सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी होइन

२०७७ मंसिर ९ गते, मंगलवार

हस्तबहादुर केसी



सत्ताधारी नेकपाभित्र नेताहरुको बीचमा लामो समय पहिलेदेखि लडाइँ चलिरहेको छ । यो लडाइँ कुनै विचार, सिद्धान्त, दर्शन, लक्ष्य, उद्देश्य, देश र जनता भविष्य निर्माणको निम्ति चल्दै आएको लडाइँ र विवाद होइन । यो लडाइँ नितान्त नेताहरुको निहित व्यक्तिगत स्वार्थ, पद, प्रतिष्ठा र पैसाको निम्ति भएको लडाइँ हो । कम्युनिस्ट पार्टी त विपरीततत्वको एकत्व भएकोले पार्टी भित्र त विभिन्न प्रकारका विचारहरुका बीचमा विमर्श हुन्छ, छलफल हुन्छ, वादविवाद हुन्छ, अन्ततः संघर्ष र दुई लाइन संघर्ष चल्ने गरेको हुन्छ र ती विवादहरु अन्तरसंघर्षहरु र पार्टी भित्र चल्ने अन्तरसंघर्षहरु र विवादहरुलाई पार्टीको एउटा विधि र पद्धतिका आधारमा समाधान गरिन्छ ।
यसरी कम्युनिस्ट पार्टी भनेको विपरीतहरुको एकत्व भएकोले पार्टी भित्र चल्ने दुई लाइन संघर्षबाट पार्टीलाई नयाँ ढंगको कम्युनिस्ट पार्टी बनाउनका लागि आवश्यक मद्दत पुग्दछ । र, पार्टीलाई क्रान्तिकारी बनाइराख्नका लागि माक्र्सवाद – लेनिनवाद – माओवादको सैद्धान्तिक पथप्रदर्शन र क्रान्तिकारी कार्यदिशा, सांगठनिक सिद्धान्त तथा कार्यनीतिको अवलम्बन गर्न अनिवार्य रुपमा आवश्यक हुन्छ । किनकि अन्ततः संघर्ष वा दुई लाइन संघर्ष क्रान्तिकारी कम्युनिस्ट पार्टीको जीवन भएकोले अन्ततः संघर्ष वा दुई लाईन संघर्षका बीचबाट नयाँ ढंगको कम्युनिस्ट पार्टीको निर्माण हुन्छ । मालेमावादको आधारभूत मान्यता के हो भने कम्युनिस्ट पार्टी भित्र दुई लाईन संघर्ष विभिन्न रुपहरुमा चल्ने गर्दछ । कुनै खास अवस्थामा दुई लाईन संघर्ष एउटा सुसंगत लाइन बनेर र कहिले कुनै खास अवस्थामा खास–खास विषयमा अभिव्यक्त भएर प्रकट हुन्छ । यहाँनेर सबैभन्दा बढी ख्याल गर्नुपर्ने कुरा के हो भने दुई लाईन संघर्षलाई मैत्रीपूर्ण ढंगले सञ्चालन गर्नु पर्दछ । तर, यहाँनेर बुझ्नै पर्ने कुरा के छ भने जब पार्टी भित्र संशोधनवाद पूरै प्रभावी भएर जान्छ, त्यो स्थितिमा संशोधनवादसँग सम्बन्ध विच्छेद गर्न अनिवार्य हुन्छ ।
पार्टी भित्र चल्ने दुई लाईन संघर्ष मूलतः विचारधारात्मक, दार्शनिक, राजनीतिक तथा सांगठनिक पक्षमा आधारित हुने गर्दछ । यस अर्थमा वास्तवमा सच्चा क्रान्तिकारी कम्युनिस्टहरुले पुँजीवादी, निम्न पुँजीवादी वा संशोधनवादी विचारधाराको विरोध र सर्वहारावादी विचारधारा अर्थात् माक्र्सवाद – लेनिनवाद – माओवादको पक्षपोषण गर्ने काममा विशेष जोड दिँदै उनीहरूले दार्शनिक फाँटमा आदर्शवाद तथा अधिभूतवादमा आधारित अनुभववाद, व्यवहारवाद, बहुलवाद वितण्डावाद, सारसंग्रहवाद, जड्सूत्रवाद, एकमनावादको बिरोध र भौतिकवादी द्वन्द्ववादको दृढतापूर्वक अवलम्बन गरेका हुन्छन् ।
त्यसैगरी उनीहरूले राजनीतिक क्षेत्रमा दक्षिण, मध्य तथा ‘वाम’ अवसरवादका विरुद्ध क्रान्तिकारी कार्यदिशाको पक्षपोषण गरेका हुन्छन् । यस अतिरिक्त उनीहरूले सांगठनिक क्षेत्रमा एकातिर अति जनवाद, नोकरशाही केन्द्रीयता, विभागवाद, क्षेत्रीयतावाद, संसद्वाद, वैधानिकतावाद, फौजीवाद, छापामारवाद, संकीर्णतावाद, उदारतावादजस्ता गलत चिन्तनको विरोध र अर्कोतिर जनवादी केन्द्रीयता, आलोचना – आत्मालोचना तथा जनदिशाको मान्यतालाई दृढतापूर्वक अंगीकार गरेका हुन्छन् । वास्तवमा यस प्रकारको चिन्तन, प्रवृत्ति र कार्यशैलीका साथै साँस्कृतिक क्षेत्रमा पनि अभिव्यक्त गरेका हुन्छन् । अझै यहाँनेर हामीले के कुराको चर्चा गर्न आवश्यक हुन्छ भने माक्र्सवादी र अवसरवादी कार्यदिशाबीचको संघर्षलाई दुई लाईन संघर्ष भनिन्छ । एउटा के कुरा के कुरा साँचो हो भने क्रान्तिकारी कम्युनिस्ट पार्टी भित्र दुई लाईन संघर्ष लगातार चलिरहन्छ । यो वर्गसमाजमा वर्गसंघर्षको प्रतिबिम्बन हो । यसलाई हामीले निम्नानुसार बुझ्न सकिन्छ । जस्तै– पार्टी भित्र चल्ने दुई लाईन संघर्ष पार्टीको जीवन र विकास प्रक्रियाको कारकतत्व बन्ने गरेको हुन्छ । र, दुई लाईन संघर्षले पार्टीको विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यदि सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी भित्र दुई लाईन संघर्ष चल्न छोड्यो भने त्यो पार्टीको मृत्यु हुन्छ । त्यसो भएर कमरेड माओले भन्नुभएको छ, “पार्टी भित्र चल्ने दुई लाईन संघर्ष पार्टीको ज्यान हो, यसको समाप्ति भयो भने पार्टीको मृत्यु हुन्छ ।”
अर्को कुरा जसरी समाज विकासको कारकतत्व सामाजिक जीवनमा विद्यमान अन्तरविरोध हुने गर्दछ । ठीक त्यसैगरी नै एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीको विकासको कारक तत्व पनि पार्टी जीवनमा विद्यमान अन्तर्विरोध हुने गर्दछ ।
त्यस्तै समाजमा चल्ने वर्गसंघर्षको दीर्घकालीन प्रकृति अनुरुप एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी भित्रको दुई लाईन संघर्षको प्रकृति पनि दीर्घकालीन हुने गर्दछ । समाजमा विद्यमान वर्ग संघर्षका उच र निम्न ज्वारभाटाहरु पार्टी भित्र पनि त्यस गरि नै प्रतिबिम्बित हुने गर्दछन् । यसरी सच्चा क्रान्तिकारी कम्युनिस्टहरूले के कुराको हेक्का राखेका हुन्छन् भने एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी भित्र कुनै बेला दुई लाईन संघर्ष निम्न र कुनै बेला उच्च स्तरमा चलेको हुन्छ र त्यस बेला पार्टीमाथि गलत लाइनको प्रभाव नपरोस् अन्ततः पार्टी संशोधनवादी बन्न नपाओस् भन्नका लागि हमेशा सतर्क रहने गरेका हुन्छन् । साथै पार्टीलाई सही दिशामा अगाडि बढाउनका लागि दुई लाईन संघर्षको सही पहिचान गरी त्यसलाई सही ढंगले समाधान गर्न क्रान्तिकारी कम्युनिस्टहरूको मुख्य दायित्व र कर्तव्य हुन्छ । त्यसो भएर नै सच्चा क्रान्तिकारी कम्युनिस्टहरूले पार्टी भित्र चल्ने दुई लाईन संघर्षको समाधानको लागि सही नीति अविलम्बन गरेका हुन्छन् ।
एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीका क्रान्तिकारी नेता–कार्यकर्ताहरुले दुई लाईन संघर्षलाई सही ढंगले बुझ्ने र त्यसको वैज्ञानिक विधि पत्ता लगाउने र त्यसको सही पहपचान गरी समाधानका लागि विशेष रुपले ध्यान दिने गरेका हुन्छन् । र उनीहरूले वर्ग संघर्षको क्रान्तिकारी कार्यदिशा निर्माण गर्ने र क्रान्तिलाई विजयको दिशामा अगाडि बढाउन, पार्टीलाई पथविचलन हुनुबाट रोक्न र पार्टीलाई माक्र्सवाद – लेनिनवाद – माओवादद्वारा पथप्रदर्शित गर्दै निरन्तर समृद्ध, क्रियाशील र जुझारु बनाइराख्न जीवन–मरणको संघर्ष गरेका हुन्छन् र उनीहरूको स्वार्थ पार्टी, देश र क्रान्तिभन्दा अर्को हुँदैन । त्यसो भएकै कारणले क्रान्तिकारी कम्युनिस्टहरूले दुई लाईन संघर्ष सञ्चालन गर्ने पद्धति पार्टीको साँगठनिक मान्यतामा आधारित रहेर पार्टी पद्धतिअन्तर्गत आत्माआलोचना, जनवादी केन्द्रीयता, शुद्धिकरण, वैचारिक तथा भावनात्मक रुपान्तरण आदि अनिवार्य रुपमा अवलम्बन गरेका हुन्छन् । साथै क्रान्तिकारी कम्युनिस्टहरूले गल्ती कमजोरी गर्ने कमरेडहरुप्रति भौतिकवादी द्वन्द्ववादको मापदण्ड भित्र रहेर आलोचना र सहयोगको भूमिका निर्वाह गर्दै दुई लाईन संघर्षलाई मैत्रीपूर्ण ढंगले सञ्चालन गरेर सुध्रनै नचाहनेहरुलाई कारवाही गर्ने, विजातीय तत्वहरुलाई पार्टीबाट निष्काशन गर्ने, पार्टी भित्र अवसरवाद प्रभावी बन्दै गएमा त्यसका विरुद्ध संघर्ष चलाउने र त्यो सम्भव नभएमा विद्रोह गर्ने मान्यतालाई दृढतापूर्वक अबलम्बन गरेका हुन्छन् । र, पार्टी भित्र गुटवाद र फुटवादका विरुद्ध वैचारिक संघर्ष सञ्चालन गर्न मालेमावादका आधारभूत सिद्धान्तहरुलाई आत्मसात गरेका हुन्छन् ।
यसका अतिरिक्त क्रान्तिकारी कम्युनिस्टहरूले एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरुको, कार्यकर्ता र सदस्यहरुको साँगठनिक तथा वैचारिक र जीवन शैली, खानपान, आर्थिक अनुशासन कस्तो हुनुपर्छ भन्ने कुरामा हेक्का राख्ने गरेका हुन्छन् र कमरेड माओले भन्नुभएको, “माक्र्सवाद लागू गर संशोधनवाद होइन, एकजुट होऊ नफुट, स्पष्ट र खुला होऊ षड्यन्त्र र छलछाम नगर” भन्ने कमरेड माओका निर्देशनहरुलाई कम्युनिस्ट पार्टी भित्र कडाइका साथ लागू गर्न र गराउन संघर्षशील रहेका हुन्छन् र वैचारिक, सैद्धान्तिक तथा दार्शनिक जगमा खारिएको पार्टीलाई निरन्तर बलियो बनाई, राख्न संघर्ष गरिरहेका हुन्छन् ।
माथि क्रान्तिकारी कम्युनिस्ट पार्टी भित्र विवादहरु, अन्तरविरोधहरु किन र कसरी पैदा हुन्छ । साथै कम्युनिस्ट पार्टी भित्र चल्ने दुई लाईन संघर्ष र अन्तः संघर्षलाई कसरी सञ्चालन गर्नु पर्दछ ? त्यसका विधि र पद्धति के हो ? पार्टीलाई गुटवाद र फुटवादबाट कसरी जोगाउनु पर्छ ? पार्टीका नेता र कार्यकर्ताको कार्यशैली र जीवनशैली कस्तो हुनु पर्छ ? पार्टीलाई कसरी क्रान्तिकारी बनाइराख्न सकिन्छ र यसका विधि र प्रक्रिया तथा पद्धतिहरु के हुन भन्ने बारेमा चर्चा गरिएको छ । यहाँ थप चर्चा गर्न र उल्लेख गर्न खोजिएको विषय के हो भने अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्थात् सत्ताधारी नेकपा भित्र चर्कंदै आएको वावदविवाद, अन्तरकलह, झगडा र अन्तरविरोका बारेमा चर्चा र विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।
करीब छ महिनादेखि सत्ताधारी नेकपाभित्र अन्तरविरोध, वादविवाद र अन्तरकलह चर्कंदै आएको छ र पार्टी फुटको संघारमा पुगिसकेको छ भनेर व्यापक हल्ला चलिरहेको छ । दुबै पार्टी अध्यक्ष केपी ओली र प्रचण्डले पार्टी फुटलाई जोगाउन नसकिने अवस्थामा पुगेको छ भनेर घोषणा गरिरहेका छन् । पार्टी अध्यक्षसमेत रहेका केपी ओलीले “म कुनै पनि हालतमा राजीनामा दिन्न” भन्दै आएका छन् । अहिले सत्ताधारी नेकपाभित्र केपी गुट र प्रचण्ड गुट सञ्चालन भइरहेको छ । केन्द्रीय समिति, केन्द्रीय सचिवालय र स्थायी समिति समेतको केन्द्रीय पार्टी संगठनको संरचना रहेको यस पार्टीभित्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली सचिवालय र स्थायी समितिमा अल्पमतमा पर्दै आएका छन् ।
पटक–पटक सचिवालय र स्थायी समितिले गरेका निर्णयहरु कार्यान्वयन नगरेर मनपरि ढंगले काम गर्दै हिँडेको, मन्त्रिमण्डल पुनर्गठन, राजनीतिक नियुक्ति आदि राजनीतिक नियुक्तिमा आफ्नै गुटका मान्छेहरु र आफ्नै आसेपासेहरुलाई बनाएको भन्ने आरोप प्रचण्ड गुटले लगाउँदै आएको छ र उनले त्यस्तै गर्दै आएका छन् । विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कहरले नेपाल पनि अछुत रहन सकेन र आज कोरोनाको संक्रमणले नेपाली जनतालाई छियाछिया पारिरहेको छ । यस्तो अवस्थामा सत्तारुढ रहेको नेकपाले कोरोना ब्यवस्थापन गर्ने कार्यबाट पन्छिएर, सम्पूर्ण रुपमा हात झिकेर उक्त पार्टी र त्यसको मुख्य नेतृत्व गुट, उपगुट चलाउन र पार्टी भित्र दुनियाँलाई हसाउदै यतिबिघ्न आन्तरिक किचलोमा व्यस्त छ ? भन्ने प्रश्न नै आजको ज्वलन्त प्रश्न हो ।
अहिले सत्तारुढ नेकपा भित्र नेताहरुको चर्किंएको लडाइँ कुनै विचार, सिद्धान्तको लडाइँ नभएर नितान्त पद र प्रतिष्ठा र व्यक्तिगत इगोको लडाइँ हो । त्यस पार्टीका नेताहरुको निहित स्वार्थपूर्तिका लागि गरिएको पदको लुछाचुँडीको लडाइँ हो । सत्तारुढ नेकपाभित्रको लडाइँ मुख्यतः पार्टी अध्यक्षसमेत रहेका केपी ओली र अर्का कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री पदको लुछाचुँडीका रुपमा प्रमाणित हुन पुगेको छ । यसको प्राप्तिका लागि केपी ओली र प्रचण्डले जोडतोडले गुटहरु चलाइरहेका छन् । केपी गुटलाई सत्तामा रहेका बरिष्ठ र महाभ्रष्ट मन्त्रीहरु, अधिकांश प्रदेश सरकारका मुख्यमन्त्रीहरु, सत्ताको लाभ लुटिरहेका महाभ्रष्टहरु र केपी ओलीका आसेपासेहरु, पार्टीका झोले र लम्पट कार्यकर्ताहरु, अनैतिक र भ्रष्ट सल्लाहकारहरुले साथ दिइरहेका छन् भने प्रचण्डको गुटलाई पार्टीका प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठ, पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल तथा पार्टी उपाध्यक्ष वामदेव गौतमजस्ता चरम अवसरवादीहरुले साथ दिइरहेका छन् । प्रचण्डलाई पार्टी भित्रका र सरकारका मन्त्रीसमेत रहेका अन्य महाभ्रष्टहरुले साथ दिइरहेका छन् । यतिबेला सत्ताधारी रहेको नेकपा संसारकै पहिलो नम्बरमा भ्रष्ट सरकार चलाइरहेको पार्टीको रुपमा परिणत हुन पुगेको छ ।
यसरी यसै लेखमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण र परिचालन गर्ने विधि र पद्धतिका बारेमा प्रशस्तै उल्लेख गरिएको र कम्युनिस्ट पार्टी भित्र पैदा हुने अन्तरविरोधहरु, दुई लाईन संघर्ष र अन्ततः संघर्ष सञ्चालन र समाधान गर्ने विधि र पद्धति र मापदण्डका बारेमा जुन चर्चा र उल्लेख गरिएको छ । त्यसैबमोजिम यो पार्टी किन सञ्चालन भएको छैन र पार्टी भित्र उत्पन्न भएको अन्तरविरोध, वादविवाद कसरी व्यक्तिगत झगडा, अन्तरकलह र पद तथा प्रतिष्ठामा परिणत हुन पुगेको छ र आज पार्टी फुटको संघारमा पुगेको छ ? यो नै यस लेखको मुख्य आशय हो । कुनै पनि घटना घट्नुका पछाडि निश्चित वैज्ञानिक कारण रहेको हुन्छ । विज्ञान तथा माक्र्सवादी द्वन्द्ववादको आधारभूत तथा सार्वभौम नियमहरु विद्यमान रहेका हुन्छन् । यतिबेला सत्तारुढ नेकपा पार्टी भित्र उत्पन्न भएका अन्तरविरोधहरु, वादविवाद र अन्तरकलह उत्पन्न हुनुको मुख्य कारण यो पार्टी कम्युनिस्ट पार्टी नहुनु हो ।
यो सोसल डेमोक्रेटिक पार्टीको रुपमा परिणत भइसकेको बुर्जुवा पार्टी हो । कसरी यो कम्युनिस्ट पार्टी होइन त ? किनभने यसले पार्टीको नाम पनि कम्युनिस्ट पार्टी नै राखेको छ । कार्यालयहरूमा पनि कम्युनिस्ट पार्टीकै नाम राखेको छ । केपी ओली नेतृत्वको सरकारलाई पनि दुई तिहाईको बहुमत प्राप्त कम्युनिस्टहरुको सरकार हो भनिएको छ । यो पार्टी कसरी र किन कम्युनिस्ट पार्टी होइन भन्नेतर्फ पनि जोडदार रुपले चलाइरहेको पाइन्छ । यसको मुख्य कारण के हो त ? यसबाट प्रष्ट हुन जरुरी छ । पार्टीको नाम कम्युनिस्ट राख्दैमा त्यो पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन । सच्चा कम्युनिस्ट पार्टी हुनका लागि त्यो पार्टी माक्र्सवादका सर्वमान्य आधारभूत सिद्धान्तहरुलाई आत्मसात गरेको हुनु पर्दछ । आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग भएकोले पार्टीको पथप्रदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद – लेनिनवाद – माओवादलाई अंगीकार गरेको हुनुपर्दछ ।
पार्टीको न्युनतम लक्ष्य जनताको जनवाद र अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद र वैज्ञानिक साम्यवाद रहेको हुनुपर्छ । अर्थात् पार्टीले आफ्नो लक्ष्य, उद्दश्य किटानका सात स्पष्ट पारेको हुनु पर्दछ । पार्टी लेनिनवादी संगठनात्मक सिद्धान्तका आधारमा अर्थात् जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित भएर सञ्चालन गरिनु पर्दछ । पार्टी साँच्चिकै फलामे अनुशासनमा बाँधिएको हुनु पर्दछ । अर्थात् पार्टी लौह अनुशासनमा बाँधिएको हुन्छ । त्यस पार्टीका नेता, कार्यकर्ताहरु देश, जनता र पार्टीप्रति समर्पित रहेको हुनुपर्दछ । नेता तथा कार्यकर्ताहरुको जीवनशैली कम्युनिस्ट नैतिकताभित्र रहेको हुनुपर्छ । अर्थात् शादा जीवन, उच्च विचारले लैस भएको हुनुपर्दछ र जनसेवकको उत्कृष्ट नमूना बनेको हुनुपर्दछ । उसको जनतासँगको सम्बन्ध नङ र मासुको जस्तो सम्बन्ध हुनु पर्दछ । यहाँ उल्लेख गरे जस्तता गरी के कम्युनिस्ट पार्टीमा हुनुपर्ने मापदण्डअन्तर्गत रहेर चलेको छ त यो सत्ताधारी नेकपा ? अहँ चलेको छैन ।
माथि उल्लेख गरेका कम्युनिस्ट मापदण्डहरुमा ८० प्रतिशत मापदण्ड पालना गरेको देखिँदैन । यसो हुनुको मुख्य कारण यो कम्युनिस्ट पार्टी होइन । यस पार्टीले क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले अंगीकार गर्दै आएको माक्र्सवाद – लेनिनवाद – माओवादको पथप्रदर्शक सिद्धान्तहरुलाई परित्याग गरिसकेको छ, तिलान्जली दिइसकेको छ । जसका कारण आज सत्ताधारी कम्युनिस्ट पार्टी गैरकम्युनिस्ट पार्टी, नक्कली कम्युनिस्ट पार्टी, नामधारी कम्युनिस्ट पार्टी, कम्युनिस्ट पार्टीको खोल ओढेको नक्कली कम्युनिस्ट पार्टी, माक्र्सवादको खास्टो ओढेको कम्युनिस्ट पार्टीको रुपमा परिणत भइसकेको एक बुर्जुवा पार्टीको रुपमा परिणत भइसकेको हुनाले आज त्यस पार्टी भित्र पद र प्रतिष्ठाको लडाइँ चलिरहेको छ । पार्टी भित्र उत्पन्न विवादहरुलई कम्युनिस्ट पार्टीले सञ्चालन गर्ने दुई लाईन संघर्ष सञ्चालनका विधि र पद्धति मापदण्डअनुसार विवाद हल गरिने पद्धति र तरिकाहरु नअपनाएर व्यक्तिगत लडाइँको रुपमा, व्यक्तिको पद र प्रतिष्ठा प्राप्तिको रुपमा प्रकट भइरहेको छ ।
यसरी सत्ताधारी नेकपाले कहाँनेर गल्ती ग¥यो ? कहाँनेर चिप्लियो र गैरकम्युनिस्ट, बुर्जुवा सोसल डेमोक्रेटिक पार्टीभन्दा पनि तल गिर्न पुग्यो भन्ने बारेमा स्पष्ट हुन जसरी हुन्छ । यसो हुनुमा ऐतिहासिक झापा विद्रोहको जगलाई टेकेर माले – एमाले हुँदै २०४९ सालमा जनताको बहुदलीय जनवाद नाम दिइएको बुर्जुवा पुँजीवादी संसदवादी विचारलाई नेपाली कम्युनिस्ट आन्दोलन भित्र घुसाएर संसदीय व्यवस्थामा प्रवेश गरेर घोर प्रतिक्रियावादी शक्तिमा परिणत हुन पुगेको एउटा प्रतिक्रान्तिकारी शक्ति र अर्को दस वर्षेे जनयुद्ध हुँदै शान्तिप्रक्रिया पछि साम्राज्यवाद, विस्तारवाद तथा सबै खाले प्रतिक्रियावादीहरुका सामु लम्पसार परेर वर्गीय रुपमा र राजनीतिक रुपमा समेत आत्मसमर्पण गरेर नवसंशोधनको बाटो हुँदै पहिले नै प्रतिक्रियावादी भइसकेको एमालेमा विलय भएपश्चात् प्रतिक्रान्तिकारी तथा घोर प्रतिक्रियावादी शक्तिको रुपमा परिणत भएर फासीवादी सरकार चलाउन पुग्नु नै यसको ज्वलन्त जिउँदो प्रमाण हो ।
यो पार्टी यो अवस्थामा पुग्नुको एउटा कारण ऐतिहासिक झापा विद्रोहबाट भागेर आएका भगौडाहरु दश वर्षेे जनयुद्धबाट भागेका भगौडाहरु मिलेर जुन डब्बल नेकपा नामको पार्टी बन्यो र यसले कम्युनिस्ट पार्टीको नाम दिएर जनताका बीचमा कम्युनिस्टको भ्रम छर्न पुग्यो, यसकै परिणाम हो यो । सत्ताधारी नेकपाले संसदीय व्यवस्थालाई आफ्नो कार्यदिशा र लक्ष्य बनाएको छ र दार्शनिक रुपमा बहुलवादलाई अंगीकार गरेको छ ।
पार्टीको भविष्यको निर्धारण त्यस पार्टीले अंगीकार गरेको कार्यदिशाले मात्र निर्धारण गर्दछ । उसले लिएको कार्यदिशा सही छ भने उक्ति पार्टीको भविष्य पनि दीर्घ हुन्छ, उसले लिएको कार्यदिशा गलत छ भने उसको भविष्य पनि समाप्त हुन्छ । त्यसो भएर कार्यदिशाको महत्वमाथि प्रकाश पार्दै माओ भन्नू हुन्छ– “विचारधारात्मक तथा राजनीतिक कार्य र दिशा सही वा गलत हुनुले सबैथोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ त्यो बेला सबै चीज प्राप्त हुन्छ, यदि अनुयायीहरु छैनन् भने पनि प्राप्त हुन् सक्छन् । यदि बन्दुक छैनन् भने ती पनि प्राप्त हुन सक्छन्, यदि राजनीतिक सत्ता छैन भने त्यो पनि प्राप्त हुन सक्छ, यदि यसको कार्यदिशा गलत छ भने भएका पनि सबै गुम्छन् । कार्यदिशा भनेको जालको डोरी हो जब त्यो तानिन्छ पूरै जाल खुल्दछ ।“ Mao : The documents of the proletarian Cultural Revolution in China Vol. 1, P. 283.”कमरेड माओद्वारा प्रस्तुत यी विचारहरु विचारधारात्मक तथा राजनीतिक कार्यदिशाका सन्दर्भमा अत्यन्तै सारगर्भित रहेका छन् । सत्ताधारी नेकपाले संसदीय पुँजीवादी कार्यदिशा अंगीकार गरेको छ र बहुलवादलाई दार्शनिक आधार बनाएको छ । यस अर्थमा संदीय व्यवस्थाको अन्त्यसँगै यसको अन्त्य पनि अनिवार्य छ ।
(लेखक ः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु