सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृति

२०७७ मंसिर ११ गते, बिहीबार

काठमाडौँ । मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका निम्ति भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ । आर्थिक वर्ष २०६४/६५ बाट सुरु भएको सगरमाथाको उचाइ मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रूपमा घोषणाको तयारी गरेको हो । सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरूको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो । मन्त्रीपरिषद्बाट स्वीकृति प्रदान भइसकेपछि अब केही दिनमा कार्यक्रम बनाएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रूपमा सगरमाथाको नयाँ उचाइ घोषणा गर्नेछ ।
सन् २०१९ मा चीनका राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ सँयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।
यसअघि विभिन्न देशहरूले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाइ कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ हालसम्म कायम रहिआएको छ ।

प्रतिक्रियाहरु