कक्षा १२ को परीक्षा शुरु

२०७७ मंसिर ९ गते, मंगलवार


काठमाडौं । काेराेना र लकडाउनका कारण गत वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ । परीक्षामा देशभरबाट ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुँदैछन् । परीक्षा समय बढीमा साढे १ घण्टाको हुने जनाइएकाे छ । देशभरका ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र राखिएकाे छ भने भाैतिक दूरी कायम गरेर पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा सञ्चान हुने राष्ट्रिय परीक्षा बाेर्डले जनाएकाे छ ।
यसअघि शिक्षामन्त्री गिरिराज पाेखरेलले विद्यार्थीहरूलाइ ढुक्क भएर परीक्षा दिन अनुराेध गरेका छन । काेराेना संक्रमण हुन नदिन प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिने र परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गर्नुपर्ने व्यवस्था गरिएकाे उनकाे भनाइ थियाे । साथै परीक्षार्थीहरूले मास्क अनिवार्य रूपमा लगाउनुपर्ने छ ।
परीक्षाका क्रममा एउटा कोठामा २ मिटरको दूरी कायम गरी बढीमा २० जनासम्म मात्र राख्न पाइने व्यवस्था बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार घर पायक पर्ने र अाफू अध्ययन गरेकै स्कुलमा परीक्षार्थीका लागि परीक्षा केन्द्र ताेकिएकाे छ । साथै त्यसरी घरपायक फरक जिल्लाबाट पनि परीक्षा दिन सकिनेछ । यसरी फरक जिल्लाबाट दिने विद्यार्थीको संख्या करिब १३ हजार रहेको छ । स्थानीय सरकारहरूको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको उनकाे भनाइ छ । केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने र परीक्षा शुरु भएपछि अन्यलाई प्रवेश नदिने व्यवस्था समेत गरिएको छ । प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै कोडको व्यवस्था गरेको बाेर्डले जनाएकाे छ ।

प्रतिक्रियाहरु