आज विश्व टेलिभिजन दिवस

२०७७ मंसिर ६ गते, शनिबार


काठमाडौँ । आज २१ नोभेम्बर अर्थात विश्व टेलिभिजन दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो । आजभन्दा ९५ वर्ष अगाडि आविष्कार भएको टेलिभिजन आमसञ्चार माध्यम अहिले विकास हुँदै अनलाइन टेलिभिजनसम्म आइपुगेको छ । टेलिभिजन प्रविधिको सबैभन्दा कान्छो पुस्ताको रुपमा रहेको अनलाइन टेलिभिजनको विस्तार र आकर्षण दिनप्रतिदिन बढिरहे पनि यसको व्यवस्थापन तथा संस्थागत विकासको आवश्यकता पनि उत्तिकै रहेको अनलाइन टिभी पत्रकार सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष जीवन भण्डारी र महासचिव राजु सुवेदीले दिवसको अवसरमा वक्तव्य जारी गर्दै अनलाइन टेलिभिजनको पहुँचलाई विस्तार गर्दै यसको विषयवस्तु तथा प्रस्तुतिको गुणस्तर वृद्धि गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्ने बेला भएको उल्लेख गर्नुभएको छ । सबै अनलाइन टिभीकर्मीलाई सङ्गठित हुन र एक अर्कालाई सहयोग, सीप र ज्ञान आदानप्रदान गर्न पनि उहाँहरुले सबैलाई आह्वान गर्नुभएको छ ।
अनलाइन टेलिभिजनलाई व्यवस्थित, विश्वसनीय र उपयोगी बनाउन सबै टेलिभिजनकर्मी, विज्ञ र सरोकारवाला निकायका बीचमा सहकार्य गर्दै केही प्रयास भइरहेको सङ्घले जानकारी दिएको छ । नेपालमा पहिलो टेलिभिजनको रुपमा विसं २०४१ माघ १७ गते नेपाल टेलिभिजनको स्थापना भएको हो भने हाल सय बढी टेलिभिजन सञ्चालनमा रहेका छन् । त्यसैगरी अनलाइन टेलिभिजनको सङ्ख्या पनि बढीरहेपनि यसको कुनै आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन ।

प्रतिक्रियाहरु