फिफा विश्वकप एशिया छनोटको खेल तालिका सार्वजनिक

२०७७ कार्तिक २७ गते, बिहीबार


काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेलहरु आगामी बर्षको जुन महिनाभित्र सकिने भएको छ । एसियन फुटबल कन्फेडेरेसन एएफसीले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो ।
एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीको कारण यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएका छनोट खेलहरु स्थगित गरिएको थियो । छनोट अन्तर्गत बाँकी रहेको खेल मार्च र जुनमा हुने एएफसीले जनाएको छ ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी रहेको छ । छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशको ढाकामा छ ।

प्रतिक्रियाहरु