सच्चा कम्युनिस्टहरु अघि बढ्नु अहिलेको ठोस आवश्यकता र अपरिहार्य दायित्व

२०७७ मंसिर १६ गते, मंगलवार
नारायण शर्मा


“अनायका विनश्यन्ति, नश्यन्ति बहुनायका !”
हाम्रो प्राचीन पूर्वीय साहित्यमा रहेको माथि शीर्षासीन पदावली/वाक्यको अर्थ स्पष्टै छ कि नेता हुँदै नभएर पनि हुँदैन, नासै हुन्छ; धेरै भएर त झन् हुँदैन, सर्वनासै हुन्छ ! तसर्थ प्रमुख नेता एउटै हुनुपर्दछ !
यस्तै मालेमासम्मत एउटा अर्को भनाइ पनि छ, जो यससन्दर्भमा सान्दर्भिक छ : “प्रतिकृयावादीहरु तबसम्म लड्छन्, जबसम्म उनीहरु स्वयं ध्वस्त हुँदैनन् !”
राजनीतिक संघर्षका नाममा आज नेपालमा नेकपाभित्र भैरहेको यो संघर्षमा माथिका संश्लेषणहरु लागू हुने देखिंदैछ ! हुन पनि जनता र देसको क्रान्ति, मुक्ति, प्रगति र समृद्धि अनि न्याय, समानता, स्वतन्त्रता र स्वाभिमानको दुहाई दिंदै, समाजवाद-साम्यवादको डङ्का पिट्दै र जन आन्दोलन, वर्गसंघर्ष र जनयुद्धको भट्टी- नौटङ्कीका बिचबाट प्रोडक्ट-बाइप्रोडक्टका रुपमा आएका हालका नायक-खलनायकहरु बीचको यो लडाइँ सारमा दुई चरम भ्रष्ट व्यक्ती र शक्ति (गुट, स्वार्थसमूह) बीचको टकराव हो अथवा भनौं युद्धसरदारहरु बीचको लडाइँ हो ! यी नेता/सरदारहरु आपसमा लडेर अन्ततः आफू स्वयं, आफ्नै गुट (स्वार्थसमूह), आफ्नो सिङ्गो पार्टी, शोषित-पीडित जनताको क्रान्ति तथा स्वतन्त्र र स्वाभिमानी देसलाई समेत अस्तव्यस्त र त्रस्त पार्दै आखिरमा आएर विभाजन, विघटन र विसर्जन नगरी अर्थात् सम्पूर्ण रुपले ध्वस्त नपारी-नभई छोड्दैनन् जस्तो छ ! त्यसैले यिनबाट जोगिने-जोगाउने हो भने हामी सच्चा इमान्दार, स्वच्छ, देसभक्त र क्रान्तिकारी नेता, कार्यकर्ता र जनताले यी नेता र यिनका गुटका प्रतिवेदन र प्रत्युत्तरका आरोप-प्रत्यारोपले भरिएका विचार र राजनीतिका शब्दजाल, वाकपटुता, तर्कवितर्क-कुतर्क, उडन्ते सपना र कोरा कल्पनाका तिलस्मी भ्रमजालहरुबाट आफूहरुलाई सम्पूर्ण रुपले मुक्त गर्दै सचेत र सामूहिक रुपमा प्रतिबद्ध र कटिबद्ध भएर योजनाबद्ध ढङ्गले पार्टीभित्र र बाहिर यी नेता, गुट र यिनका चिन्तन र चरित्रदेखि विचार- राजनीति र आचार-संस्कृतिसम्ममा देखिएका विचलन, विकृती र विसङ्गति विरुद्ध विषम विरोध, विष्फोट र विद्रोह नै ल्याउने गरी जोडदार संघर्ष चलाउनु पर्छ र एकता-संघर्ष-रुपान्तरको प्रकृयाबाट गुज्रेर नयाँ आधारमा अर्थात् नयाँ नीति र नेतृत्वमा नयाँ एकता गरी पार्टीलाई सुदृढ, सबल र क्रान्तिकारी बनाएर मात्रै पार्टी एकतालाई बचाउनु पर्छ ! यदी कसैगरेपनि नेताहरु रुपान्तरण नभएर फेरिपनि लेनदेनमा सम्झौता भै एकता बचाएको बहानाबाजी गरेमा त्यो जनता, देस र क्रान्तिलाई धोका हुनेछ !यसैगरी सम्झौता पनि नगरेर पार्टी विभाजन नै गरेमा/भएमा पनि हामीले यी दुई गुटमध्ये कुनै एक रोज्ने होइन, बरु इमान्दार र देसभक्त कम्युनिस्ट क्रान्तिकारीहरुको अर्को तेस्रो धारको धारिलो संगठन बनाउनुपर्ने हुन्छ । तत्पश्चात् सरकार, सदन, संगठन र सडकको सशक्त र आवश्यक परे सशस्त्र बलमा क्रान्तिलाई पूरा गर्नु पर्दछ । यसरी हामीले एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट हुनुका नाताले र त्यस्ता सदस्यहरुको मालेमावादी पार्टीका हैसियतले क्रान्तिका लक्ष-उद्देश्य र देस र जनताका सपना-जपना पूरा गर्नुपर्दछ ! अन्यथा
नीति-सिद्धान्त र नैतिकता-स्वच्छता नभएका र नियत नै खराब भएका यस्ता नेता एउटै भए पनि वा दुइटै भएपनी अथवा जति धेरै भएपनि र तिनका जेजस्ता नामका पार्टी /गुट बनेपनि तिनले सर्वनास नै गर्दछन् ! तसर्थ नेताहरु असल नियतका सही नीति र स्वच्छ मतिका हुनुपर्दछ भने ती धेरै नेताहरुमध्ये एउटा मात्र प्रमुख नेता हुनु-गराउनु पर्दछ भन्ने शीर्षस्थ नीतिश्लोकको मर्मलाई आत्मसात् गरेर हामी सच्चा कम्युनिस्टहरु अघि बढ्नु अहिलेको ठोस आवश्यकता र अपरिहार्य दायित्व हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु