नेपालमा क्रान्तिको झण्डा फहराउँदैछ

२०७७ मंसिर ८ गते, सोमबार

विष्णु पन्त

१. प्रतिक्रान्तिका विरुद्ध क्रान्तिकारी विद्रोह ः आज २०७७ मंसिर ८ गते । हामी नेपाल कम्युनिष्ट पार्टीको सातौं पार्टी पुनर्गठन दिवस भव्य रुपमा उत्सवका रुपमा मनाउँदै छौं । नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन २०७१ मंसिर ८ गते भएको थियो । वास्तवमा २०७१ मंसिर ८ को घोषणा नेपालमा प्रतिक्रान्तिका विरुद्ध क्रान्तिकारी हमलाका लागि गरिएको थियो । तत्कालीन रुपमा मोहन वैद्य ‘किरण’सँग असमझदारीका कारण यो पुनर्गठन बाध्यात्मक भए तापनि यो विद्रोहको मुख्य निशाना प्रतिक्रान्तिका विरुद्ध क्रान्तिको तयारीका लागि भएको थियो । क्रान्तिकारीहरुले खाली विचारको व्याख्या मात्र गरेर बस्ने हो भने त्यो दुश्मनका लागि विजयोत्सवको विषय बन्छ भन्ने विप्लव र प्रकाण्डको संश्लेषण थियो । व्याख्या गरेर मात्र संसार बद्लिँदैन भन्ने मुख्य निष्कर्ष र अकर्मण्यताले क्रान्तिलाई क्षति पुग्ने विप्लव र प्रकाण्डको मुख्य संश्लेषणका साथ पार्टीको पुनर्गठन गरिएको थियो । क्रान्तिको तयारीका विषयमा क. किरण र क. विप्लवका बीचमा केही गम्भीर असमझदारीहरु भएकै कारण नयाँ पुनर्गठन गर्नुपरेको तथ्य सबैका सामु छर्लङ्गै छ ।

२. प्रचण्ड र बाबुरामको पतन पछि विप्लव र प्रकाण्डको उदय ः स्पष्टै छ, प्रचण्ड र बाबुरामको संसदीय व्यवस्थामै भएको आत्मसमर्पणलाई टुलटुलु हेरेर बस्नु क्रान्तिकारीहरुका लागि असह्य थियो । विप्लवले भन्नु भएको थियो– कहिलेकाहीँ क्रान्तिकारीहरुले बगिरहेको नदीको धारलाई रोक्ने र धार बदल्ने हिम्मत गर्नुपर्छ । पछि किरण र विप्लवका बीच वैचारिक मतभेद हुनुको मुख्य कारण थियो– किरणको बादलप्रतिको अगाध विश्वास । अहिले नै सकिँदैन कि भन्ने किरणको मनोविज्ञान र सकिन्छ र कुनै हालतमा सक्नुपर्छ भन्ने विप्लव र प्रकाण्डको मनोविज्ञानका बीचबाट पुनर्गठन बाध्यात्मक बनेको थियो । फेरि पनि भन्नुपर्छ, पुनर्गठनको मुख्य निशाना क्रान्तिको तयारी थियो र वर्ग संघर्ष थियो ।

३. ७ औं पार्टी पुनर्गठन दिवसबाट पछाडि फर्केर हेर्दा ः माथि नै उल्लेख भइसकेको छ कि नेकपाको पुनर्गठन २०७१ मंसिर ८ गते भएको थियो । पार्टी पुनर्गठनपछि क्रान्तिको पक्षमा ठूला–ठूला संघर्षहरु भए । वैचारिक रुपमा हेर्दा पनि धेरै महत्वपूर्ण विकास भएको छ । एकीकृत जनक्रान्तिको कार्यदिशाको विकास र कार्यान्वयनको तहमा गएको छ । दलाल संसदीय व्यवस्था, दलाल पुँजीवाद, सामाजिक फासीवाद, भारतीय साम्राज्यवाद, अमेरिकी उत्तरसाम्राज्यवादजस्ता नयाँ संश्लेषणको पार्टीभित्र भएको वैचारिक विकासलाई थप उचाइमा पु¥याएको स्पष्टै हुन्छ । संघर्षका हिसाबले हेर्ने हो भने राष्ट्रियता र जनतन्त्रका थुप्रै मुद्दामा ठूला–ठूला संघर्षहरु भएका छन् । संघर्ष र प्रतिरोधकै परिणामस्वरुप वर्तमान सामाजिक फासीवादी केपी ओली नेतृत्वको सरकारले २०७५ फाल्गुण २८ देखि नेकपामाथि लगाएको प्रतिबन्ध जारी छ । फासीवादको प्रतिरोधको क्रममा एक दर्जन व्यक्तिहरुको बलिदान वा शहादत भइसकेको छ । वर्तमान फासीवादी सत्ताको दमन, धरपकड, झुठ्ठा मुद्दा, गैरन्यायिक हिरासत, अपहरण र इन्काउन्टरका घटनाहरु जारी छन् । पार्टीका सदस्य, शुभचिन्तक र आफन्तहरुलाई समेत सरकारले यातना दिइरहेको छ । लाखौं पार्टीका शुभचिन्तक जनताको मौलिक हक र मानवअधिकारलाई राज्यले हनन् गरिरहेको छ । त्यसकारण आज पार्टीसँग जनमुक्ति सेना छ, आफ्नै सत्ता छ र मूलरुपमा कम्युनिष्ट पार्टी छ । निष्कर्षमा के भन्न सकिन्छ भने नेपालमा क्रान्तिको सम्भावनालाई बढाइदिएको छ । आज नेकपा नभएको भए क्रान्तिकारी ध्रुवीकरणको बहस चल्ने थिएन । आज पार्टीभित्र देखिएको सामूहिक नेतृत्व र नेतृत्वको एकता सबैका लागि उदाहरणीय बनेको छ । पार्टीमा शुद्धिकरणको प्रक्रिया निरन्तर चलिरहेको छ । सबैभन्दा उल्लेख्य कुरा के छ भने दुश्मनसँगको आत्मसमर्पण वा साँठगाँठलाई अक्षम्य बनाइएको छ । सरकारी हिरासतमा परेपछि नेता तथा कार्यकर्ताको स्वाभिमानी संघर्षलाई विशेष ध्यान दिने गरिएको छ ।

४. फासीवादको प्रतिरोधले उचाइ लिदैछ ः केही मान्छेहरुलाई लागेको छ, सरकारी दमनबाट विप्लव नेतृत्वको नेकपा कमजोर वा शून्य भएको छ । सरकारी दमनबाट पार्टीभित्र ठूला–ठूला दौड र विचलन पनि भएका छन् । एकातर्फ सरकारले दमन, धरपकड र गिरफ्तारीलाई बढाउने अर्कोतर्फ पार्टीबाट शुद्धिकरण हुने प्रक्रियाले ठूला–ठूला फेरबदलहरु पनि भएका छन् । शायद अब प्रतिरोधको अध्यायको सुरुवात हुनेछ । हामीले योबीचमा सामाजिक फासीवादी सत्ताको निकृष्टताको अध्ययन गर्ने मौका पाएका छौं । क. प्रकाण्डको शब्दमा अब हामीले दुश्मनलाई बुझिसकेका छौं, चिनिसकेका छौं । सरकारले लगाएको प्रतिबन्ध त्यो केवल नेता, कार्यकर्तालाई थुन्ने, अपहरण गर्ने, यातना दिने प्रयोजनका लागि मात्र प्रभावकारी बनेको छ । प्रतिबन्धले पार्टीलाई थप सशक्त र परिपक्व बन्ने अवसर पनि दिएको छ । सबैलाई थाहा छ, राजनीतिक दलमाथिको प्रतिबन्ध आफैं आत्मघाती छ ।

सरकारी प्रतिबन्ध पछि निकै संयमतापूर्वक पार्टीले आपूmलाई अगाडि बढायो । निश्चित छ, युद्ध लड्ने आ–आफ्नै तरिका हुन्छन् । माओले भने जस्तै– तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले लड्छौं । फासीवादी ओली–दाहालको गठबन्धन सरकारले हामीमाथि प्रतिबन्ध लगाउनुको सिधा अर्थ थियो, ‘दमन गरेर सिध्याउनु ।’ यो दुश्मनको रणनीतिलाई क्रस गर्ने गरी अगाडि बढ्नु क्रान्तिकारीहरुको दायित्व हो । यदि प्रतिबन्ध नलगाइएको भए आज लाखौं जनताको विद्रोह सडकमा हुन्थ्यो । अरु प्रतिबन्ध नलागेका क्रान्तिकारी शक्तिहरुबाट त्यो काम पूरा हुन सकेन । फेरि पनि म भन्छु, प्रतिबन्ध हट्ने हो भने लाखौं जनताले यो सत्ताविरुद्ध विद्रोह गरी सडकमा उत्रिन्छन् । त्यसकारण यो सत्ताको प्रश्न हो र सजिलै क्रान्तिकारीहरुलाई त्यस्तो मौका दिँदैनन् । जब शान्तिपूर्ण प्रदर्शनलाई समेत सत्ताले प्रतिबन्ध लगाउँछ तब प्रतिरोध अवश्यम्भावी बन्छ ।

अब धैर्यताको बाँध टुट्न सक्छ । सरकारी नेकपा करिब–करिब विघटनको संघारमा छ । हामीलाई थाहा भएकै कुरा हो, फासीवाद मूलतः आफ्नै कारणले पतन हुन्छ । ओली र दाहालको गठबन्धन पनि आफ्नै कारणले पतन हुँदैछ । अब जनताले प्रतिरोधको माग गरेका छन् । परिस्थितिले यो सत्ताका विरुद्ध सशक्त प्रतिकारको माग गरेको छ । जब सशक्त प्रतिरोध सुरु हुन्छ, तब जनताले स्वतस्फूर्त रुपमा प्रतिबन्ध तोडेर आफैं सडकमा निस्किन्छ ।

५. जनताले दलाल संसदीय व्यवस्थाको विकल्प खोजेका छन् ः दलाल संसदीय व्यवस्था लुटपाटमा उत्रिएको छ, भ्रष्टाचारको आहालमा डुबेका छन्, सबै नेताहरु अरबौंका कमिशन काण्डमा संसदीय शीर्ष नेताहरु सबै डुबेका छन् । भागवण्डाको राजनीतिक चलिरहेको छ । भागवण्डा नमिलेर ओली समूह र दाहाल समूहबीच घम्साघम्सी चलेको छ । जनताले भनेका छन्, एउटा राजा फालेर सयौं राजा–महाराजाहरु जन्माउने कुत्सित संसदीय गणतन्त्र अस्वीकार्य छ । केही मान्छेहरु केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर संसदीय व्यवस्थाविरुद्धको जनआक्रोशलाई मत्थर पार्न सकिन्छ भनेर पनि लागिपरेका छन् । तर, स्पष्टै छ, व्यक्ति परिवर्तनले जनआक्रोशलाई मत्थर पार्न सक्दैन । जनताले संसदीय व्यवस्थाको विकल्प खोजेका छन् । दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद खोजिरहेका छन् । जनताले भनेका छन्, पूर्वराजा ज्ञानेन्द्रभन्दा धनी संसदीय नेताहरु केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा छन् । त्यसकारण यो लुटतन्त्रको अन्त्यका लागि जनताले नेकपासँग आग्रह गरिरहेका छन् ।

६. जनता भन्दैछन्, ‘विप्लव आऊ देश बचाऊ’ ः जनता यो दलाल संसदीय व्यवस्थाबाट वाक्कदिक्क छन् । यो संसदीय व्यवस्थाका विरुद्ध जनताले दुईवटा विकल्प अघि सारेका छन् । पहिलो हो– ‘विप्लव आऊ, देश बचाउ’ । दोस्रो हो– ‘राजा आऊ देश बचाऊ’ । निश्चित छ, जनताले अग्रगमन र क्रान्ति खोजेको छन् । जनता संसदीय नेताबाट यति रुष्ट बनेका छन् । उनीहरु भन्दैछन्– संसदीय नेताभन्दा बरु राजतन्त्र ठीक । यसबाट स्पष्ट बुझ्न सकिन्छ कि जनताले विद्रोह खोजेका छन् । जनताले भ्रष्ट नेताहरुलाई जेल हालेको देख्न खोजिरहेका छन् । जनताले नेताहरुको सम्पत्ति छानबिन होस् भन्ने चाहेका छन् । हुन पनि जनताले क्रान्ति चाहेका थिए तर प्रतिक्रान्ति भयो । त्यसकारण स्पष्टै छ, नेकपा भन्न साथ क्रान्तिको पर्याय बनेको छ । सबैलाई समेट्ने नेकपाको नारा छ– क्रान्तिकारी, प्रगतिशील, देशभक्त र सच्चा लोकतन्त्रवादी तथा मानवअधिकारवादी शक्तिहरु, एक होऔं । यो नाराबाट भोलिको आमनेपालीहरु बीचको एकत्व र सहकार्यलाई देख्न सकिन्छ ।

७. वैज्ञानिक समाजवादका लागि संघर्ष ः वास्तवमा नेकपालाई प्रतिबन्ध लगाउनुको मुख्य कारण हो– विप्लव, प्रकाण्डको सम्झौताहीन संघर्ष । उनीहरुले भनेका छन्, दलाल संसदीय व्यवस्था अस्वीकार्य छ । प्रचण्ड र बाबुरामलाई जस्तै पुरानै संसदीय व्यवस्थामा आत्मसमर्पण गराउन सकिन्छ कि भन्ने कोणबाट पनि षड्यन्त्रहरु नभएका होइनन् । घरी महामन्त्रीको हल्ला त घरी शक्तिशाली मन्त्रीको हल्ला नगरिएका होइनन् । सरकारी नेकपाका अनेक हल्ला र षड्यन्त्र कायमै छन् । प्रचण्डले अप्ठ्यारो पर्दा भन्छन्– किरण, विप्लव र बाबुराम पनि एकतामा आउनुपर्छ । तर, यस्ता प्रायोजित हल्ला र षड्यन्त्रबाट टाढा रहेका छन् विप्लव र प्रकाण्ड । जब नेकपाको नेतृत्वमा क्रान्तिको ज्वारभाटा उठ्ने सम्भावनालाई फासीवादी सत्ताले मध्यनजर ग¥यो, तब दलमाथिको प्रतिबन्ध लगाइयो । यदि ओली र दाहाल थोरै पनि लोकतन्त्रवादी भएको भए उनीहरुको नीति हुनु पर्दथ्यो– हिंसात्मक गतिविधिको नियन्त्रण र शान्तिपूर्ण राजनीतिक गतिविधिको प्रोत्साहन । तर, उनीहरु न्यूनतम लोकतन्त्रवादी पनि थिएनन् । उनीहरु सामाजिक फासीवादी थिए । र, उनीहरुले अमेरिका वा भारतको इशारामा प्रतिबन्ध लगाए । त्यसकारण कुरा स्पष्ट छ, नेकपाको मूल नेतृत्व क्रान्ति गर्नुपर्छ भन्नेमा एकमत छ । विप्लव, प्रकाण्ड, कञ्चन, सुदर्शन र विषमबीचमा नेतृत्वको एकत्व छ र त्यो क्रान्ति गर्नुपर्छ भन्नेमा नै एकमत छ ।

८. आजको आवश्यकता क्रान्तिकारीहरुबीचको एकता ः क्रान्तिकारी शक्तिहरुबीचको एकता र ध्रुवीकरण अपरिहार्य छ । जसले क्रान्तिकारी निकट बनाउँछ । आज फासीवादी सरकारका विरुद्ध २२ दलीय गठबन्धनको सुरुवात भएको छ । जुन स्वागत योग्य कदम छ । २२ दलीय गठबन्धनले एकताबद्ध रुपमा भनेको छ – नकेपामाथिको प्रतिबन्धको घोषणा फिर्ता गर । क्रान्तिकारी, प्रगतिशील र राष्ट्रवादी शक्तिहरुको एउटै आवाज हुनुपर्ने बेला भएको छ । कतिपय विश्लेषकहरुले सरकारलाई भनेका छन्– चुनाव मात्र लोकतन्त्र होइन । उनीहरुको प्रश्न छ, चुनाव जित्नेले जे पनि गर्न पाइन्छ र ? यी प्रश्नहरुको जवाफ ओली र देउवासँग छैन । चुनाव त भ्रष्टाचारको लाइसेन्स जस्तो पो बनेको छ । यही त फासीवादी शासकहरुको चरित्र बन्यो । यो सत्ता विदेशीहरुको दलाल बनेको छ । त्यसकारण दलाल संसदीय व्यवस्थाको अन्त्य गर्नका लागि क्रान्तिकारी शक्तिहरुबीचको एकता अनिवार्य छ । आज दलाल संसदीय व्यवस्था गम्भीर संकटमा छ । संसदीय नेतृत्व जनताका बीच दुर्गन्धित बनेको छ । संसदीय नेताहरुको नाम लिना साथ जनताले नाक छोप्छन् । त्यसकारण यो व्यवस्था वा सत्तालाई धक्का दिनुपर्ने समय भइसकेको छ । देशलाई बचाउनका लागि पनि संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्ने भएको छ । त्यसका लागि एक पटक सम्पूर्ण क्रान्तिकारी शक्तिहरुबीच एकता कायम गर्नु अनिवार्य बनेको छ । तर, एकता क्रान्तिका लागि हुनुपर्छन् कि विचलन र आत्मसमर्पणका लागि । एकता फेरि अर्को विभाजनको लागि हुनुहुँदैन ।

९. ७ औं पार्टी पुनर्गठन दिवसको बधाई तथा शुभकामना ः नेपाल कम्युनिष्ट पार्टीले ७ औं पार्टी पुनर्गठन दिवसलाई भव्य रुपमा मनाउने निर्णय गरेको छ । उसको मुख्य नारा, ‘एकीकृत जनक्रान्तिको झण्डालाई उच्च पारौं । ७ औं पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔं ।’ त्यसकारण आजको दलाल संसदीय व्यवस्थालाई अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने कार्यदिशाका रुपमा एकीकृत जनक्रान्ति आएको छ । एकीकृत जनक्रान्तिलाई कार्यान्वयन गर्ने क्रममा दर्जनभन्दा बढी योद्धाहरुको बलिदानी वा शहादत भएको छ भने सयौं घाइते तथा हजारौं जेल वा हिरासतमा छन् । यसले क्रान्ति र प्रतिक्रान्तिबीचको टकरावलाई दर्शाउँछ । क्रान्तिको लागि भएको यो पछिल्लो संघर्ष आफैँमा गौरवपूर्ण छ र यसलाई कोही पनि परिवर्तनकारी चेतले नजरअन्दाज गर्न मिल्दैन । फेरि पनि प्रतिक्रान्तिको विजयोत्सव मनाउन नपाउँदै क्रान्तिको झण्डा उठाएको आदरणीय नेताहरु विप्लव, क. प्रकाण्ड, कञ्चन, विषम र सुदर्शनलगायतको टिमलाई बधाई तथा शुभकामना छ । क्रान्तिको यात्रालाई निरन्तर जारी राख्ने पार्टीका सबै नेता, कार्यकर्ता र शुभचिन्तकलाई बधाई छ । आत्मसमर्पणवादीहरु जितेर पनि हारेका छन् भने क्रान्तिकारीहरु हारेर पनि जितेका छन् । जित्नका लागि क्रान्ति जारी छ । फेरि पनि सबैलाई बधाई तथा शुभकामना छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु