजीवादी तथा चरम हिटलरी शैलीको फासिवादी सरकारले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता तथा समर्थक, शुभचिन्तकलाई बिनाकारण गिरफ्तार गर्ने, मानसिक, शारीरिक यातना दिने कार्य गरेर भाडाको जत्थाले दिनानुदिन सताइरहेको छ । यसै सन्दर्भमा २०७७ साल पुस २३ गते हाम्रो सङ्गठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमरेड सुरेश अधिकारीलाई सामाजिक दलाल पुँजीवादी केपी वली सरकारको भाडाको जत्थाले आफ्नो कामको सिलसिलामा काठमाडौँको कलङ्कीबाट गिरफ्तार गरेको छ । हामी उहाँको गिरफ्तारीको निन्दा तथा घोर भत्र्सना गर्दछौँ । यस्तै हाम्रो सङ्गठन जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वय समितिका महासचिव कमरेड पूर्ण श्रेष्ठलाई सम्माननीय अदालतले रिहाइ गर्न आदेश दिइ पनि कथित समाजवादको नारा दिने सामाजिक दलाल पुँजीवादी केपी वली सरकारको भाडाको जत्थाले अदालतबाटै गिरफ्तार गरी भक्तपुर लगेर बेपत्ता पारेको छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘साथै हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य कञ्चन, ब्युरो सदस्य कमरेड विवेक र कमरेड विशाल पनि यही पुस २९ गते पार्टी कामको सिलसिलामा ललितपुरबाट गिरफ्तारीमा पर्नुभएको छ । सबै गिरफ्तारीमा परेका कमरेडहरूलाई हिरासतमा राख्ने र झूट्टा मुद्दा लगाउने सरकारको निरङ्कुश रबैयाप्रति हाम्रो सङ्गठन घोर निन्दा एवम् भत्र्सना गर्दछ । गिरफ्तारीमा परेका सम्पूर्ण कमरेडहरूलाई तत्काल सार्वजनिक गरी बिनासर्त तत्काल रिहाइको माग गर्दछौँ । अन्यथा हाम्रो सङ्गठन सङ्घर्षमा उत्रिन बाध्य हुने चेतावनी पनि यसै विज्ञप्तिमार्फत दिन चाहन्छौँ । सङ्घर्षबाट उत्पन्न हुने परिणामको जबाफदेही केपी शर्मा वलीको चरम फासिवादी सरकार हुनेछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु