‘देश र जनताका विरुद्ध ओलीले तिखारेको सिङ भाँच्नु अनिवार्य’

२०७७ पुष २६ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देश र जनताका विरुद्ध ओलीले तिखारेको सिङ भाँच्नु अनिवार्य भएको बताएको छ । सो पार्टीको उपत्यका विशेष ब्युरो इन्चार्ज भरतले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै सो कुरा बताएका हुन् । इन्चार्ज भरतले जनक्रान्तिको राप र तापले यतिबेला ओली मण्डली छिन्नभिन्न हुने अवस्थामा पुग्नु क्रान्तिकारी, देशभक्त तथा आमूल परिवर्तनकारी शक्तिहरूलाई साँच्चैको खुसीको कुरा भएको बताउँदै क्रान्ति र प्रतिक्रान्तिको भीषण टकराव बढ्दै जाँदा फासीवादी केपी सरकारले दमनको मात्रा पनि बढाउँदै लगेको ठोकुवा गरेका छन् । उनले केपी–बादलको सामाजिक फासीवादी हर्कतले पराकाष्ठाको अभिव्यक्त गरिरहेको र फासीवादी केपी ओली सरकार हान्ने गोरुझैँ सिङ तिखार्दै जो कोहीलाई पनि अन्धाधुन्ध हान्दै हिँडिरहेको जिकिर गरेका छन् ।
यसैगरी, ब्युरो इन्चार्ज भरतले प्रहरीले गिरफ्तार गरेका नेकपाका नेता – कार्यकर्तालाई तत्काल रिहा नगरे प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् । उनले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै पवनलगायत नेता कार्यकर्ताहरुको गिरफ्तारीप्रति घोर आपत्ति व्यक्त गर्दै उनीहरुलाई रिहा नगरे प्रतिरोध गर्ने समेत बताएका छन् ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका उपत्यका विशेष ब्युरो इन्चार्ज भरतलेजारी गरेको वक्तव्य यस प्रकार रहेको छ– ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्ने सुनौलो र गौरवपूर्ण अभियानमा सरिक छ । क्रान्तिविरोधी सबैखाले अवरोधलाई निस्तेज पार्दै एवम् एकीकृत जनक्रान्तिलाई झन् सङ्गठित, स्पातिलो र जुझारु बनाउँदै दलाल पुँजीवादका असली मतियार केपी ओली नेतृत्वको दलाल सामाजिक फासीवादी सरकारका सबैखाले षड्यन्त्रलाई चिर्दै हाम्रो पार्टी राष्ट्र, जनता, क्रान्ति र वैज्ञानिक समाजवादको पक्षमा सङ्घर्षरत छ । यद्यपि जनक्रान्तिको राप र तापले यतिबेला ओली मण्डली छिन्नभिन्न हुने अवस्थामा पुग्नु क्रान्तिकारी, देशभक्त तथा आमूल परिवर्तनकारी शक्तिहरूलाई साँच्चैको खुसीको कुरा हो । क्रान्ति र प्रतिक्रान्तिको भीषण टकराव बढ्दै जाँदा फासीवादी केपी सरकारले दमनको मात्रा पनि बढाउँदै लगेको छ । यसै क्रममा २०७७ पुस २१ गते मङ्गलबार पार्टी कामको सिलसिलामा रहनुभएका उपत्यका ब्युरो सदस्य एवम काठमाडौँ जिल्ला सेक्रेटरी क. पवनलागयत कमरेडहरूको गिरफ्तारीप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी उक्त गिरफ्तारीको घोर आपत्ति प्रकट गर्दछ । केपी–बादलको सामाजिक फासीवादी हर्कतले पराकाष्ठाको अभिव्यक्त गरिरहेको छ । फासीवादी केपी ओली सरकार हान्ने गोरुझैँ सिङ तिखार्दै जो कोहीलाई पनि अन्धाधुन्ध हान्दै हिँडिरहेको छ । यतिबेला देश र जनताका विरुद्ध ओलीले तिखारेको सिङ भाँच्नु अनिवार्य बनेको छ । हाम्रो पार्टी कमरेड पवनलगायत गिरफ्तारीमा पर्नुभएका चारजना कमरेडहरूको यथाशीघ्र रिहाइको लागि जोडदार माग गर्दछ । अन्यथा, हाम्रो पार्टीले उठाउने प्रतिरोधी कदमले सिर्जित परिस्थितिको भागिदार स्वयम् केपी सरकार नै हुने कुरा पनि हामी यसै प्रेस विज्ञप्तिमार्फत् सबैमा स्पस्ट पार्न चाहन्छ ।” – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु