बाइडेनद्वारा सत्ता सम्हाल्ने तयारी

२०७७ मंसिर १० गते, बुधबार


काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका महत्वपूर्ण छ वटा पदमा मनोनित गरेका छन् । राष्ट्रपति निर्वाचित बाइडेनले आफ्नो मन्त्रिपरिषदमा रहने मुख्य व्यक्तिहरूको घोषणा गर्दै आफ्नो समूहले अमेरिकालाई पुनः एकताबद्ध गराउने बताएका छन् । उनले अमेरिका विश्व मञ्चको नेतृत्वमा रहन तयार रहेको पनि बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्स्ट’ नीति मार्फत अमेरिकालाई विश्व मञ्चबाट अलग र ‘एक्लो’ बनाएको भन्दै बाइडेनले अब सो अध्यायको पाना पल्टिने बताएका हुन् । गृह राज्य डेलावेरमा बाइडेनले अमेरिकाका विरोधीहरूसँग भिड्ने तर सहयोगीहरूलाई अस्वीकार नगर्ने उल्लेख गरे । आफ्नो समूह अनावश्यक सैनिक द्वन्द्वमा नफस्ने उनको भनाइ छ । तर समूहले अमेरिकालाई सुरक्षित राख्न, विश्वव्यापी महामारी नियन्त्रण गर्न र जलवायु परिवर्तनलाई सम्बोधन गर्न आफ्नो अनुभव साझेदारसँग सहकार्यमा लगाउने बाइडेनले बताए ।
बाइडेनले विदेशमन्त्रीको जिम्मेवारी दिने गरी मनोनित गरेका टोनी ब्लिङ्केनले अमेरिका विश्व मञ्चमा विश्वासका साथ र मानवीय दुवै किसिमले प्रस्तुत हुनुपर्ने आवश्वकता रहेको बताए । बाइडेनले एभ्रिल हेन्सलाई पहिलो महिला डाइरेक्टर अफ नेशनल इन्टेलिजेन्स, अलेहान्ड्रो मयोर्कसलाई होमल्याण्ड सेक्युरिटीको पहिलो ल्याटिनो प्रमुखमा मनोनित गरेका छन् । अर्थशास्त्री ज्यानेट येलेनले अर्थमन्त्रीको भूमिका पाउने बताइएको छ । बाइडेनले जलवायु परिवर्तनको सङ्कटसँग जुझ्ने आफ्नो प्रमुख दूतका रूपमा पूर्व विदेशमन्त्री जोन केरीलाई मनोनित गरेका छन् । बाइडेनका सबै मनोनयन सिनेटको सुनुवाइ समितिबाट अनुमोदित हुनुपर्नेछ । – एजेन्सी

प्रतिक्रियाहरु