पत्रकार कुट्ने कर्मचारीलाई कारबाही नभए जनकारवाही !

२०७७ मंसिर १९ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी झापाले दमकस्थित मालपोत कार्यलयमा कार्यलय प्रमुख तारानाथ दङ्गालको संरक्षणमा कर्मचारी र सेवाग्राहीबीच घूस लेनदेन भइरहेको भिडियो खिच्ने क्रममा झापाका पत्रकार खगेन्द्र घिमिरेमाथि कर्मचारीहरूले भौतिक आक्रमण गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेकपा दमकका सेक्रेटरी समरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा सम्पूर्ण प्रमाण बाहिर आउँदासमेत भ्रष्ट कर्मचारीलाई कारबाही गर्न सरकारले आनाकानी गरिरहेको भन्दै अविलम्ब कारबाही माग गरेका छन् । उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही नगरिए जनसत्ताद्वारा भ्रष्ट कर्मचारीमाथि खुलमखुला जनकारबाही गरिने कुरा पनि विज्ञप्तिमा उल्लेख छ ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी झापाले दमकका सेक्रेटरी समरले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “दमक स्थित मालपोत कार्यलयमा कार्यलय प्रमुख तारानाथ दंगालको संरक्षणमा कर्मचारी र सेवाग्राहीबीच घुस लेनदेन गरिरहेको भिडियो खिच्ने क्रममा झापाका पत्रकार खगेन्द्र घिमिरेमाथी कर्मचारीहरुद्वारा भौतिक आक्रमण गरेको लज्जास्पद घटना प्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । घटना सम्बन्धमा सम्पुर्ण प्रमाण बाहिर आउँदा समेत भ्रष्ट कर्मचारिलाई कार्वाही गर्न आनाकानी गरिरहेको प्रसाशन प्रति खेद प्रकट गर्दै अबिलम्व कार्वाही गर्न हाम्रो पार्टी अनुरोध गर्दछ । अन्याथा जनताको जनसत्ताद्वारा भ्रष्ट कर्मचारीमाथी खुलेआम जनकारबाही गरिने निश्चित रहेको कुरा अवगत गराउदछौं। “
यसैबीच , नेकपा झापाले पत्रकार खगेन्द्र घिमिरेमाथि कुटपिट गर्ने कर्मचारीलाई संरक्षण गरे जनकारबाही गर्ने उद्घोष गरेपछि प्रहरीले मालपोत कार्यालय दमकका खरिदार इन्द्र राजवंशीलाई पक्राउ गरेको छ । राजवंशीलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। ‘कर्मचारी राजवंशीलाई बयानका लागि नियन्त्रणमा लिएका छौं,’ डिएसपी थापाले भने, ‘त्यसपछि कानुन कारबाहीको प्रक्रिया अघि बढ्छ।’ कर्मचारी राजवंशीले कुटपिट गरेको भन्दै पत्रकार घिमिरेले इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी दिएका थिए। सोही आधारमा बिहीबार प्रहरीले मुद्दा दर्ता गरेका थिए। मुद्दा दर्ता भएसँगै जिल्ला प्रशासन कार्यालय झापाले कर्मचारी राजवंशीको नाममा पक्राउ पुर्जी जारी गरेका थिए।
मालपोत कार्यालय दमकमा मंगलबार दिउँसो ४ बजे माउन्टेन टेलिभिजनका झापा संवाददाता घिमिरेमाथि कर्मचारी राजवंशी र केही लेखापढी व्यवसायीले कुटपिट गरेका थिए। कर्मचारी राजवंशीले सेवाग्राही सुरेश साहसँग १० हजार घुस लिएको र सो विषयको रिपोर्टिङ गर्न घिमिरे कार्यालय पुगेका थिए। पत्रकार घिमिरे घुस लिँदै गरेको दृश्य क्यामेरा कैद गरेपछि उनीमाथि कर्मचारी राजवंशीले नियोजित रुपमा आक्रमण गर्दै हातपात गरेका थिए। कर्मचारी राजवंशीले शिवसताक्षी नगरपालिका साबिक शिवगञ्ज गाविस–१ को जग्गा रोक्का गर्न कामका लागि सेवाग्राही साहसँग घुस लिएका थिए। यता पत्रकार घिमिरेलाई कुटपिट गरेको घटना बाहिरिएसँगै नेपाल पत्रकार महासङ्घ झापा शाखासहित विभिन्न पत्रकारहरूको छाता सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भ्रष्ट कर्मचारीलाई कारबाही नगरे सडक आन्दोलनमा उत्रिने चेतावनी दिँदै आएका छन्।

प्रतिक्रियाहरु