प्रतिगमन होइन, अग्रगमनतर्फ बढौँ

२०७७ पुष १९ गते, आईतवार

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि देशको भविष्यको बारेमा चौतर्फी चिन्ता र चासो बढेको छ । संसद्मा रहेका दल, प्रतिपक्षी दल र नेताहरु कोही संसद् पुनस्र्थापनाको पक्षमा जोडबल गरिरहेका छन् भने केही निर्वाचन गर्नुपर्नेमा जोडबल गरिरहेका छन् । वास्तवमा यी दुवै कार्य (संसद पुनस्र्थापना वा निर्वाचन) ले वर्तमान समस्याको समाधान गर्न सक्दैन किनकि झण्डै दुई तिहाई प्राप्त सरकारले देश र जनताको पक्षमा ठोस कार्य गर्न नसकेकोबाट संसदीय व्यवस्था असफलसिद्ध भइसकेको प्रमाणित गर्दछ । यस्तो अवस्थामा देश र जनतालाई पुनः संसदीय गोलचक्करमा फसाउन खोज्नु प्रतिगमनबाहेक केही हुन सक्दैन ।

तसर्थ, देशमा असफलसिद्ध भइसकेको संसदीय व्यवस्थाको बारेमा बहस गर्नुभन्दा वर्तमान संकटबाट देश र जनतालाई मुक्त पार्ने वैज्ञानिक समाजवादी व्यवस्थाको बारेमा बहस चलाउनु र त्यसतर्फ अगाडि बढ्नु नै वैज्ञानिक र वस्तुवादी हुन जान्छ । यतिबेला देश र जनतालाई संसदीय गोलचक्करबाट मुक्त पारी वैज्ञानिक समाजवाद स्थापना गर्नु नेपाल कम्युनिस्ट पार्टीले उठान् गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा नै उपयुक्त विकल्प बन्न पुगेको छ, जबसम्म देशमा संसदीय व्यवस्था, दल र संसद्वादी सोच भएका नेताहरु सक्रिय रहन्छन्, तबसम्म देश अग्रगमनतर्फ बढ्न सक्दैन । त्यसैले नेपाल कम्युनिस्ट पार्टीसँग सबै क्रान्तिकारी दल, नेता र राष्ट्रवादी शक्तिहरु एकजुट हुनुको विकल्प छैन । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीसहित चार दलले देशमा संसदीय व्यवस्था खारेज गरी वैज्ञानिक समाजवाद स्थापना गर्न एकजुट हुने सहमति गरिसकेका छन् । अब यो संसदीय व्यवस्थाविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको अगुवाईमा भएको सो मोर्चामा सबै क्रान्तिकारी दल, नेता र राष्ट्रवादी शक्तिहरु गोलबद्ध हुनुपर्छ र संसदीय व्यवस्थालाई जरैदेखि उखेलेर फ्याँक्नुपर्छ । अन्यथा राष्ट्र, राष्ट्रियता र जनजीवन भयंकर संकटमा फस्ने निश्चित छ, सबैमा चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु