ओली र प्रचण्ड ‘काले-काले मिलेर खाउँ भाले’ उखान चरितार्थ गर्दै

२०७७ मंसिर ४ गते, बिहीबार
नारायण शर्मा


नेकपा तत्काल नफुट्नेतिर जाने ? किनकी शीर्षस्थहरु नै :
१. शक्तिकेन्द्रहरुको सुझाव सुन्न तयार भए !
२. मध्यमार्गी नेताहरुको सुझाव, दवाव, खबर्दारी र चेतावनीबाट भयभीत भए !
३. नेपाली वामजनमत र राजनीतिक स्थिरताको आवश्यकतालाई सम्बोधन नगर्दाको परिणाम आत्मघाती देखे !
३. निर्णायक लागेको सचिवालय बैठकमा ओलीपक्ष न आउने वा आएमा वारपारको अवस्था आउने नभएर बैठक सौहार्दपूर्ण रुपमा बसे !
४. बैठकले ओलीको प्रस्ताव आउने कुरालाई स्वीकार गर्नु र स्वागत गर्न तयार भए !
५. प्रस्ताव तयार गर्न ओलीलाई थप समय दिए !
६. सचिवालयदेखि स्थायी र केन्द्रीय समितिसम्मका बैठकहरुका मिति सहमतिमै तोके !
७. अब ओलीद्वारा प्रचण्डको प्रतिवेदनलाई काउन्टर दिनेगरी बहुदलीय जनवादलाई कार्यदिशा मानेर अघि बढ्ने प्रस्ताव ल्याइने र त्यसको विपक्षमा जान माधवहरुलाई अप्ठेरोमा पारिने सम्भावना टड्कारो भयो !
८. उक्त प्रस्तावमै प्रचण्डविरुद्ध तथ्य-तथ्यान्क, आधिकारिक सरकारी रेकर्ड, सूचना र दसीप्रमाणको दुहाइ दिंदै क्यान्टोनमेन्टको भ्रष्टाचार, सुमार्गी र एनसेलसङ्गको साँठगाँठ र कमिसन, घरबेटी भनिएका ठेकेदार शारदा अधिकारीसँगको मिलोमतोमा लिइएको आर्थिक लाभ, ठेकेदारलाई संरक्षण गर्नाले उनका ठेक्कापट्टाबाट देस र जनतालाई पुगेको क्षतिको विवरणको प्रस्तुती, सुन तस्करी, बूढी गन्डकीको अनियमितता लगायतका भ्रष्टाचार, कमिशनखोरी, दलाली तथा प्रचण्डमा रहेको परिवारवाद, रेनुको उमेदवारी र चुनाव धाँधली आदि इत्यादि गम्भीर, संवेदनशील र संगीन आरोपहरु लगाइने र प्रचण्डको बचेखुचेको छविलाई पनि ध्वस्त पार्ने प्रयास गरिने र प्रचण्ड र उनको पक्षलाई विभाजन, विघटन र विसर्जन गरिने प्रबल सम्भावना भयो !
१०. यो स्थितिमा गाँड कोराकोर र भुँडी फोराफोर गर्दै एकले अर्काको निर्णायक प्रतिवाद र प्रतिरोध गर्न नसक्ने स्थिती उत्पन्न हुँदा आखिरमा “तैं चुप मै चुप” र “कालेकाले मिलेर खाउँ भाले”को अवस्था आउने निश्चितप्राय भयो ।
प्रचण्डमा उहिल्यै विचारगत र आचारगत विचलन आएर नै “अब लडाइ-झगडा र संघर्ष गर्न सकिन्न” भन्दै जित्दाजित्दैको युद्ध छोडेर शान्तिप्रकृयामा आएकाले संघर्ष गर्ने सोंच र साहस समाप्त भएको छ । यसरी आज उनमा सहमती र सम्झौताको चिन्तनप्रवृत्ती हावी छ ! त्यसैगरी १९ दिने निर्णायक जनआन्दोलनका बेला “गाडा चढेर अमेरिका पुगिन्न” भन्दै राजतन्त्रको समेत विरोध गर्न र जन आन्दोलनसम्म गर्न नसक्ने चिन्तन र चरित्र भएका ओलीमा पनि फाइट टु फिनिसको लडाइभन्दा घिसाव-थकाव र धम्की-घुर्कीको ट्रीक र ट्याक्टिस प्रयोग गर्ने प्रवृत्ति शक्तिशाली भएकाले उनीहरु दुवैमा संघर्षभन्दा सम्झौताकै रुझान प्रमुख रुपमा रहेको छर्लङ्ग नै छ ! त्यसो त एकता गर्दा नै ओली र प्रचण्ड दुवैले आआफ्ना चर्चित गम्भीर प्रकारका अपराधहरुबाट उन्मुक्ती पाउने मुख्य लक्ष बनाएका थिए र एकता गरेका थिए पनि भनिएको हो ! स्मरणीय छ, पार्टी एकता नहुँदै एमालेकै चुनावचिन्ह सूर्यमा चुनाव लड्ने सहमती गरेर आफ्नो सम्झौतावादी समर्पणवादी सोंच र संस्कृतिको पुनः परिचय दिएका थिए प्रचण्डले ! यो पृष्ठभूमिमा उपरोक्त वर्तमान र निकट भविष्यबारेको उपर उल्लिखित आँकलनलाई नेकपामा फुट-विभाजन कम्तीमा अहिलेलाई टरेको र केही पर सरेको आधार र संकेतका रुपमा लिनसकिन्छ !
अस्तु !!

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु