फ्रान्समा दोस्रोपटक देशव्यापी लकडाउन !

२०७७ कार्तिक १३ गते, बिहीबार


काठमाडौं । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्राेंनले दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि नोभेम्बर भरीका लागि लकडाउन घोषणा गरिएको हो । शुक्रबारबाट लागू हुने यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउने छन् । रेस्टुरेन्ट बारहरू बन्द रहने तर विद्यालय र उद्योगहरु भने सञ्चालन हुने म्याक्रोनले बताए ।
लकडाउन डिसेम्बर एक तारिखसम्म लागू हुनेछ । त्यसपछि १५–१५ दिनमा पुनः निर्णय गरिने बताइएको छ । अप्रिल यता फ्रान्समा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या उच्च तहमा पुगेको छ । कोरोना संक्रमित बिरामीको चापले फ्रान्सका अस्पतालहरूका सघन उपचार कक्षहरू आधा भरिएका छन् ।
फ्रान्समा अहिले दैनिक ५० हजार नयाँ संक्रमितहरू देखिएको बताइएको छ । फ्रान्समा हालसम्म १२ लाख ३५ हजार भन्दा बढीलाई कोरोना संक्रमण भएको छ भने ३५ हजार ७ सय भन्दा धेरैको मृत्यु भएको छ ।
यसअघि, जर्मन चान्सलर एंगेला मर्केलले पनि कोरोनाभाइरस फैलिन नदिन देशव्यापी प्रयासहरूको आह्वान गरेकी थिइन् । युरोपेली थुप्रै देशहरूमा केही समय यता संक्रमण तीव्र रुपमा बढिरहेको छ । अधिकांश देशले रातिको समयमा कर्फ्यू लगाएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु