माक्र्सवादी सांस्कृतिक मोर्चाद्वारा संसदीय व्यवस्थाको भण्डाफोर

२०७७ पुष २९ गते, बुधबार


काठमाडौं। माक्र्सवादी सांस्कृतिक मोर्चा, नेपालले राजनीतिक प्रतिगमनका विरुद्ध संसदीय व्यवस्थाको भण्डाफोर गर्दै प्रतिरोध सांस्कृतिक अभियान सुरु गरेको छ । काठमाडौंको माइतिघर मण्डलामा साहित्यकार, कलाकार र संस्कृतिकर्मीहरूको व्यापक उपस्थितिमा कविता, सांस्कृतिक अभियानका नारा लेखिएका ब्यानर र प्लेकार्ड सहित सडकमा उत्रिएका हुन् । सडकबाट उनिहरूले सामूहिक स्वरमा अग्रगामी राज्य व्यवस्था स्थापनाका लागि समाजवादी यथार्थवादी धाराका संस्कृतिकर्मीहरू सङ्घर्षमा डट्न आह्वान गरे । ‘राजनीतिक प्रतिगमनका विरुद्ध अग्रगमनका पक्षमा प्रतिरोध सांस्कृतिक अभियान’ भन्ने नाराका साथ माक्र्सवादी सांस्कृतिक मोर्चा सडकमा आएको हो । जनवादी तथा वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्ने राजनीतिक उद्देश्य बोकेका समाजवादी यथार्थवाद तथा सर्वहारा सांस्कृतिक क्रान्तिलाई प्रस्थान विन्दू मान्ने संस्कृतिकर्मीहरूको नयाँ मोर्चा सङ्गठन स्थापना गरेसँगै पहिलोपटक सडक अभियानमा आएको हो ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भङ्ग गरी मध्यावधी निर्वाचनको घोषणा गरेपछि कवि, कलाकार र नागरिक समाज प्रतिगमनका विरुद्धमा सङ्घर्षमा छन् । यही सन्दर्भमा भर्खरै गठन भएको ‘माक्र्सवादी सांस्कृतिक मोर्चा’ पनि आफ्ना घोषित लक्ष्य र उद्देश्य सहित सडकमा निस्किएको छ ।
आज माइतिघरमा भएको कार्यक्रमका एक मात्र वक्ता वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईंले बोल्दै ‘संघीयता विरोधी, समानुपातिक प्रतिनिधित्व र गणतन्त्र विरोधी देशी विदेशी शक्तिहरूको साँठगाठको परणिाम आजको प्रतिगमन भएको’ बताए । उनले अगाडि थपे, ‘यो धेरै गम्भीर विषय हो । जबसम्म शासकहरूको बिचमा साँठगाठ हुने, देशी विदेशी शक्तिहरूले देशलाई शोषण गर्ने र साशन गर्ने षड्यन्त्र गरिरहन्छ त्यतिखेरसम्म हामीले यी कुराहरू बारम्बार भोग्नुपर्ने स्थिति हुनसक्छ । त्यसकारण पनि हामी बहुमतले अल्पमतमाथि शासन गर्ने दिनहरू ल्याउन, जनगन्त्रणका दिनहरू ल्याउन सङ्घर्षमा जान, अग्रगमनका पक्षमा रहन आवश्यक छ ।’
विरोध कार्यक्रममा विमल निभा, भुपाल राई, जगदीशचन्द्र भण्डारी, विष्णु भण्डारी, शकुन्तला जोशी, बलराम तिमिल्सिना, मित्रलाल पंज्ञानी, वसन्त वोगटी, कृष्णहरि भट्ट, महावीर विश्वकर्मा, राजु स्याङ्तान, गौरी दाहाल, सुनिता बुढाथोकी लगायतले प्रतिगमनका विरुद्ध कविता वाचन गरेका थिए ।
केही दिन पहिले सङ्घीय जनगणतन्त्र तथा वैज्ञानिक समाजवादी क्रान्तिको अपरिहार्यतालाई आत्मसात् गर्दै समाजवादी यथार्थवाद र सांस्कृतिक क्रान्ति पक्षधर संस्कृतिकर्मीको साझा मञ्च ‘माक्र्सवादी सांस्कृतिक मोर्चा, नेपाल’ निर्माण गरिएको वक्तव्य सार्वजनिक भएको थियो । त्यही अभियानको उद्घाटनका रूपमा आज सडकमा ओर्लिएर संस्कृतिकर्मी एवम् कवि कलाकारहरूले वर्तमान सत्ता व्यवस्थाको भण्डाफोर गर्दै अग्रगमनको उद्घोष गरेका हुन् ।
आन्दोलनको औचित्य बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै नवगठित मोर्चाका संयोजक इस्मालीले भने ‘हामी संसद पुनस्र्थापना वा कथित चुनावका लागि सडकमा आएका होइनौ ।’ उनले अगाडि थपे, ‘हामी प्रतिगमनको विरोधका लागि मात्र सडकमा निस्किएको पनि हैन । सङ्घीय जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा अब फेरि अर्को निर्णायक क्रान्ति गर्नु पर्छ भनेर सडकमा निस्किएका हाँै ।’
संयोजक इस्मालीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन सोही मोर्चाका संस्थापक सदस्य कवि विष्णु भण्डारीले गरेका थिए । सो अवसरमा संयोजक इस्मालीले मोर्चाको प्रेश वक्तव्य वाचन गरेका थिए ।
प्रेश वक्तव्यमा नेपाली समाजको आजको अन्तर्विरोध तथा नेपाली जनताले भोगिरहेका आजका समस्याको समाधान यस व्यवस्थाबाट हुन सक्दैन भनिएको छ । वक्तव्यमा अगाडि भनिएको छ, ‘वर्तमान फासीवादी चरित्रको पुँजीवादी संसदीय व्यवस्थाको विकल्पका रूपमा सङ्घीय जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणबाट मात्र यो सम्भव छ ।’
मोर्चाले राजनीतिक प्रतिगमनको विरोध गर्दै संसदीय व्यवस्थाको विकल्पमा जनवादी तथा वैज्ञानिक समाजवादी व्यवस्थाको यात्रामा मोर्चावद्ध हुन प्रगतिशील, लोकतान्त्रिक र अग्रगमनका पक्षधर संस्कृतिकर्मीहरूलाई एकतवद्ध हुन आह्वान समेत गरेको छ ।

प्रतिक्रियाहरु