आज हरिबोधनी एकादशी

२०७७ मंसिर १० गते, बुधबार


काठमाडौं । आज कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी । यस वर्ष स्मृतिमा आधारित भएर कर्म गर्नेले बुधबार र वेदमा आधारित भएर कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम मङ्सिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि तिथि रहेको बताउँछन् । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने शास्त्रीय मत छ ।
एकादशी तिथि ५६ घडी नाघेका दिन स्मृतिलाई आधारमानी कर्म गर्ने अर्थात् स्मार्तले एकादशी मनाउँछन् । यसै कारण मङ्सिर १० गते बुधबारलाई स्मार्तानां एकादशी व्रत भनी समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको उनले जानकारी दिए । वेदमा आधारित भएर कर्म गर्नेले अरुणोदयकालमा एकादशी तिथि परेको दिन तिथि मनाउने गर्छन् ।
सूर्योदय हुनुअघिको चार घडीलाई अरुणोदय भनिन्छ । यो एकादशी यस वर्ष मङ्सिर ११ गते बिहीबार परेको समितिले जनाएको छ । जसलाई वैष्णवानां एकादशी अर्थात् वैष्णवको एकादशी भन्ने गरिएको छ । यहाँ विशेष टीका लगाउनेलाई मात्र वैष्णव भनी बुझ्न नहुने अध्यक्ष गौतमले बताए । समितिले स्वीकृति दिएकामा पात्रोमा पनि यही उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार