कञ्चनलाई तत्काल रिहा नगरे संसारभरिबाट प्रतिरोध सङ्घर्ष गर्ने चेतावनी

२०७७ माघ २ गते, शुक्रबार


काठमाडौँ । प्रवासी नेपाली जनसमाज भारतले नेकपाका सचिवालय सदस्य कञ्चनलगायत गिरफ्तार नेता–कार्यकर्तालाई अविलम्ब रिहा नगरिए संसारभरबाट प्रतिरोध संघर्ष सञ्चालन गर्ने चेतावनी दिएको छ । जनसमाजका अध्यक्ष आजाद सेन थापाले विज्ञप्ति जारी गरी उक्त कायरतापूर्ण गिरफ्तारीविरुद्ध नेकपाले माघ १० गते घोषणा गरेको नेपाल बन्द कार्यक्रमलाई नैतिक समर्थन गर्ने पनि जनाएका छन् ।
थापाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोरोना सङ्क्रमणको महामारीपछि सबै प्रकारका आक्रामक कारबाहीका कार्यक्रमहरू स्थगन गरी जनसेवामा तल्लीन रहेकोे नेपाल कम्युनिस्ट पार्टी र यसका जनवर्गीय सङ्गठनका नेता, कार्यकर्ता, समर्थक र सर्वसाधारण आमन्यायप्रेमी जनतालाई समेत पञ्चायती गुन्डा शैलीमा खोजी–खोजी गिरफ्तार गर्ने, हिरासतमा निर्मम यातना दिने, झूट्टा मुद्दामा जेल हाल्ने कार्यले कथित लोकतान्त्रिक गणतन्त्रले दिएको नागरिकको मौलिक अधिकारलाई समेत गम्भीर उल्लङ्घन गर्दै यही २०७७ साल पुस २९ गते ललितपुरबाट अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका एक योद्धा तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य र अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहित कमरेड विवेक र कमरेड विशाललाई सामाजिक दलाल पुँजीवादी केपी वलीको सरकारले बिनाकारण गिरफ्तार गरेको छ । सर्वप्रथम यस घटनाप्रति हाम्रो सङ्गठन घोर विरोध तथा भत्र्सना गर्दछ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठनका गिरफ्तारीमा पर्नुभएका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक र सर्वसाधारण आमन्यायप्रेमी जनतालाई तुरुन्त रिहा गर्न र यसप्रकारका दमन, हत्या र गिरफ्तारी बन्द गर्न हाम्रो सङ्गठन प्रवासी नेपाली जनसमाज भारत जोडदार माग गर्दछ । यस कार्यमा विलम्ब गरिएमा राज्यका विरुद्ध भारत प्रवासको भूमिबाट मात्र होइन संसारभरिबाट प्रतिरोध सङ्घर्ष गर्ने चेतावनीसमेत यसै विज्ञप्तिमार्फत दिन चाहन्छौँ । यसबाट आउने परिणामको जबाफदेही स्वयम् राज्य नै हुने पर्नेछ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यही माघ १० गते नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दलाई नैतिक समर्थनसहित ऐक्यबद्धता जाहेर गर्दछौँ । यसप्रकारको गिरफ्तारीले राज्यलाई पूर्ण युद्धतिर लैजाने भएकाले यस्तो कार्य नगर्न हामी नेपाल सरकारलाई आग्रह गर्न चाहन्छौँ र यस्ता कार्य निरन्तर भएमा हामी सम्पूर्ण देशभक्त प्रवासी नेपालीहरूलाई यसको विरोध र प्रतिकार गर्न हार्दिक अनुरोधसहित अपिल गर्दछौँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु