अमेरिका र भारतबीच बेका सम्झौता : पाकिस्तानद्वारा बिरोध

२०७७ कार्तिक १२ गते, बुधबार


काठमाडौं । अमेरिका र भारतबीच तेश्रो प्लस टु प्लस मन्त्रीस्तरीय बैठकमा बेसिक एक्सचेन्ज एण्ड कोअपरेशन एग्रीमेन्ट अर्थात बेका सम्झौता भएको छ । सम्झौता अनुसार दुई देशका सेनाबीच सूचना आदानप्रदान, उच्चस्तरीय सैनिक प्रविधि र प्रतिरक्षासँग सम्बन्धित गोप्य उपग्रहीय सूचनाहरु आदानप्रदान गरिने उल्लेख छ । सम्झौतामा रक्षा मन्त्रालयका अतिरिक्त सचिव जिवेश नन्दनले भारत सरकारका तर्फबाट हस्ताक्षर गरेका थिए ।
बैठकमा भारतका तर्फबाट बिदेश मन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहको उपस्थिती रह्यो भने अमेरिकाको तर्फबाट अमेरिकी बिदेशमन्त्री माइक पोम्पियो र रक्षामन्त्री मार्क एस्पर सहभागी भएका थिए ।
यी बाहेक बैठकमा दुबै देशका शार्ष सैन्य र सुरक्षा अधिकारीहरुको पनि सहभागिता रहेको थियो । बैठकमा दुबै देशबीच हिन्द र प्रशान्त महासागरीय क्षेत्रको सुरक्षा, सामरिक र रणनितीक सहयोगका बारेमा पनि छलफल भएको भारतीय अधिकारीहरुको भनाई छ ।
सम्झौता लगत्तै प्रतिक्रिया दिंदै अमेरिकी बिदेशमन्त्री माइक पोम्पियोले चीनलाई कम्युनिष्ट पार्टी लोकतन्त्र, कानुनी नियम, एक अर्काबीचको स्पष्टता र पारवहन स्वतन्त्रताका लागि मित्रता गाँस्न नसक्ने देशको रुपमा परिभाषित गरे ।
यसैगरी अमेरिकी रक्षामन्त्री माइक एस्परले दुई देशबीचको यो सम्झौता एकअर्काको मुल्य र मान्यतामा आधारित भएको भन्दै अमेरिका र भारतबीच रक्षाको क्षेत्रमा क्षेत्रिय सहयोग बलियो बनेको भन्दै आगामी दिनमा काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिक्रिया दिए । यता भारतीय रक्षामन्त्री राजनाथ सिंहले बेका सम्झौता एक महत्वपुर्ण सम्झौता भएको जनाउँदै अमेरिका संग आफनो देशको सैन्य सहयोगले थप गती लिने धारणा ब्यक्त गरे ।
यसैबीचअमेरिका र भारतबीचको यो सम्झौता लगत्तै पाकिस्तानले बिरोध जनाएको छ । पाकिस्तानी बिदेश मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै भारतको मिसाइल र सैन्य परिक्षणमाथि प्रश्न उठाएको छ । बिज्ञप्तीमा पाकिस्तानले भारतले युद्धक सामग्रीहरु जुटाउनु, परमाणु शक्ति परिमार्जन गर्नु, हतियार प्रणाली बिकसित गर्नु दक्षिण एशियाका लागि खतरा भएको भन्दै अमेरिकाको ध्यानाकर्षण गराएको छ ।
पाकिस्तानको टिप्पणीप्रति भने भारतले कुनै जवाफ दिएको छैन । अमेरिकी बिदेशमन्त्री दक्षिण एशियाली राष्ट्रहरुको भ्रमणका क्रममा भारत पुग्नु भएको हो ।- एजेन्सी

प्रतिक्रियाहरु