अक्टोबर क्रान्ति र नेपाली कम्युनिस्ट क्रान्तिकारीका प्रकारहरु

२०७७ कार्तिक ११ गते, मंगलवार
नारायण शर्मा

पुरानो पात्रो (Old Style) अनुसार २५ अक्टोबर र नयाँ पात्रो (New Style) अनुसार भने ७ नोभेम्बर १९१७ मा महान् रुसी समाजवादी कम्युनिस्ट क्रान्तिले विद्रोहात्मक रुपमा निर्णायक र गुणात्मक सफलता प्राप्त गरेको हो ! त्यसको प्रभाव विश्वव्यापी रुपमा पर्नेक्रममा सन् १९४९ को १ अक्टोबरमै महान् चिनियाँ नयाँ जनवादी कम्युनिस्ट क्रान्तिले पनि पूर्णता र सफलता प्राप्त गरेको थियो ! तिनको प्रभाव घनिष्ठ छिमेकी देस  नेपालमा पनि परेपछि

हाम्रो देसमा पनि कम्युनिस्ट क्रान्तिकारी पार्टी-संगठन, संघ-संस्था र शक्ति-व्यक्तिहरु जन्मिएका हुन् । तत्पश्चात् क्रान्तिबाटै विकसित, विस्तारित र वृद्धि भएका अनि विचलित, विभाजित र विसर्जित पनि हुँदै गएका नेपाली कम्युनिस्ट क्रान्तिकारीहरु हाल विभिन्न क्षेत्रमा थरीथरीका क्रान्तिकारीहरुका स्वरुपमा देखापरेका छन् ! नेपालको राजनीतिक क्षेत्रमा त आफूलाई क्रान्तिकारी र समाजवादी न ठान्ने र न भन्ने कोही पनी पार्टी, नेता र कार्यकर्ता छैनन् ! त्यस्तै सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रका अगुवादेखि  पछुवासम्मका सबैले आफूलाई क्रान्तिकारी मात्र होइन समाजवादी भन्न र गन्न गर्व र गौरव गर्छन् ! क्रान्तिकारी र समाजवादी शब्दको यस्तो धेरै प्रभाव र प्रयोग नेपालबाहेक अन्यत्र सायद नहोला ! त्यसैले त सबैजसो पार्टीहरुले, यहाँसम्म कि प्रतिक्रियावादी पार्टीहरुले पनि आआफ्ना घोषणापत्रका अतिरिक्त राज्यकै सहमतीय संविधानमा समेत समाजवादलाई गन्तव्य  बताएका छन् । जे होस्, हामीले अहिले चर्चा गर्न लागेको नेपालमा देखिएका कम्युनिस्ट क्रान्तिकारीहरुको प्रकारका बारेमा हो जो मूलतः निम्न प्रकारका छन् –

१. कोठे क्रान्तिकारी अर्थात् कोठामा, हलमा, मन्चमा, बैठकमा वा संसदमा शानसङ्ग बसेर आरामले तर्क-वितर्क गरी आफ्ना बोली-बचन, भीषण-भाषण, नीति-विधि, योजना-कार्यक्रम, विधान-संविधान र घोषणा-प्रतिबद्धतापत्रमा भद्र, शिष्ट र मर्यादित भाषाशैलीमा क्रान्तिका मीठा-मीठा र ठुला-ठुला सपना बुन्ने र बाँड्ने तर विपनामा विपरीत गर्ने कथित क्रान्तिकारीहरु । क्रान्तिका नाममा सडक संघर्षको, वर्गसंघर्षको र क्रान्तिकारी हिंसात्मक संघर्षको कुरासम्म सुन्न नचाहने र सारत: भ्रान्तिको खेती गर्ने नामका क्रान्तिकारी तर कामका भ्रान्तिकारी नै यो वर्गमा पर्ने क्रान्तिकारीहरु हुन् ।

२. ओँठे क्रान्तिकारी अर्थात् ओँठमा जतिबेला पनि, जे गर्दा पनि र जहाँपनि क्रान्ति र क्रान्तिका कुरा मात्र गर्ने अनि क्रान्तिबाहेकका अन्य व्यक्तिगत र व्यावहारिक कुरा गर्नेलाई गैरक्रान्तिकारी भनी खिसिट्युरी गर्ने महाक्रान्तिकारी ! यी क्रान्तिकारीहरु विचारका र ब्यवहारका क्रान्तिकारी होइनन्, केबल कुराका क्रान्तिकारी हुन् र ती कुरा पनि ठुला, चर्का, धेरै र आक्रामक गर्ने क्रान्तिकारी हुन् यी ! त्यसैले यिनलाई वकबासे वा चेपारे क्रान्तिकारी पनि भनिन्छ भने यिन्का कुरालाई क्रान्तिकारी बकबास भनिन्छ ! तथापि यिन्ले आफूलाई कम्ती क्रान्तिकारी ठान्दैनन् !

३. कलमे क्रान्तिकारी अर्थात् कलम, कम्प्युटर वा मोबाइल अनि कलेज, किताब, कापी आदि प्रयोग गरेर, विश्वविद्यालय, पुस्तकालय र वाचालयमा पसेर, देसी-विदेसी पुस्तक, पतृका र प्रा. डा. आदिको संग्रह गरेर अनि समाजवादी भनिनेदेखि साम्राज्यवादी मानिने मुलुकहरुको भ्रमण आदि गरेर क्रान्तिको ज्ञान र अनुभव हासिल हुन्छ र त्यसलाई क्रान्तिका लागि शिक्षाको रुपमा लागू गर्नुपर्छ भन्ने आग्रह राख्दछन् ! उनीहरुले यो नै नाम, दाम, काम र आराम आर्जन गर्ने सही क्रान्तिकारी विधि र बुद्धिमानी पनि हो भन्छन् ! यसो गरेर आफूहरुले कम्युनिस्ट क्रान्तिलाई ठूलो योगदान पुराएकोमा गर्व र गौरव गर्ने सालीन क्रान्तिकारीहरु यसै श्रेणीमा पर्दछन् !

४. सलामे क्रान्तिकारी अर्थात् जय नेपाल भन्ने तर नेपाल र नेपालीको घात गर्ने गरेझैं शहीदलाई सलामी दिने तर शहीदका सपनामा कुठाराघात गर्ने, आफूलाई पनि सलाम गर्नेहरुलाई नै मलाम पार्ने त्यस्ता स्वार्थी, धोकेवाज, विश्वासघाती, बेइमान, गद्दार र कृतघ्न कथित क्रान्तिकारीहरु, जो सर्वाधिक तुच्छ र त्याज्य छन्, ती सबै यसै वर्गमा पर्दछन्  ।

५. हुलमूले क्रान्तिकारी अर्थात् क्रान्तिको हवाहुरी र लहर-उभार आएको बेला रोमान्चित भएर जानीनजानी, बुझीनबुझी लहलहैमा र हल्लैहल्लामा बनेका क्रान्तिकारी, जो पछि क्रान्तिको उतारका बेला, दमनका बेला, दुखकष्टका बेला र त्यागबलिदानका बेला कुलेलम ठोक्छन् र सत्ता वा सदनमा रहेका वैधानिक शक्तिका सामु लम्पसार परी तिनैमा समाहित हुन्छन् तर पनि   समाजमा समेत क्रान्तिका धेरथोर अनुभव सुनाएर आफ्नो धाक-रवाफ जमाउन भने नछोड्ने बचकाना क्रान्तिकारी यसै श्रेणीमा पर्दछन् ! क्रान्तिकारी उभार आएको र आन्दोलनको लहर बढेको बेला ह्वारह्वार्ती देखापर्ने यी बर्षे झरी च्याउ जस्ता मौसमी (seasonal) क्रान्तिकारीहरु क्रान्तिको सीजन हराए/बदलिएसँगै हराउँदै/बदलिंदै जान्छन् !

६. ढुल्मुले क्रान्तिकारी अर्थात् अवसरवादी वा छेपारे क्रान्तिकारीहरु ! क्रान्ति र प्रतिक्रान्तिको टक्कर परिरहेको, बलाबल र रस्साकस्सी भैरहेको बेलामा यता जाउँ कि उता जाउँ, यसो गरुँ कि उसो गरुँ भन्दै बीचमा बसेर ढुलमुल-ढुलमुल गर्ने वा बीचको बाटो नै सही हो अन्य दुवै बाटाहरु गलत हुन् भनी आफूलाई सही, सन्तुलित र सक्षम क्रान्तिकारी बताउने र तर मार्ने तर क्रान्ति  बलियो, बिजयी, विस्तारित र विकसित बनेको बेलामा बहादुर र खाँटी क्रान्तिकारी नै बन्ने र केही गर्ने अनि क्रान्तिका उपलब्धिको प्रबल जिम्मेदार, हकदार र दावेदार भएर पद-प्रतिष्ठा, सुख-सुविधा, सम्मान-पुरस्कार पनि पड्काउने अनि क्रान्ति कमजोर भएको, प्रतिक्रान्ती हावी भएको र अवसरवादी-प्रतिक्रान्तिकारीहरुको हालीमुहाली र हुकुम-हैकम चलेको बेलामा क्रान्ति  सम्भव र आवश्यक दुवै छैन, सुधार पनि क्रान्तिको लक्षमा पुग्ने मार्ग हो भनी प्रतिक्रान्तिको बाटो पक्रने र त्यहाँबाट पनि आफ्नो सान, मान र स्थान पड्काउने चरम अस्थिर, धूर्त, व्यक्तिवादी, परिवारवादी र स्वार्थी अवसरवादीहरु यस वर्गमा पर्दछन् !

७. ढोङ्गी क्रान्तिकारी अर्थात् क्रान्तिको ढोङ्ग गर्ने, स्वाङ पार्ने, नाटक वा नौटङ्की गर्ने अथवा क्रान्ती र क्रान्तिकारीताको  बहानाबाजी गर्ने लफ्फाजी क्रान्तिकारीहरु ! वास्तवमा जस्लाई क्रान्ति गर्नु छैन,  क्रान्तिकारी राग अलापेर वा रुपरङ्ग पहिरिएर क्रान्तिकारी देखिनु, गनिनु र मानिनु भने छ, त्यस्ता क्रान्तिकारी भनिनेहरु नै यस प्रकारका क्रान्तिकारी हुन् !

८. डलरे क्रान्तिकारी अर्थात् NGO/INGO वादी क्रान्तिकारी ! कम्युनिस्ट क्रान्तिकारीहरुलाई मास्ने गुरुयोजना अन्तर्गत पालित, पोषित र संचालित साम्राज्यवादीहरुका डलर खाएर जातीय, धार्मिक, सांस्कृतिक, लैङ्गिक र मानवीय आदि अधिकार, समानता र स्वतन्त्रताका नाममा तिनलाई वर्गीय र राष्ट्रिय आन्दोलनभन्दा मुख्य, माथी र निर्णायक बनाएर विभिन्न सवर्गहरुबिच विद्वैष, वैमनस्य, विरोध र विभाजन सिर्जना गरी वर्गीय आन्दोलन रुपी कम्युनिस्ट क्रान्तिकारी आन्दोलन (सत्ता, सरकार र सदन अनि पार्टी, संघसंस्था र संगठन आदि सबै) लाई अन्ततः र सारत: विघटन र विसर्जनमा पुराउने घोषित-अघोषित उद्देश्य र अभिप्रायले निर्मित र संचालित देसी/विदेसी NGO/INGO र तिनका हर्ताकर्ता र धर्ताहरु यसै कोटीमा पर्ने दलाल, दास र दम्भी NGO/INGO वादी डलरे क्रान्तिकारी अर्थात् विध्वंसकारीहरु हुन् ।

९. यान्त्रिक क्रान्तिकारी ! यस श्रेणीमा जडसूत्रवादी, रुढीबादी र कठमुल्लावादी क्रान्तिकारीहरु पर्दछन् ! मालेमावादका दर्शन, सिद्धान्त र विचारहरुलाई; रुसी वा चिनियाँ समाजवादी क्रान्तिका अनुभवहरुलाई; विभिन्न देसका सफल कम्युनिस्ट आन्दोलनका रणनीती र कार्यनीतिहरुलाई र स्थापित गुरु-नेता र उहाँहरुका भनाइहरुलाई ब्रह्मवाक्यको रुपमा, लकीरको फकीरको रुपमा र हुबहु अन्धानुकरणको रुपमा ग्रहण गर्ने, महिमामण्डित गर्ने, देवत्वकरण गर्ने र हाम्रो देसको भिन्न र विशिष्ट अवस्थामा पनि उनीहरु हुबहु लागू गर्न-गराउन खोज्ने गर्छन्  तर तिनबाट थोरै पनि दायाँबायाँ वा तलमाथि भएमा छोईछिटो लाग्ने, जातै जाने र  सर्वनासै हुने सोंच्छन् ! यसो गर्दा उनीहरु समाजमा अली अव्यावहारिक, अबैज्ञानिक र अवान्छित लाग्छन् र जनता-कार्यकर्ताबाट आइसोलेटेड हुन पुग्छन् ! सिद्धान्तका दृष्टिले सही र स्वच्छ अनि आचरणका दृष्टिले  आस्था र आदर्शमा अडीग देखिए पनि यस श्रेणीका क्रान्तिकारीहरु वास्तविक जीवन-व्यवहारमा क्रान्ति गर्ने सच्चा क्रान्तिकारी नभएर क्रान्तिकारी दर्शन-सिद्धान्त, आस्था-आदर्श, नीति-नैतिकता र मूल्य-मान्यतालाई प्रेम गर्ने सच्चा क्रान्तिप्रेमीहरु हुन् र यी सबै यही श्रेणीमा पर्दछन् ।

१०. सच्चा-पक्का क्रान्तिकारी अर्थात् विचार, विधि, वर्ग र वचनदेखि व्यवहारसम्म, जन्मदेखि मृत्युुसम्म आस्था र आचारमा, शब्द र कर्ममा, मति र गतिमा अनि राजनीती र संस्कृतिमा संयोजन, सन्तुलन र समरुप कायम गर्दै त्याग, तपस्या र बलिदानको बाटोलाई सहर्ष र सगर्व आत्मसात गर्ने  क्रान्तिकारी । सडकदेखि  सरकारसम्म, गाउँदेखि  शहरसम्म, युद्धदेखी बुद्ध (शान्ति) सम्म, वदनदेखि  सदनसम्म, दिलदेखि दिमागसम्म, कुरादेखि  कामसम्म तन, मन र धन दिएर क्रान्तिका कामहरु निरन्तर र जीवनभर वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्ने प्रकृयामा लागेका  सच्चा र पक्का कम्युनिस्ट क्रान्तिकारीहरु यो प्रकारमा पर्दछन् !

उपरोक्त विश्लेषण सामान्य भएकोले यी बाहेक अन्य केही क्रान्तिकारी व्यक्ती र प्रवृत्तिहरु पनि पाइन्छन् । ती हुन् – हाटहुटे, लाटलुटे , डाङ्डुङे र भाङभुङे क्रान्तिकारी अनि छद्म, क्षणिक र आंशिक आदि इत्यादि  क्रान्तिकारीहरु ! खैर जे होस्, यी मध्ये सही क्रान्तिकारी चिन्न, जान्न र मान्न अनि गलत, भ्रष्ट, दुष्ट र निकृष्ट कथित क्रान्तिकारी अर्थात् अवसरवादीहरुलाई चिन्न, बिन्न र हान्न जरुरी छ ! यसो गर्नु-गराउनु नै महान् अक्टोबर समाजवादी क्रान्तिको सार अवलम्बन र कार्यान्वयन गर्नु हो ! यसो गर्दा मात्रै अक्टोबर क्रान्ति र क्रान्तिनायकहरुको सच्चा सम्झना र सम्मान हुन्छ भन्ने लाग्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु