प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु : बर्दिवासमा कर्फ्यू

२०७७ मंसिर १० गते, बुधबार


काठमाडौँ । महोत्तरीको बर्दिबास नगरपालिका–१४ सुगम बस्तीकी ६ वर्षीया बालिका हत्याको विरोध गर्दै प्रदर्शन गर्दा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका ‘सञ्जय’ भनिने बुद्धिराज न्यौपानेलाई उपचारको क्रममा निधन भएको छ । तिघ्रामुनि गोली लागेको उनको मृत्यु भएको ग्रान्डी अस्पतालले जनाएको छ । उनको मंगलबार राति १ बजे उपचारको क्रममा अस्पतालमै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मंगलबार दिउँसो सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको आइतबार हत्या भएको विषयलाई लिएर स्थानीयवासीले प्रर्दशन गरेका हुन् । स्थिति नियन्त्रणको क्रममा प्रहरीले फायर खोलेको जनाएको छ। प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गामुढा गर्दा महोत्तरी प्रहरी प्रवक्ता तथा डीएसपी प्रकाश विष्टसहित १५ जना प्रहरी कर्मचारी घाइते भएका छन् । अर्का घाइते श्याम कार्कीकाे उपचार भइरहेकाे छ ।
यसैबीच , बर्दिवासमा बालिका बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । कटुवालका अनुसार बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय भएको हो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु