अक्सफोर्ड युनिभर्सिटीको कोरोना खोप ७० प्रतिशत प्रभावकारी !

२०७७ मंसिर ९ गते, मंगलवार

काठमाडौं । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप संक्रमण रोक्न ७० प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ । युनिभर्सिटीका अनुसार अन्तिम चरणको मानव परीक्षणमा यो खोप कोभिड–१९ विरुद्ध ७० प्रतिशत प्रभावकारी पाइएको हो ।
यसअघि अमेरिकी कम्पनीहरु फाइजर र मोडेर्नाले बनाइरहेको खोप भने संक्रमण नियन्त्रण गर्न ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको थियो । अक्सफोर्डले बनाएको खोप भने अरु दुई खोपको तुलनामा निकै सस्तो र भण्डारण गर्न सजिलो हुने बताइएको छ । यो खोपको लागि बेलायत सरकारले यसअघि नै १० करोड डोज प्रि–अर्डर गरिसकेको छ । जसबाट पाँच करोड मानिसलाई खोप दिन सकिने बताइएको छ । यो खोपको अन्तिम चरणको मानव परीक्षण ब्राजिल र बेलायतका २० हजार स्वयंसेवकमा गरिएको हो । यी मध्ये आधालाई कोरोनाको खोप दिइएको र आधालाई डमी खोप दिइएकोमा कोरोना खोप लिएका ३० जनामा संक्रमण देखिएको थियो भने डमी खोप दिइएका १०१ जनामा संक्रमण देखिएको थियो । अनुसन्धानका अनुसार स्वयंसेवकहरुलाई दुई ‘हाइ’ डोजको खोप दिँदा यसले ६२ प्रतिशत सुरक्षा दिएको तर, ‘लो’ डोज खोप दिइएकामा भने संक्रमणको सुरक्षा ९० प्रतिशत रहेको पाइएको थियो ।
यो खोप नेपालमा सजिलै भण्डारण गर्न सकिने पाइएको छ । अक्सफोर्ड युनिभर्सिटीका अनुसार यो खोपलाई ‘फ्रिज तापक्रम’ २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।
फाइजरको खोप भण्डारणको लागि करिब माइनस ७० डिग्री सेल्सियस तथा मोडेर्नाको खोप भण्डारण गर्न करिब माइनस २० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्ने जनाइएको छ । अर्कातिर मूल्यमा पनि अकसफोर्डको खोप अरुको तुलनामा सस्तो पर्नसक्ने जनाइएको छ । बीबीसीका अनुसार अक्सफोर्डको खोपको मुल्य ३ पाउण्ड (नेरु ४७४) तथा फाइजरको करिब १५ (नेरु २,३७०) तथा मोडेर्नाको करिब २५ (नेरु ३,९५०) पाउण्ड पर्ने छ ।

प्रतिक्रियाहरु