उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल

२०७७ मंसिर १४ गते, आईतवार


काठमाडौं । आज बिहान सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा रहेको समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत प्राप्त गरे भने प्रधानको पक्षमा ५३ मत परेको छ । त्यस्तै, ३० प्रतिशत हिस्सा रहेको एशोसियटमा ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२ मत ल्याउँदा प्रधानको पक्षमा ३ सय ७५ मत परको छ ।
२० प्रतिशत हिस्सा रहेको वस्तुगतमा कुल ९८ सदर मतमा ढकालले ५९ र किशोर प्रधानले ३९ मत ल्याएका छन । वरिष्ठ उपाध्यक्षमा विजयी हुन ५० प्रतिशत भन्दा बढी मतभार चाहिन्छ । यसमा ढकालले ५४ दशमलव २६ मतभार प्राप्त गरेका छन । उनका प्रतिद्वन्द्वी प्रधानले बाँकी रहेको ४५ दशमलव ७४ प्रतिशत मतभार प्राप्त गरे ।
निजी क्षेत्रको छाता संगठन महासंघको नयाँ नेतृत्वका लागि हिजो मतदान भएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदलाई आकर्षक मानिन्छ । यो साधारणसभाले शेखर गोल्छा स्वतः अध्यक्ष चयन गरिसकेको छ । वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका थिए ।
महासंघको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाले उम्मेदवारी दिएका थिए । कार्यकारिणी सदस्यतर्फ यसअघि नै राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका थिए भने वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एशोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । महासंघमा वस्तुगततर्फ १ सय १, जिल्ला तथा नगरमा १सय ५ र एशोसिएटतर्फ ९सय३ मतदाता रहेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु