नागरिक अगुवाद्वारा प्रधानमन्त्रीले ‘रअ’का प्रमुखलाई भेटेकामा आपत्ति

२०७७ कार्तिक ९ गते, आईतवार


काठमाडौं । नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेकोप्रति आपत्ति जनाएका छन् । दीपेन्द्रबहादुर क्षत्री, द्वारिकानाथ ढुंगेल, पीताम्बर शर्मा, भैरव रिसाल, युवराज संग्रौला, लीलामणि पौडेल, सूर्यनाथ उपाध्याय, सूर्यराज आचार्य, हरि रोकालगायत २३ जना नागरिक अगुवाहरुले सामूहिकरुपमा एक अपिल जारी गरी प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयललाई भेटेकोप्रति आपत्ति जनाएका हुन् ।
अपिलमा भनिएको छ-‘विदेशी जासुसी विभागका प्रमुखलाई प्रधानमन्त्रीले रातिको समयमा आफ्नै सरकारी निवासमा भेट्नु कुनैपनि अर्थमा जायज मान्न सकिन्न ।’
अपिलमा अगाडि भनिएको छ-‘प्रधानमन्त्रीले आफ्नो देशका उपयुक्त तहका अधिकारीसँग भेट्न लगाएर अन्त्यमा शिष्टाचार भेट दिन आवश्यक भए सम्बद्ध सरकारी अधिकारीसहित शिष्टाचार भेट हुनुपर्नेमा सोझै जासुसी विभागका प्रमुखलाई त्यो पनि जुन समयमा, जहाँ-जसरी देशको कार्यकारीले भेट गर्नुभयो, त्यसलाई जसरी प्रतिरक्षा गरेपनि कुनै हालतमा जायज मान्न सकिँदैन ।’
उनीहरुले भ्रमणको एजेन्डा, आमन्त्रण र कुराकानीलगायतका गतिविधिसमेत गोप्य राख्नु झन् आपत्तिजनक भएको टिप्पणी समेत गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु