जनप्रगतिशील मोर्चा यूरोपद्वारा सरकारको घोर भ्रत्सर्ना

२०७७ माघ १ गते, बिहीबार

काठमाडौँ । नेपाली जनप्रगतिशील मोर्चा, यूरोपले सरकारले जनताको घरदैलोमा रहेका नेकपाका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, यातना दिने र हत्यासमेत गर्ने गरेको भन्दै सरकारको यस्तो कदमको घोर भ्रत्सर्ना गरेको छ । मोर्चाले नेपाली जनता अहिले यो असफल संसदीय ब्यबस्थाको जाँतोमा पिसिएको अवस्था रहेको भन्दै यो जनघाती, राष्ट्रघाती, परजीवी ब्यबस्थाको अन्त्य गरी संघीय जनगणतान्त्रिक सरकारको गठन गर्दै देशलाई वैज्ञानिक समाजवादी सत्तामा परिणत गर्ने महान अभियानमा रहेका नेता तथा कार्यकर्ताहरुको रक्षा र रिहाइको लागि पहल गरिदिन हुन राजनीतिक दल, मानवअधिकारकर्मी, बुद्धिजीवी, कानुन व्यवसायी, पत्रकार मित्रहरु लगायत सम्बन्धित सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।
यस बिषयमा नेपाली जनप्रगतिशील मोर्चा, यूरोपले जारी गरेको बिज्ञप्ति यस्तो छ – “आफूलाई एक जिम्मेवार पार्टीको रुपमा उभ्याउदै कोरोना संक्रमणको शुरुवाती दिन बाट नै नेकपाले आफ्ना राजनैतिक आक्रामक गतिविधीहरुलाई स्थगन गरेको सर्वविदितै छ । उक्त पार्टीका नेता तथा कार्यकर्ताहरु देशभर शान्तिपूर्ण रुपले जनसेवामा जुटिरहेका छन् ।
नेपालको वर्तमान सामाजिक फांसीवादी तथा दलाल सरकारले जनताको घरदैलोमा रहेका नेकपाका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, यातना दिने र हत्यासमेत गर्ने गरेको छ । नेपाल सरकारको यो फांसीवादी कदमको हामी घोर भ्रत्सर्ना गर्दछौं ।
यसै क्रममा जनसेवामा रहेका उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तरराष्ट्रिय ब्यूरो इन्चार्ज धर्मेन्द्र बास्तोला (क.कन्चन) सहित विवेक कुमाल र विश्वासलाई मिति २०७७ पौष २९ गते गरेको गैरकानुनी गिरफ्तारीको हामी कडा शब्दमा बिरोध गर्दछौं । क. कन्चन एक सच्चा वामपन्थी, बुद्धिजीवी विश्लेषक तथा चिरपरिचित व्यक्तित्व हुनुहुन्छ । उहाँ लगायत सम्पूर्ण राजनैतिक बन्दीहरुलाई यथाशीघ्र रिहा गर्न हामी जोडदार माग गर्दछौं ।
नेपाली जनता अहिले यो असफल संसदीय ब्यबस्थाको जाँतोमा पिसिएको अवस्था छ । यो जनघाती, राष्ट्रघाती, परजीवी ब्यबस्थाको अन्त्य गरी संघीय जनगणतान्त्रिक सरकारको गठन गर्दै देशलाई वैज्ञानिक समाजवादी सत्तामा परिणत गर्ने महान अभियानमा रहेका नेता तथा कार्यकर्ताहरुको रक्षा र रिहाइको लागि पहल गरिदिन हुन राजनीतिक दल, मानवअधिकारकर्मी, बुद्धिजीवी, कानुन व्यवसायी, पत्रकार मित्रहरु लगायत सम्बन्धित सबैमा हामी हार्दिक अनुरोध गर्दछौं ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु