मिथिला क्षेत्रमा देवीको ‘खोंइछ’ भरिँदै

२०७७ कार्तिक ९ गते, आईतवार


काठमाडौं । बडादशैंँ पर्वको महासप्तमीका दिन आँखा खोलिएका देवी प्रतिमामा श्रद्धालु भक्तजन ‘खोंइछ’ (पोल्टा) भर्दैछन् । फूलपातीको दिन सूर्यास्तसँगै शुरु हुने ‘खाेंइछ भर्नेक्रम महानवमीसम्मै रहने मैथिल परम्परा छ । यस विधिमा देवी प्रतिमाको पोल्टामा भेटीस्वरुप नगद, शृङ्गार प्रसाधन, अक्षता, फूल र नयाँ कपडा चढाउने प्रचलनअनुसार खाेंइछ भर्नेक्रम महासप्तमीको दिन सूर्यास्तपछि शुरु भएको हो । खासगरी देवीको पुकारा गरी भाकल गर्नेहरुले खाेंइछ भर्ने चलन छ ।
देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएकै दिन(फूलपातीका दिन) सूर्यास्तपछि खाेंइछ भर्नेहरुको निकै भीड लाग्ने गरेको छ । देवी प्रतिमालाई सजाएर लगाइएको सारीको अग्र भागको पोल्टामा खाेंइछ भर्नेहरुको सुविधाका लागि पालो निर्धारण गर्न धेरैजसो देवी प्रतिमास्थलमा अग्रिम नाम दर्ता गरिएको छ ।
मिथिला क्षेत्रमा भाकल मान्न देवी प्रतिमाको पोल्टो भर्ने प्रचलन चलेको यस क्षेत्रका संस्कृति परम्पराका ज्ञाताको भनाइ छ । खासगरी दुर्गाभवानीको लक्ष्मीस्वरुप र बिघ्नहरणीको रुप सम्झेर खाेंइछ भरिने परम्परा बसेको बर्दिवास–३ का बासिन्दा मैथिल पण्डित महेशकुमार झाले बताउनुभयो । देवीको खाेंइछ भर्नाले दरिद्रता, सन्ताप र शारीरिक कष्ट निवारण भई सुख, सन्तोष प्राप्त हुने मैथिल हिन्दू जनविश्वास छ । ‘खोंइछ’ महासप्तमीका दिनदेखि नवमीसम्म श्रद्धालुले भर्ने गरेका छन् । नवरात्रमा देवी उपासना र कर्तव्यसँगै जोडिने गरेको यो विधि महिलाले नै पूरा गर्ने गरेका छन् । – रासस

प्रतिक्रियाहरु