mcc खारेज अभियानले संयुक्त मोर्चा बनाएर सशक्त आन्दोलन गर्ने

२०७७ पुष २५ गते, शनिबार


काठमाडौं । mcc खारेज अभियानले देशको वर्तमान संवेदनशील र गम्भीर स्थितिमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका वर्तमानका जल्दाबल्दा मुद्दाहरु MCC को खारेजी, अतिक्रमित भूमी फिर्ता, राजनीतिक पार्टीमाथिको प्रतिबन्ध फुकुवा, कोभिड-19 को रोकथाम र उपचार अनि भ्रष्टाचारको नियन्त्रण आदिलाई समेत लिएर वर्तमान प्रतिगमनको विरोध गर्ने शक्तिहरुसँग संयुक्त मोर्चा, कार्यगत एकता र समझदारी बनाएर आन्दोलन सशक्त र सफल पार्न पर्नेमा जोड दिएको छ । अभियानको आज बसेको बैठक पछि संयोजक नारायण शर्माले जारी गरेको बिज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ! अभियानले विगतमा औपचारिक-अनौपचारिक रुपले सहभागी भै साना वामपन्थी शक्ति, संगठन र मन्च-मोर्चाहरुसितको सहकार्यलाई औपचारिक रुपले नै सशक्त पार्दै संयुक्त भै संघर्षलाई निर्णायक बनाएर अग्रगामी परिणाम प्राप्त गर्ने प्रयत्न गर्ने समेत निर्णय गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ !
यस बिषयमा MCC खारेज अभियान, नेपालका संयोजक नारायण शर्माले जारी गरेको बिज्ञप्ति यस्तो छ – “यही पौष २४ गते यस अभियानको संक्षिप्त बैठक संयोजक नारायण शर्माको अध्यक्षतामा बस्यो । बैठकले गरेका निर्णयहरुको सम्बन्धित सबैको जानकारी र कार्यान्वयनका लागि यो प्रेसवक्तव्य सार्वजनिक गरिएको छ !

बैठकको अध्यक्षता गर्ने क्रममा संयोजक शर्माले विविध कारणले बैठक ढिला भएकोमा क्षमा याचना गर्दै उपस्थित सबै अभियन्ताहरुलाई स्वागत- अभिवादन गर्नुभयो र छलफलका छ वटा एजेन्डा हरुको औचित्य, आवश्यकता र महत्वबारे जानकारी गराउँदै ती प्रस्तावहरु प्रस्तुत गर्नु भयो ! तत्पश्चात् सामान्य सहमतिपछी औपचारिक रुपले सुरु भएको बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ, जो यसप्रकार रहेका छन् :
१. सामान्यतया संसारभरिका र विशेषतया नेपालका वर्गीय र राष्ट्रिय मुक्ती आन्दोलनहरुमा जीवनको आहुती दिनु भएका सम्पूर्ण ज्ञात-अज्ञात महान् शहीदहरुको तथा हाम्रो मुक्ती आन्दोलनमा लड्दा लड्दै हालै मृत्यु वरण गर्नुभएका यस अभियानका संरक्षक-अभिभावक अभियन्ता क. स्वनाम साथी (शशी शेरचन)को स्मरण, सम्मान र सलामी स्वरुप मुठ्ठी उठाई १ मिनेट मौनधारण गरी सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरियो !
२. क. स्वनाम साथीको निधनप्रति MCC खारेज अभियानको तर्फबाट यसप्रकारको शोक-श्रद्धाञ्जली प्रस्ताव पारित गरियो :
नेपाली सर्वहारावर्गीय मुक्ति संघर्षका एक अथक योद्धा, अद्वितीय त्यागी-तपस्वी नेतृत्व र एक असाध्यै यशस्वी विद्वान व्यक्तित्व शशि शेरचन (क. स्वनाम साथी) को यही पौष १० गते भएको असामयिक निधनले MCC खारेज अभियान, नेपाल -२०७६ का सम्पूर्ण संस्थापकसहित देसभरिका लाखौंलाख अभियन्ता र आन्दोलनकर्ताहरु सर्वाधिक शोकसन्तप्त, दुखित र द्रवित भएका छौं ! शोक र पीडाको यस घडीमा हामी संस्थागतरुपमै उहाँप्रति हार्दिक श्रद्धाञ्जली र उहाँकी जीवनसङ्गिनी किरण गौतमलगायत शोकाकूल सबैप्रति गहिरो समवेदना प्रकट गर्दै हामी सबैमा धैर्य, संयम र सहिष्णुता बढोस् र यस शोकलाई सहन गर्न सक्ने शक्ति बृद्धिहोस् भन्ने कामनासहित यो शोक-श्रद्धान्जली प्रस्ताव पारित गर्दछौं !
क. स्वनाम साथीका दिव्य र भव्य ज्ञान र कर्मले हामी न्याय, समानता र स्वतन्त्रता अनि क्रान्ति, मुक्ती र प्रगती-समृद्धिको आन्दोलनका अविरल यात्रीहरु धेरैहदसम्म प्रशिक्षित, प्रभावित, प्रज्वलित र प्रेरित भएका छौं । उहाँबाट प्राप्त ज्ञान र विवेकको मार्गदर्शनले हामीलाई उर्जा, प्रेरणा र हौसला दिइरहने विश्वास लिएका छौं । अब भने उहाँको स्मरण मात्रले पनि हामीलाई आफ्नो कर्तव्य निर्वाह गर्ने शक्ति र क्षमता प्राप्त भैरहने छ र हामी उहाँलाई सधैं-सधैं सम्झिरहनेछौं !
उहाँको निधनबाट ठूलो राष्ट्रिय क्षति पुगेको छ र यसको सहजै पूर्ती हुन नसक्ने हुँदा उहाँको अभाव खट्किरहने छ, तथापि यो अभाव पूरा गर्ने कोसिससहित उहाँका विचार, भावना, कर्म र योगदानलाई हामी शिष्य-सन्ततिहरुले संरक्षण र सम्बर्द्धन गर्दै उहाँका सपना र जपनाहरुलाई पूरा गर्ने-गराउने प्रण-प्रतिज्ञा गर्दछौं ! यही नै क. स्वनाम साथीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । अलविदा क. स्वनाम साथी !!

३. यस अभियानका संस्थापक वैचारिक नेतृत्व क. स्वनाम साथीको सम्झना, सम्मान र श्रद्धास्वरुप हामी सम्पूर्ण अभियन्ताहरु सहभागी भएर यथाशीघ्र एक श्रद्धान्जली सभा गर्ने र उहाँको लुकेको व्यक्तित्व र उहाँले दिएका योगदानहरुको चर्चा गर्ने निर्णय गरियो । यो कार्यक्रम गर्दा उहाँ संयोजक र हामी MCC खारेज अभियानका अभियन्ताहरु पनि सदस्य भै सँगसँगै जस्तो स्थापना गरिएको र संचालन गरिएको सीमा बचाऔं अभियान, नेपालसँग संयोजन गरी सकेसम्म संयुक्त कार्यक्रम गर्ने अन्यथा छिटै जूममै भएपनि यथेष्ट अभियन्ता, सम्बन्धित र इच्छुक महानुभावहरुलाई सहभागी गराई सो श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गर्ने ।
४. सत्ताधारी नेकपाभित्रको विवादले गर्दा केही समय ओझेल परेको MCC पारित गर्ने सरकारी प्रयत्न र त्यसबिरुद्धको हाम्रो अभियान समेत ओझेल परेता पनि अहिले आएर उक्त पार्टी फुटसम्म पुगेको र पारित गर्ने निकाय प्रतिनिधिसभा समेत भङ्ग भै देस र जनताको ध्यान यसतर्फ मोडिइरहेको र राज्य पनि कमजोर भएको यो बेलामा एकातिर MCC लाई राष्ट्रिय सभाबाटै भएपनि पास गराई औपचारिकता पूरा भएको मान्ने हिसाबले अमेरिकाले हालै फेरि दवाव दिएको र ओली सरकार यो चोर दुलाबाट छिराएर पारित गराउने खतरा बढेको छ भने अर्कातिर यसलाई अनधिकृत रुपमा, लुकीछिपी कार्यान्वयन गरिइरहेको र नेपालको ढुकुटी रित्ताइरहेको दुखद अवस्था छ ! त्यसैले MCC पारित गर्ने र कार्यान्वयन गर्ने यी दुवै प्रकृयालाई रोक्ने हस्तक्षेपमूलक र प्रभावकारी कार्यक्रम गर्नको लागि अझै थप अध्ययन, छलफल र तयारीको आवश्यकता देखिएकोले यसबारे छिटै बस्ने आगामी बैठकबाट निधो गर्ने !
५. नेपाली राजनीतिमा विगत लामो समयदेखि संयुक्त आन्दोलनको प्रभाव र परिणाम उपलब्धिमूलक देखिएको पृष्ठभूमि र हाल संसद विघटनजस्तो प्रतिगमनकारी फासिवादी परिघटनापछि नेपाली राजनीतिमा आएको तरङ्गले संसदवादी र प्रतिगामीजस्ता प्रतिकृयावादीहरु सल्बलाइरहेको यो बेला वैदेसिक चलखेल, षड्यन्त्र र हस्तक्षेप बढिरहेको छ ! राज्य अस्थीर र कमजोर भएको यो बेलामा नै साम्राज्यवादी-विस्तारवादीहरुले आफ्ना कुत्सित स्वार्थहरु पूरा गर्न-गराउने गर्छन् र गर्दै आएका पनि छन् । देसको यो संवेदनशील र गम्भीर स्थितिमा हामीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका वर्तमानका जल्दाबल्दा मुद्दाहरु जस्तो कि MCC को खारेजी, अतिक्रमित भूमी फिर्ता, राजनीतिक पार्टीमाथिको प्रतिबन्ध फुकुवा, कोभिड-19 को रोकथाम र उपचार अनि भ्रष्टाचारको नियन्त्रण आदिलाई समेत लिएर वर्तमान प्रतिगमनको विरोध गर्ने शक्तिहरुसँग संयुक्त मोर्चा, कार्यगत एकता र समझदारी बनाएर आन्दोलन सशक्त र सफल पार्न जोड गर्नु पर्दछ ! यसै आलोकमा विगतमा औपचारिक-अनौपचारिक रुपले सहभागी भै साना वामपन्थी शक्ति, संगठन र मन्च-मोर्चाहरुसितको हाम्रो सहकार्यलाई औपचारिक रुपले नै सशक्त पार्दै संयुक्त भै संघर्षलाई निर्णायक बनाएर अग्रगामी परिणाम प्राप्त गर्ने प्रयत्न गर्ने !
६. यस अभियानको स्थापनाकालदेखि संस्थापक संयोजकको हैसियतले हालसम्म काम गर्दै आएपनि प्रथमतः हाम्रा संरक्षक-अभिभावक गुरु क. स्वनाम साथीका शब्दमा “हामी सबै संयोजक, हामी सबै सदस्य” भएकोले अर्को सदस्यले संयोजकको जिम्मेवारी लिनु वान्छनीय छ ! यसरी रोटेसनमा जिम्मेवारी दिनेलिने गर्दा सबैको शक्ति, बुद्धि, क्षमता र प्रतिभाको समुचित उपयोग हुने र नेतृत्वलाई अझै अनुभवप्राप्त भै क्षमता विकास हुने हुन्छ ! यसका साथै अहिले वर्तमान संयोजक नारायण शर्माले अन्य क्षेत्रबाट आफ्नो राजनीतिक भूमिका अझ बढाउनुपर्ने महसुस गरी आफ्नो यो संयोजकको जिम्मेवारी हस्तान्तरण गर्न चाहनु भएकोले यस कुराप्रति संवेदनशील, गम्भीर र सकारात्मक हुँदै यसबारे अन्तिम निर्णय स्वनाम साथीको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेपछि हुने निकट भविष्यको बैठकमा लिने सहमती भयो ।

अन्तमा उपस्थित अभियन्ता कामरेड-साथीहरुलाई बैठकमा सकृय सहभागिता, अमूल्य विचार र सुझावका लागि हार्दिक धन्यवाद प्रकट गर्दै प्राविधिक रुपले समेत सहयोग पुराउनुहुने वरिष्ठ अभियन्ता क. प्रा.डा. शम्भु कटेलप्रति आभार प्रकट गर्दै संयोजक शर्माले बैठकको समापन गर्नु भयो ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु