पर्यटक आगमनमा ८० प्रतिशतले गिरावट

२०७७ पुष २० गते, सोमबार

काठमाडौं । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक लाख ८३ हजार १ सय ३० तथा स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका हुन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीका कारण अघिल्लो वर्षको तुलनामा ८० दशमलव ८ प्रतिशत पर्यटक आगमन घटेको विभागले जनाएको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो अहिलेसम्म नेपालमा भित्रिएका सबैभन्दा कम पर्यटक हुन् ।
त्यस्तै, सन् २०१८ मा ११ लाख ७२ हजार ७२ पर्यटक नेपाल आएका थिए । कोभिडका कारण करिब छ महिना नियमित अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भएकाले विदेशी पर्यटक घटेका हुन् । बन्दाबन्दीपछि गत भदौ १६ देखि अन्तरराष्ट्रिय र असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा आएको थियो । बोर्डका अनुसार सबैभन्दा बढी भारतबाट २५ हजार ३ सय २० पर्यटक नेपाल आएका छन् । चीनबाट नौ हजार ८ सय ८ जना, अमेरिकाबाट ९ हजार ६ सय ८२ जना, थाइल्यान्डबाट नौ हजार ५ सय १८ जना र म्यान्मारबाट नौ हजार ४ सय जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । कोरोना महामारीले भ्रमण वर्ष नै स्थगित गर्नुपर्ने बाध्यता प¥यो । नेपालका प्रमुख १० पर्यटक स्रोत मुलुकमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड, अमेरिका, बेलायत, जापान र जर्मनी रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार