प्रधानमन्त्रीको दशैं शुभकामनामा लिम्पियाधुराबिनाको नक्शा प्रयोग : कांग्रेसद्वारा आपत्ति

२०७७ कार्तिक ७ गते, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दशैं शुभकामनामा दिँदा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्शा प्रयोग गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दिएको दशैं शुभकामनामा सामाजिक सञ्जालबाटै प्रश्न गर्दै लिम्पियाधुरा नसमेटिएको नक्शा प्रयोग गर्नुको कारण सोधेका छन ।
देशको संसदले पारित गरेको नक्शा अब नक्शामै असुरक्षित भएपछि जग्गा कसरी फिर्ता होला भन्दै शर्माले प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।
शर्माले आफ्नो ट्वीटमा लेख्नुभएको छ, ‘लिम्पियाधुरारहित नेपालको नक्शा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौँ सम्माननीय प्रधानमन्त्री ज्यू ? गम्भीर विमती दर्ज होस् ।’
ओली नेतृत्वमा भारतले हडपेको जमीन फिर्ता हुनेमा संशय गर्दै शर्माले प्रश्न गर्नुभएको छ, ‘देशको संसदले पारित गरेको नक्शा अब नक्शामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन ?
लिम्पियाधुरा रहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननिय @PM_Nepal ? गम्भीर विमती दर्ज होस् !
देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ? प्रधानमन्त्री ओलीले दशैंको शुभकामना दिन प्रयोग गरेको तस्वीरमा नेपालको निशान छाप अंकित गरिएको छ । तर उक्त छापमा रहेको नेपालको नक्शामा भने हालै संविधान संशोधन गरेर समेटिएको लिम्पियाधुरासहितको भूभाग नसमेटी पुरानै नक्शा राखिएको छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग भेट भएको पर्सिपल्ट आएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा पुरानै नक्सा प्रयोग हुनुलाई विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ ।

प्रतिक्रियाहरु