भारतबाट २५० मेगावाटसम्म बिजुली आयात गर्ने तयारी

२०७७ मंसिर ७ गते, आईतवार


काठमाडौ । यस बर्षको जाडो यामका लागि नेपाल विद्युत प्राधिकरणले भारतवाट विद्युत ल्याउने भएको छ । भारतले ढल्केवर–मुजफ्फरपुर लाइन मार्फत २ सय ५० मेगावाटसम्म विजुली आयात गर्न प्राधिकरणलाई स्वीकृति दिएको बताइएको छ । नियमित आयात भइराखेको भन्दा बढी विद्युत आयात गर्नुपर्ने अवस्थामा ल्याउन सक्नेगरी नेपाल विद्युत प्राधिकरणसँगको सम्झौता भारतले स्वीकृत गरेको हो । जाडोयामको लागि अपुग बिजुली आयात गरी समस्या समाधान गर्नको लागि सम्झौता गरिएको प्राधिकरणले जनाएको छ । यो स्वीकृति २०२१ सम्मलाई मात्र रहेको छ । त्यो समयसम्म नेपालको आफनै बिजुली उत्पादन धेरै हुने भएकाले आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने प्राधिकरणको भनाइ छ ।
आगामी वर्षको सुरुवात देखि नै अधिक विजुली उत्पादन हुने देखिएकाले त्यसको व्यवस्थापनमा चुनौति देखा पर्न सक्ने छ । अहिले उर्जा क्षेत्रमा भएको लगानीबाट उत्पादन सुरु भएपछि त्यसको खपत बढाउन नसक्ने हो भने विजुली खोलामा बगाउनुपर्ने स्थिति आउन सक्ने र यस्तो स्थिति आएमा देशको अर्थतन्त्रमा घाटा हुने प्राधिकरणको बुझाइ छ ।
विद्युत खपत बढाउनको लागि प्राधिकरणले अहिले देखिनै योजनावद्ध रुपमा काम गरिरहेको प्राधिकरणको भनाइ छ । त्यसका लागि औद्योगिक क्षेत्रमा ५ सय मेगावाट र अन्य क्षेत्रमा ४ सय मेगावाट विद्युत खपत गराउन सकिने प्राधिकरणको अनुमान छ । त्यसपछि पनि अधिक भएको विजुली निर्यात गर्नुको विकल्प नभएको प्राधिकरणको भनाइ छ । त्यसका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव अगाडी बढाइसकेको प्राधिकरणले जनाएको छ ।
विद्युत वितरणमा देखिएका केही समस्याहरुलाई समाधान गर्ने कार्यमा प्राधिकरण जुटेको प्राधिकरणको भनाइ छ । २०७३ सालमा ढल्केवर–खिम्ती लाइन जोडिएदेखि नै जोडन बाँकी रहेको काठमाडौं देखि ढल्केवर सम्मको बिजुलीको प्रसारण लुप ‘सर्कल’ जोडन प्राधिकरण सफल भएको छ । यसबाट स्विचिङ गर्दा लाइन काटनुपर्ने समस्याको अन्त्य भएको प्राधिकरणको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु