मुम्बई इन्डियन्स शीर्ष स्थानमा

२०७७ कार्तिक ८ गते, शनिबार


काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा गएराति सम्पन्न खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईले दिएको १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईको जितमा इशान किशनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्विन्टन डी कक ४६ रनमा अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । चेन्नईका लागि साम करणले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ्स खेले । इमरान ताहिर १३ रनमा अविजित रहे ।
यस्तै कप्तान महेन्द्र सिंह धोनीले १६ रन जोड्दा सार्दुल ठाकुरले ११ रन बनाए । खराब ब्याटिङ गरेको चेन्नईले मात्र २१ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाएको थियो । चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका ट्रेन्ट बोल्टले ४ विकेट लिए । राहुल चाहर र जस्प्रित बुम्राहले २/२ विकेट लिए ।
। कल्टर निलको नाममा १ विकेट रह्यो । जितसँगै मुम्बईले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ ।

यस्तै मुम्बईले चेन्नईसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा चेन्नईले मुम्बईलाई ५ विकेटले हराएको थियो । चेन्नईले भने ११ खेलमा ६ अंक जोडेको छ । यस्तै आईपीएल इतिहासमा १० विकेटले पराजित हुने चेन्नई पहिलो टिम समेत बनेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु