राष्ट्रिय मानव अधिकार आयोगद्वारा द्वन्द्वपीडितहरुको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न आह्वान

२०७७ मंसिर ५ गते, शुक्रबार


काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौताको १४ वर्ष पुरा भएको अवसर पारेर द्वन्द्वपीडितहरुको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न आह्वान गरेको छ । आयोगका प्रवक्ता (सहसचिव) डा. टीकाराम पोखरेलले एक प्रेस विज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन् ।
यस बिषयमा राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता (सहसचिव) डा. टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ –
“विस्तृत शान्ति सम्झौताको १४ वर्ष
द्वन्द्वपीडितहरुको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर ।
नेपालमा २०५२ सालबाट सुरु भई १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व नेपाल सरकार तथा तत्कालीन नेकपा माओवादीबीच २०६३ साल मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतापश्चात् औपचारिक रुपमा अन्त्य भएको आज १४ वर्ष पूरा भएको छ । नेपाल सरकार र विद्रोही पक्ष बीच भएको उक्त सम्झौतामा उल्लेख गरिएका विषयहरुको पालना भए/नभएको अनुगमन गर्ने जिम्मेवारी यस आयोगलाई तोकिएको आयोग स्मरण गर्दछ ।

यस अवधिमा शान्ति प्रक्रियाका विभिन्न कार्यहरुमध्ये हतियार व्यवस्थापन, विद्रोही लडाकुहरुको समायोजन, सङ्क्रमणकालीन न्यायिक संयन्त्रको गठन, संविधानसभाको निर्वाचन र संविधान निर्माण तथा कार्यान्वयन जस्ता सकारात्मक कार्यका बाबजुद द्वन्द्वपीडितहरुले अझै न्याय प्राप्त गर्न नसकेको स्थिति छ । सङ्क्रमणकालीन न्यायका सम्बन्धमा गठित आयोगहरुले संशोधित कानूनको अभावमा द्वन्द्व पीडितहरुलाई न्यायको अनुभूति हुन सक्ने गरी कार्य गर्न अझै सकेका छैनन् ।
राष्ट्रिय मानव अधिकार आयोगले स्थापनाको बीस वर्षे अवधिमा गरेका ११९५ सिफारिसहरुमध्ये ९४० सिफारिसहरु विगतको द्वन्द्वसँग सम्बन्धित भए तापनि तिनको कार्यान्वयन अवस्था सन्तोषजनक रहेन । सिफारिस कार्यान्वयन नभएका कारणबाट द्वन्द्वपीडितले न्याय प्राप्त गर्न नसक्नु, बलपूर्वक बेपत्ताविरुद्धको घटनामा आयोगले कारबाहीको लागि सिफारिस गरे पनि त्यसको लागि पर्याप्त कानूनी व्यवस्थाको अभाव हुनु, केही द्वन्द्व पीडितहरुले अन्तरिम राहत तथा क्षतिपूर्तिको रकम प्राप्त गरेको भए तापनि मानव अधिकारका गम्भीर उल्लंघनमा संलग्न दोषीलाई कारवाही नहुनुले दण्डहीनताको स्थिति अन्त्य हुन सकेको देखिन्न । यसबाट नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेका प्रतिबद्धताहरु समेत प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको देखिन्छ ।
अतः विस्तृत शान्ति सम्झौतामा उल्लेख भएअनुसार संक्रमणकालीन न्यायका संयन्त्रहरुसँग सम्बन्धित कानुनहरु मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता, यस आयोगको सिफारिस तथा सर्वोच्च अदालतको निर्णय अनुकूल हुने गरी संशोधन गर्न, पीडितहरुको समयमै न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न तथा आयोगले दोषी ठहर गरेका मानव अधिकार उल्लंघनकर्ताहरुलाई कानून बमोजिम कारवाहीको दायरामा ल्याई दण्डहीनताको स्थिति अन्त्य गर्न आयोग नेपाल सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ । “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

उपनिर्वाचन : मौन अवधि सुरु

२०८१ बैशाख १३ गते, बिहीबार