सामसुङ ग्रुपका अध्यक्ष लीकाे मृत्यु

२०७७ कार्तिक ९ गते, आईतवार


काठमाडौं । दक्षिण कोरियाको राजधानी सिओलमा सामसुङ ग्रुपका अध्यक्ष ली कुन-हीकाे ७८ वर्षकाे उमेरमा मृत्यु भएकाे छ । सामसुङ इलेक्ट्राेनिक्सले आइतबार (आज) लीकाे मृत्यु भएको भन्दै एक विज्ञप्तीद्वारा पुष्टि गरेकाे छ । तर उनकाे मृत्युकाे कारण भने खुलाएको छैन । न्यूयाेर्क टाइम्स लगायत अन्तर्राष्टिय समाचार एजेन्सीहरूले उनकाे मृत्युकाे खबर प्राथमिकताका साथ छापेका छन् ।
दक्षिण कोरियाली व्यवसायी लीले सन् १९८७ देखि २००८ र सन् २०१० देखि २०२० सम्म दुइ कार्यकाल सामसुङ ग्रुकाे अध्यक्षकाे जिम्मेवारी सम्हालेका थिए । उनलाइ सन् २०१४ मा हृदयघातको समस्या देखिएकाे थियाे, यसपालि पनि साेहि कारण मृत्यु भएकाे हुनसक्ने अडकल गरिए पनि कारण प्रस्ट हुन सकेकाे छैन ।
विश्वभर ब्राण्डका रूपमा छाएकाे सामसुङ स्मार्टफोन, कम्प्युटर र टेलिभिजन लगायत इलेक्ट्राेनिक उपकरण उत्पादनमा अग्रणी मानिन्छ । विश्वमै प्रभुत्व जमाएको सामसुङले अमेरिकी कम्पनी एप्पललाई टक्कर दिइरहेको छ ।
खेलमा रुची राख्ने ली विश्व ओलम्पिक कमिटीको सदस्य पनि थिए । सेप्टेम्बर २०२० मा सामसुङको सम्पत्ति २० अर्ब डलर मूल्याङ्कन गरिएको थियो । लीकाे जन्म सन् १९४२ मा भएकाे थियाे । उनले पिताको स्थानीय स्तरको व्यवसायलाई बढाउँदै विश्वकै प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान बनाउन सफल भएका थिए । हाल उनका एक छोरा र दुई छोरी रहेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु