लक्ष्मी ट्राभल्स र एनआरएनए पोर्तुगललाई कमी-कमजोरी सच्याउन र पिडितहरुको माग सम्बोधन गर्न अाग्रह

२०७७ मंसिर १८ गते, बिहीबार

काठमाण्डौ । नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलले लक्ष्मी ट्राभल्स पोर्तुगलको ठगी र एनआरएनए, पोर्तुगल कार्यालय कर्मचारीद्वारा पासपोर्ट नवीकरण प्रकृयामा आर्थिक लिएको रकम समेत हिनामिना भइरहेकोप्रतिअाफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलका अध्यक्ष पूर्णबहादुर विश्वकर्माले ध्यानाकर्षण पत्र जारी गर्दै हालै सामाजिक संजाल तथा संचार माध्यममा प्रकाशित भएका पोर्चुगलसंग सम्बन्धित दुई खबरहरु ‘लक्ष्मी ट्राभल्स पोर्तुगलद्वारा ठगी र एनआरएनए, पोर्तुगल कार्यालय कर्मचारी द्वारा पासपोर्ट नवीकरण प्रकृयामा गरिएको आर्थिक अनियमितता’ अाएपछि यस बारेमा अाफ्नाे संगठनले पीडितहरुसँग पनि बुझ्ने काम गरिसकेको र दुवै निकायले कमजोरी गरिएको पाइएको भन्दै आफ्ना कमी कमजोरी तत्काल सच्याउन र पिडितहरुको माग यथाशिघ्र सम्बोधन गर्न अाग्रह गरेका छन ।
लक्ष्मी ट्राभल्सले नेपालमा पठाउने रकम लिने तर समयमा नदिने, सेवाग्राहीले पटक पटक अनुरोध गर्दा पनि महिनौसम्म आलटाल गर्ने जस्ता कृयाकलापले धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पिडित बनाएको छ । कोरोनाको बिरामीको उपचारार्थ परिवारलाई पठाइएको रकम पनि समयमै उपलब्ध नगराईदिनु अत्यन्तै निन्दनीय कार्य हो भन्दै माेर्चाले यस्ता गतिबिधीहरु तत्काल रोक्न र चुस्त दुरुस्त सेवा दिन लक्ष्मी ट्राभल्सलाई आह्वान गरेको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ- ‘एनआरएनए, पोर्तुगल कार्यालय कर्मचारीले राहदानी नवीकरण प्रकृयाको लागि लिएको रकम समेत हिनामिना गरिएको पाइएको छ । आफूलाई सामाजिक संस्था भनेर दावी गर्ने संस्थाको कार्यालयबाट नै यस्तो गलत कृयाकलाप हुनु खेदजनक छ ।’
माथि उल्लेखित दुवै निकायलाई आफ्ना कमी कमजोरी तत्काल सच्याउन र पिडितहरुको माग यथाशिघ्र सम्बोधन गर्न माेर्चाले अाह्वान गरेको छ ।’अन्यथा पोर्तुगलमा आइपुगेका श्रमजीवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको हकहितको पक्षमा संघर्षरत हाम्रो संगठन कडा संघर्ष गर्न बाध्य हुनेछ’ पत्रमा चेतावनी दिइएको छ ।

प्रतिक्रियाहरु