चिरन पुनको ‘खुनको बदला’: ओली सरकारको सचित्र वर्णन (भिडियोसहित )

खेम थपलिया २०७७ कार्तिक १६ गते, आईतवार
खेम थपलिया



नेपाली समाज यतिबेला अप्रत्याशित र अस्वाभाविक परिस्थितिबाट गुज्रिरहेको छ । जनसमुदायको मनोविज्ञान, चाहना र नैसर्गिक अधिकारमाथि फासिवादी सत्ता नृशंस ढङ्गबाट प्रस्तुत भइरहेको छ । बन्दुकको नालमा टिकेको केपी ओली नेतृत्वको फासिवादी सत्ताले जनताको रगत–पसिनाबाट किनिएका बन्दुकको चरम दुरुपयोग गरिरहेको छ । राज्यको नृशंस दमनका विरुद्ध जनसमुदायको साथ र समर्थनका साथ नेपाल कम्युनिस्ट पार्टीले पनि आफ्नै सापेक्षतामा र मौलिक विधिद्वारा सशक्त प्रतिरोध गरिरहेको छ । दलाल सत्ताका विरुद्ध भौतिक प्रतिरोध मात्र भएको छैन, वैचारिक प्रतिरोध पनि उत्तिकै सशक्त बन्दै गइरहेको छ । वैचारिकी प्रतिरोधअन्तर्गत कलासाहित्यको क्षेत्रबाट क्रान्तिकारी लेखक, साहित्यकार, कलाकारहरूले पनि आ–आफ्ना विधाका माध्यमद्वारा फासिवादी सत्ताका विरुद्ध सशक्त प्रतिरोध गरिरहेका छन् । यही प्रतिरोध अभियानका क्रममा भर्खरै सार्वजनिक भएको छ— कलाकार चिरन पुनको गीत ‘खुनको बदला ।’ कडा चट्टानमाथि बडेमानको फलामे घन बजार्दा आगोको झिल्कासहित जस्तो भाव र तरङ्ग पैदा हुन्छ, त्यस्तै गीत हो, ‘खुनको बदला ।’
चिरन पुनको ‘खुनको बदला’ समकालीन नेपाली क्रान्तिकारी गीतसङ्गीतको क्षेत्रमा विशेष गीतिसामग्री हो । यो समकालीन फासिवादी सत्ताले न्यायप्रेमी जनसमुदायमाथि चलाएको नृशंस दमनका विरुद्धको सशक्त उद्घोष हो । यो गीतसङ्गीतको माध्यमबाट फासिवादी दलाल सत्ताका विरुद्ध ‘टिट फर ट्याट’ को वैचारिक रणनीति पनि हो । जनताले कति सहन्छ ? किन सहन्छ ? कतिञ्जेल सहन्छ ? कसका लागि सहन्छ ? सहनशीलताको पनि सीमा हुन्छ । दलाल ओली सरकारले न्यायप्रेमी जनता यो सहनशीलताको सीमाको उल्लङ्घन गरेको उहिल्यै हो । आजका दुनियाँमा आफैँले लडेर ल्याएको व्यवस्थाले आफैँलाई ताकीताकी गोली वर्षाउँदा कस्तो मनोभावना पैदा हुँदो हो, यो समकालीन नेपाली राजनीतिको अहम् प्रश्न हो । कमरेड माओले ‘विद्रोह गर्नु जनताको अधिकार हो’ भन्ने उद्घोष यसै गर्नुभएको थिएन । यो पार्टीभित्रको कुुरा पनि हो, त्योभन्दा पनि बढी यो वर्गासङ्घर्षको कुरा हो । यो प्रतिध्रुवीय शिविरमाथि बमवार्ड गर्ने कुरा पनि हो । प्रस्तुत ‘खुनका बदला’ गीतले यही विद्रोह, यही बमवार्डको भावना बोलेको छ ।
मान्छेका जीवनमा अनेकन अवस्था आइरहन्छन् । उसले आफ्नो जीवनको अनेकन् आवश्यकतालाई अनेक ढङ्बाट परिपूति गर्ने प्रयत्न पनि गरिरहेको हुन्छ । शासकहरूले आफ्नो लुटको साम्राज्यको निरन्तर रक्षा गर्न खोज्नु उसको शासकीय विशेषता हो । निरन्तर अग्रगामी यात्रामा अगाडि बढ्न खोज्नु जनसमुदायको निजत्व हो । हो, यही निजत्व र अपनत्वका कारण जनसमुदायले भौतिक र बौद्धिक सामग्री खोज्दछ । बौद्धिक सामग्रीका अनेक रूपमध्ये एउटा सशक्त रूप हो, गीतसङ्गीत  । गीतसङ्गीतले मान्छेले आफ्नो मनको भाव वा चाह मात्र व्यक्त गर्दैन, यसका माध्यमबाट उसले वैचारिक हस्तक्षेप पनि गरिरहेको हुन्छ । जनयुद्ध प्रारम्भ हुनुपूर्व ‘आँधी आउँदै छ, हुरी चल्दै छ’ जस्ता गीतहरूले त्यस्तै वैचारिकीको काम गरेको थियो । वर्तमानमा फासिवादी ओली सरकारका विरुद्ध चिरन पुनको ‘खुनका बदला’ त्यस्तै वैचारिकी र त्यस्तै शक्तिशाली हस्तक्षेप हो ।
चिरन पुनको प्रस्तुत गीत बन्दुकको नालबाट छुटेका गोलीका पर्राजस्तो लाग्दछ मलाई । सामान्य मान्छे यो गीतको शब्दै सुनेर बेहोस होला होला जस्तो । यो गीतमा जनताको न्यायपूर्ण बदलाको भावना उर्लिएको छ । नेपालमा जनताले बलिदानको ठूलो मूल्य चुक्ता गरिसकेका छन् । महान् जनयुद्धको महान् उद्देश्यमा ठूलो गद्दारी र धोका भएपछि एकीकृत जनक्रान्तिको रातो झन्डा उठेको करा सर्वविदितै छ । एकीकृत जनक्रान्ति प्रारम्भपछि धनरूप बटाला, कुमार पौडेल, चन्द्रबहादुर सिंह ‘सनराइज’, तीर्थ घिमिरे ‘राजु’, गोकुल राना मगर ‘महान्’, विभुराम विक ‘दीपेन्द्र’, प्रज्वल शाही ‘प्रज्वल’, विष्णु भण्डारी ‘निरन्तर’, निरकुमार राई ‘प्रशान्त’, रामकुमार श्रेष्ठ ‘रविन’, रामबहादुर सिंह ‘राजेश’ को सहादत भइसकेको छ । सङ्घर्षको मैदानमा सयौँ गम्भीर घाइते हुनुहुन्छ । सयौँ जेल तथा हिरासतमा हुनुहुन्छ । हजारौँलाई झुट्टा मुद्दा लगाइएको छ । क्रान्तिमा बलिदान अनिवार्य हुन्छ भन्ने कुरा क्रान्तिको ऐतिहासिक स्कुलिङले हामीलाई दिशानिर्देश गरिरहेकै छ । क्रान्ति ऐतिहासिक र युगीन दायित्व हो । क्रान्ति जनसमुदायको माग हो । एकीकृत जनक्रान्तिका सहिदहरूले यही कुरा बोलिरहेका छन् । क्रान्ति रोक्न र छेक्न आउने जो कोही पनि न्यायप्रेमी जनसमुदायको आक्रमणमा पर्छन् नै । अनि जन्मिन्छन् यस्ता रगत उमाल्ने गीत ः
खुनको बदला खुनै लिनु छ, गोलीको बदला गोली दिनु छ
धनरुप, अमृत मार्नेहरूलाई, क्रान्ति छेक्न आउनेहरूलाई
खुनको बदला खुनै, गोलीको बदला गोली ।
जनयुद्धको उठान, विकास र विस्तारमा गीतसङ्गीतको निकै ठूलो भूमिका रहेको थियो । यसैको भावनात्मक बलले जनयुद्धले निरन्तर भौतिकी तागत प्राप्त गरेको थियो । दुनियाँमा माक्र्सवादको मृत्यु भएको, वर्गसङ्घर्षको सान्दर्भिकता सकिएको, वैकल्पिक राज्यसत्ताको कुनै सम्भावना र औचित्य नरेहको जस्ता अत्यन्त विषाक्त हावाका विरुद्ध जनयुद्धले साम्राज्यवादी–प्रतिक्रियावादीहरूका यावत् प्रपञ्चकारी हौवालाई फत्तुर सावित गरिदिएको थियो । गीतसङ्गीतले महान् जनयुद्धलाई समग्र युद्धमा बदलिदिन अघोर सघाएको थियो । परिणामतः सबै सबै एउटै भाव, लक्ष्य र उद्देश्यमा डोलायामान हुन पुगेको थियो । पुरानो सत्ता नराम्ररी डगमागाएको थयो । जनताले असी प्रतिशत भू–भागमा आफ्नै सत्ता चलाउन थालेका थिए । जनयुद्धले विश्वको ध्यान मात्र तानेको थिएन, विश्वभरका उत्पीडित तथा श्रमजीवी जनताले ‘हिमालयतिर हेर’ को परिस्थिति निर्माण गरिदिएको थियो । यो विशिष्ट परिस्थितिको निर्माण, विस्तार र विकासमा गीतसङ्गीतको विशिष्ट योगदान थियो । शोषणकारी र दमनकारी राजनीतिका दाउपेचीय आवरणमा अनेकन गोमन बेरिएका हुन्छन् । एकदिन तिनको एकएक हिसाब–किताब गर्ने समय आउँछ । जनताका बैरीहरू माटोमुनि लुके पनि, पानीमुनि डुबे पनि, आकाशमा उडे पनि, देशै छोडी भागे पनि तिनीहरूसित एकदिन जनताको कठघरामा उभिनुको कुनै विकल्प हुँदैन । एकीकृत जनक्रान्तिले जनताका दुश्मनलाई कठघरामा उभ्याउने परिस्थितिको निर्माण गर्नेछ ।

हेरौँ, क्रान्तिकारी प्रतिबद्धतामा उनिएकोे प्रस्तुत गीतको एक अंश ः
चाहे होस् राजनीतिको आवरणमा बेरिएको गोमन
माटोमुनि लुके अनि पानीभित्र डुबे पनि
आकाशमाथि उडे अनि देशै छोडी भागे पनि ।
मानव सभ्यताको विकासात्मक तरेलीमा गीतसङ्गीत मानवजीवनसित अन्योन्याश्रित रहँदै आएको छ । कहिले ती शासकको दमनको हतियार बनेका छन् भने कहिले ती शासकका विरुद्धको सङ्घर्षको दावानल बनेका छन् । जनताका गीतसङ्गीतलाई हस्तक्षेप गरेर शासकहरूले आफ्नो ब्रह्मलुटको स्वर्ग बचाउन उपयोग गरेको प्रपञ्च पनि हामीलाई थाहा छ । समाज अनेक किसिमका जीवन–मरणको पदचापबाट यहाँसम्म आइपुगेको हो । कैयौँ सन्दर्भ जनसमुदायका छाती पोल्ने खालका छन् भने कैयौँ सन्दर्भ जनसमुदायका छाती फुल्ने खालका पनि छन् । एउटा कुराचाहिँ निर्धक्कसित भन्न सकिन्छ कि गीतसङ्गीत समाजको निजत्व–अपनत्व हो, जुन अनेकन ऐतिहासिक आरोह–अवरोहको भुँमरीबाट गुज्रिँदै आएको छ । गीतसङ्गीत जनताले हजारौँ वर्षदेखि निर्माण गर्दै आएको बौद्धिक सम्पदा हो । हामीलाई थाहा छ कि समाजभित्रको अन्तरविरोधको जगमा नै शासकीय र शासित अवधारणा जन्मिएका हुन् । जसरी जीवनको सुरक्षाको आवश्यकताले हतियार जन्मिए; त्यसैगरी अन्तस्करणको भावना एकापस–जनसमुदायमा सम्प्रेषण गर्न गीतसङ्गीत पनि जन्मिए । शासकहरूले आफ्नो सत्ताको रक्षार्थ हतियारको प्रयोग गर्दछ, जनताले शोसकीय सत्ता ध्वस्त पार्दै आफ्नो सत्ता प्राप्तिका लागि हतियारको प्रयोग गर्दछ । हतियारको बलमा टिकेको सत्ता ध्वस्त बनाउन हतियारको प्रयोग अनिवार्य बन्छ भन्नेमा जनतामा कुनै दुविधा छैन । यही भावमा इतिहासको लामो कालखण्डमा भीषण सङ्घर्ष हुँदै आएको छ । रुढिवादको अँधेरोलाई चिर्दै अग्रगमन अघि बढ्दछ । रुढिवादको गर्भबाट अग्रगमनको जन्म हुन्छ । कहिलेकाहीँ अग्रमन पनि रुढिवादको एेंजेरुले छोपिन्छ । एउटा युगको चिहानमा अर्को युग उभिन्छ । गीतसङ्गीतको कुरा पनि यही हो । फेरि गीतसङ्गीत यस्तो पर्यावरण हो, जो निरन्तर अग्रगतिमा रमाउँदछ । गीतसङ्गीतको आफ्नै सौन्दर्यदृष्टि हुन्छ । यही सौन्दर्यदृष्टिका कारण क्रान्तिकारीहरूमा क्रान्तिकारी आशावाद जन्मिन्छ । हेरौँ, क्रान्तिकारी आशावादको विशिष्ट उचाइको भाव प्रस्तुत गरेको प्रस्तुत गीतको अर्को साक्ष्य ः
हेर्दै जाऊ क्रान्तिभित्र क्रान्ति जित्ने क्रान्तिकारी सान
जेलभित्र थुने अनि आलो रगत पिए पनि
मासु लुछी खाए अनि शिरै काटी लगे पनि ।
केही समयअघि पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ गीत गाएका थिए । उनी क्रान्तिकारी भएर यो गीत गाएका थिएनन् । यो गीत समकालीन नेपाली राजनीतिक–सामाजिक क्षेत्रको विकृति र विसङ्गतिको चर्को भण्डाफोर थियो । यद्यपि वर्गीय हिसाबले उनी पनि समकालीन शासक वर्गका सजातीय नै हुन् तर पनि उनले यो गीत गाए, जसका कारण एकहदसम्म ओली सरकार हल्लिएको थियो । ओली सरकारले तुरुन्तै ‘लुट्नु सके लुट कान्छा’ गीतको प्रसारणमा रोक लगाएको थियो । यसले शासकको मनोविज्ञानलाई स्पष्ट पार्दछ । झन्, क्रान्तिकारी गीतसङ्गीतबाट फासिवादी ओली सरकार कति आतङ्कित भइरहेको होला, सहजै अनुमान गर्न सकिन्छ । सामना सांस्कृतिक परिवारको कार्यक्रममै हस्तक्षेपदेखि कविता वाचन गरिरहकै अवस्थामा कविहरू गिरफ्तार हुनु बहुलट्ठी ओलीराजमा सामान्य हुन थालेको छ । नेपालमा हिजो जसरी सजातीय एकात्मक राष्ट्रियताको नारालाई जनसमुदायमाथि लादिएको थियो, त्यसका निम्ति उसले सबैभन्दा बढी गीतसङ्गीतकै सहारा लिइएको थियो; आज ओली सरकार पनि त्यही पदचाप पछ्याइरहेछ । शासकहरूलाई सामाजिक अन्तरविरोध झल्कने गीतसङ्गीत पटक्कै पच्दैन । जनताको मनोकाङ्क्षा झल्किएका गीतसङ्गीत त ओली सरकारलाई बमबारुद नै बनिदिन्छ । आलोचनात्मक चेतना पूरै मरिसकेका शासकहरूमा कलाकारले राजनीति गर्नुहुँदैन भनेर घोकाइन्छ र फेरि सबैभन्दा बढी राजनीति तिनैले गरिरहेका हुन्छन् । शासकका अन्याय, अत्याचार, शोषण, दमन बढ्दै गएपछि निम्तिन्छ, फ्रान्सेली राज्यक्रान्तिजस्ता परिघटना, जहाँ जनताले राजा लुई सोह्रौँको गिलेटिनबाट शिरछेदन गरिदिएका थिए । नेपालको राजतन्त्रात्मक गजुर पनि सामान्य परिघटनाले गल्र्यामगुर्लुम कहाँ ढलेको थियो र !


महाभारतमा एउटा सन्दर्भ छ, शान्तिका सबै मार्ग बन्द भएपछि युद्ध अनिवार्य बन्दछ । प्रचण्डहरूले जनयुद्धको मुख्य लक्ष्य नछोडेको भए, क्रान्तिलाई कुर्सीसित नसाटेको भए विप्लवहरूले एकीकृत जनक्रान्ति गर्नै पर्दैनथ्यो । ओली सरकारले अन्यायपूर्ण र अनधीकृत राजनीतिक प्रतिबन्ध लगाउँदै, सारा राजनीतिक नैतिकतालाई धुलोमा मेटाउँदै र योजनाबद्ध रूपमा इन्कान्टरको नाममा कुमार पौडेललगायत योद्धाहरूको हत्या नगरेको भएर चिरन पुनहरूले ‘खुनको बदला खुन, गोलीको बदला गोली’ गीत लेख्नै पर्दैनथ्यो । यी गीत दलाल प्रतिक्रियावादी फासिवादी शासकहरूले सिर्जना गरेको सङ्गीन परिस्थितिको विरुद्ध साङ्गीतिक प्रत्याक्रमण हो । यो गीत क्रान्तिकारीहरूको मन–मस्तिष्कको उथलपथुल हो, ज्वारभाटा हो, ज्वालामुखी हो । चिरन पुनद्वारा रचित एवम् सङ्गीतबद्ध ‘खुनको बदला’ गीत एकीकृत जनक्रान्तिका योद्धाहरूप्रति समर्पित रहेको छ । प्रस्तुत गीतमा दिया क्षितिज र लाल किरणले स्वर दिएका छन् । बिट ६४ को एरेन्ज रहेको प्रस्तुत गीतले ४ मिनेट १३ सेकेन्डको समयावधि ओगटेको छ भने यसमा शाब्दिक, साङ्गीतिक एवम् स्वराङ्कन वीररसप्रधान भावको सम्मिलन उच्च र कलात्मक बन्न पुगेको छ । सेमी भिजियुलसमेत रहेको प्रस्तुुत गीतसँगै वर्तमान खुनी सत्ताका अन्याय, अत्याचार, हत्या, लुट, भ्रष्टाचार बुझाउने छायाचित्र प्रस्तुत गरिएको छ । यसमा दलाल संसदीय फासिवादी व्यवस्थाका नाइके वर्तमान डबल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, डबल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ओली सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एवम् पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाललगायतको छायाचित्र पनि प्रस्तुत गरिएको छ । प्रस्तुत गीत सामाजिक फासिवादी केपी ओलीको नेतृत्वमा रहेको सरकारको सचित्र वर्णन हो ।

प्रतिक्रियाहरु