दलित मोर्चाद्वारा विकलाई तत्काल रिहा गर्न माग

२०७७ माघ १ गते, बिहीबार


काठमाडौँ । दलित मुक्ति मोर्चा नेपालले आफ्नो मोर्चाका केन्द्रीय सदस्य तथा उपत्यका क्षेत्रीय समितिका संयोजक बिर्खबहादुर विकलाई प्रहरीले गिरफ्तार गरेको भन्दै बिनासर्त तत्काल रिहाइको माग गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विश्वकर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सङ्गठनको कामको सिलसिलामा रहेका आफ्नो मोर्चाका केन्द्रीय सदस्य बिर्खबहादुर विकलाई यही पुस २८ गते प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको जनाएका छन् ।
मोर्चाका अध्यक्ष विश्वकर्माले जारी गरेको विज्ञप्तिमा सरकारले दमन गर्दैमा दलित मुक्ति आन्दोलन नरोकिने, बरु गतिशील बन्दै अघि बढ्ने उल्लेख छ ।
दलित मुक्ति आन्दोलनलाई एकीकृत जनक्रान्तिसँग एकाकार गरेर मात्र वास्तविक अर्थमा यो समुदायको पूर्ण मुक्ति सम्भव हुने मान्यताका साथ अघि बढिरहेको भन्दै विज्ञप्तिमा विश्वकर्माले आफ्नो मोर्चाका नेता बिर्खबहादुर विकलाई तत्काल रिहा नगरे यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् प्रतिक्रियावादी सरकार नै हुनुपर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रियाहरु