भारतीय विदेशमन्त्री जयशंकरद्वारा नेपालसँग मिलेरै अगाडी बढ्ने उद्घोष

२०७७ मंसिर १८ गते, बिहीबार


काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले भारत र नेपालले मिलेर अगाडि बढ्ने बताएका छन । विदेशमन्त्री जयशंकरले भारतीय अंग्रेजी दैनिक दि हिन्दूसँगको अन्तर्वार्तामा विगतमा नेपालसँग केही समस्या र असमझदारी भए पनि पछिल्ला केही साता दुबै देशबीच समझदारी विकास हुँदै गएको बताएका हुन् । सीमा विवादका कारण लामो समयदेखि संवादहीन रहेका दुई मुलुकबीच पछिल्लो समय औपचारिक वार्ता थालनी भएको छ । जयशंकरले छिमेकीहरुबीच समस्या हुनु सामान्य भन्दै अधिकांश छिमेकीमा लोकतान्त्रिक व्यवस्था रहेको हुँदा सबैले आ–आफ्ना हिसाबले राजनीति गर्ने गरेकाले समेत विवाद देखिने गरेको र समस्या समाधानका लागि साझा बिन्दु कसरी पहिल्याउने भन्ने मुख्य प्रश्न भएको बताए ।
भारतीय विदेशमन्त्री जयंशकरले नेपालको संविधानको विषयलाई लिएर भारतले जनाएको आपत्तिलाई कुनै एउटा घटना विशेषका रुपमा हेर्नुपर्ने र त्यसैका आधारमा दुई देशबीचको सम्बन्धबारे निष्कर्षमा पुग्न नहुने बताए ।
भारतले नेपालले नयाँ संविधान जारी गर्दा विरोध जनाएको थियो । संविधानमा आफ्नो सुझाव समेट्न दबाब दिन त्यतिबेला विदेश सचिव रहेका जयशंकर नै काठमाडौं आएका थिए । तर नेपालले भारतीय दबाबको बेवास्ता गर्दै संविधान जारी गरेको थियो । त्यसपछि भारतले ६ महिनासम्म अघोषित नाकाबन्दी लगाउँदा नेपाली जनताले दुःख पाउनुका साथै अर्थतन्त्रमा ठूलो असर परेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु