गोपीचन्द पार्की टोकियो ओलम्पिकमा छनोट

२०७७ मंसिर ६ गते, शनिबार


काठमाडौं । गोपीचन्द पार्की टोकियो ओलम्पिकको लागि छनौट भएका छन । १३ औं साग स्वर्ण विजेता पार्की छैठौं नेपालगञ्ज म्याराथनको उपाधि जित्न सफल भएसंगै टोकियो ओलम्पिकको लागि छनौट भएका हुन । पार्कीले आज बिहान नेपालगञ्जमा भएको म्याराथनमा निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेर डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका कृष्ण बस्नेतलाई पछि पार्दै उपाधि हात पारेका हुन ।
उनले १३ औं सागमा पँच हजार मिटर दौडमा स्वर्ण जितेका थिए । साउनमा ५ हजारमा स्वर्ण जितेपछि टोकियो ओलम्पिकलाई लक्ष्य बनाएर तयारी गरेको र सफल भएको प्रतिक्रिया दिए । टोकियो ओलम्पिकमा बैकुण्ठ मानन्धरको रेकर्ड तोडने लक्ष्य रहेको पनि पार्कीले बताए ।
गत संस्करणको विजेता सेनाका कृष्ण बस्नेत दोस्रो स्थानमा समेटिए । उनले २ घण्टा २० मिनेट ४९ सेकेण्डमा दौड पुरा गरे । सेनाकै खगेन्द्र भाट तेस्रो भए । म्यराथनका विजेताले ७५ हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमश ३० हजार र २० हजार प्राप्त गरे । हाफ म्याराथनको उपाधि १३ औँ सागकी कास्य विजेता सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले जितेकी छन् । उनले निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा पूरा गरिन् । १ घण्टा ३० मिनेट सात सेकेण्डमा दूरी पूरा गरेर जुम्लाकी मञ्जु रावत दोस्रो र १ घण्टा ३८ मिनेट १४ सेकेण्डमा दूरी पूरा गरेर दाङकी सर्मिला घर्ती तेस्रो भइन् । महिला हाफ म्याराथनको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्रदान गरिएको छ । कोरोनाको महामारीपछि देशमा गरिएको यो पहिलो प्रतियोगिता हो । प्रतियोगितामा २५ पुरूष र १० महिला खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु