सिङ्गै राज्य सत्ता र राजनीतिक ब्यबस्थाको वारेमा सोच्न सुरु गरौं

२०७७ पुष २५ गते, शनिबार

बलराम तिमल्सिना

● ओली ढालेर प्रचण्ड-माधव गुट सरकारमा आउदा जनताले छुट्टै के पाउने हो ?
● या यी सबै छोडेर देउवा या बाबुराम आउदा जनताले के पाउने हो ?
● अझ यी सबैलाई असफल बक्स भएर अरवपती ज्ञानेन्द्रले तेश्रो पटक श्रीपेच लगाउदा जनताले के पाउने हो ?
● यी सबै एउटै संसदीय नालीका फरक फरक रङ्गका कीराहरू हुन।
● घरको मझेरीमा नाली हुलेपछि नालीका कीरा बदलेर दूर्गन्ध हट्छ र ?
हामी अर्थहीन ब्यक्ति केन्द्रीत बहस गरिरहेका छौं ।दुनियाँभरिका महाजनहरू चाहन्छन हामी सयौं वर्ष ब्यक्ति या गुटकै बारेमा लफडा गरेर बसौं !
दुनियाभरिका साम्राज्यवादीहरू र तिनका पाल्तु नोकरहरू अनि साम्राज्यवादको गुलामीमा अक्षरहरूको खेती गरे वापत वुध्दिजीवी बनेका घामटहरू चाहन्छन- हामीले बर्गको बारेमा, बर्ग संघर्षको वारेमा र सत्ताको बर्गीय चरित्रको बारेमा कहिलै नसोचौं !
उनीहरू चाहन्छन- हामी नगर प्रमुख, गाउपालिका प्रमुख र सांसद मात्रै चुन्ने कुरा गरौ ।
उनीहरू चाहन्छन- हामी सिडियो चुन्ने, न्यायधीश चुन्ने, अख्तियारको प्रमुख चुन्ने, सचिव र मुख्य सचिव चुन्ने, आइजिपी र सेनाका जर्नेल कर्नेल चुन्ने कुरा कहिलै नगरौं र यी काम चै उनीहरू आफ्नो सेटिङ मिलाएर गरुन।
उनीहरू चाहन्छन- सत्ता चलाउनेहरू चै एक पटक भर्ती भएपछि नागरिकतामा उमेर सच्याएर हुन्छ या नक्कली प्रमाणपत्र पेश गरेर हुन्छ उमेरको हद सम्म शासन गरुन र जनताले लाखौं भोट हालेकाहरू चै चार या पाँच बर्षमा करारको अवधी सकिएर लखर लखर फेरि करार थप्न नमस्कार गर्दै आऊन।
उनीहरू चाहन्छन-श्रमिक वर्गको काम सँधै पूँजीपतिसँग ज्याला बढाउन माग गर्नेमा मात्र सीमित रहोस तर पूँजीपतिको सत्ता खोस्नेतिर कहिलै नसोचुन।
उनीहरू चाहन्छन- उत्पीडित जातिहरू, महिलाहरू, दलितहरू, मधेशी तथा अल्पसंख्यक समुदायहरू सँधै दयाको भिख मात्रै मागेर बसुन र तिनीहरूले कहिलै पनि बराबरीको हकको लागि लडाइ नलडून।
उनीहरू चाहन्छन- बन्दूक बोकेर जनता मार्ने जत्थालाई सुरक्षाकर्मी भनेर जनताले नै तलव भत्ताको ब्यबस्था गरुन, उल्टै दमन पनि खपुन र ती बन्दूकधारीहरूको काम सत्ताको रक्षा गर्ने भैरहोस
संसारभरका शासकहरू जनताको ध्यान मुख्य विषयबाट सहायक विषयतिर मोडेर उनीहरू त्यही कम महत्वपूर्ण विषयमा अल्झिरहुन भन्ने चाहन्छन।
हामी बिचराहरू पनि उनीहरूको इच्छा बमोजिम कोही केपी ओलीतिर, कोही माधव प्रचण्डतिर , कोही बाबुराम उपेन्द्रतिर , कोही देउवा रामचन्द्रतिर र कोही ज्ञानेन्द्रतिर वाँडिएर एक अर्कालाई पाखुरा सुर्केर गाली गरिरहेका छौं।
आउनुहोस! अव व्यक्ति व्यक्तितिर सोच्न छोडेर सिङ्गै राज्य सत्ता र राजनीतिक ब्यबस्थाको वारेमा सोच्न सुरु गरौं !

प्रतिक्रियाहरु