गृहमन्त्री थापाको अशोभनीय अभिव्यक्ति:वार्ताबाट निकास खोज्नेभन्दा द्वन्द्व चर्काउन उद्दत

२०७७ कार्तिक २ गते, आईतवार

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले ६५ औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीलाई निस्तेज पार्न कुनै सम्झौता नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । शुक्रबार प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले नेपाल कम्युनिस्ट पार्टीको नाम नलिई भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोधको प्रयास गरेको भन्दै त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झौता नगर्न भन्दै नेपाल कम्युनिस्ट पार्टीलाई निस्तेज पार्न निर्देशन दिएका हुन् । १० वर्षे जनयुद्धदेखि ७० सालको निर्वाचन बहिष्कारसम्म सँगै काम गरेका नेपाल कम्युनिस्ट पार्टीप्रति अहिलेका गृहमन्त्री थापाले कडा रबैया अपनाएकोमा यस अघि पनि आलोचना हुँदै आएको थियो । ०७५ साल फागुण २८ गतेदेखि नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध गरेर सो पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने, इन्काउन्टरमा कुमार पौडेलसहित झन्डै एक दर्जन कार्यकर्ताको हत्या गरेको भन्दै बिरोध हुँदै आएको छ ।

औपचारीक युद्ध या सशस्त्र संघर्षको घोषणा नगरेको अवस्थामा पनि नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्धसहित धरपकड गरिरहेको प्रहरी प्रशासनले गृहमन्त्री थापाबाट फेरि कडा कारबाही गर्ने निर्देशन पाएको छ । यसबाट सरकार राजनीतिक समस्याको हल वार्तावाट गर्नभन्दा बन्दुकको बलमा नेपाल कम्युनिस्ट पार्टीलाई सिध्याउन चाहन्छ भन्ने कुराको पुष्टि भएको छ ।

कम्युनिस्ट पार्टीको खोलमा झन्डै दुई तिहाई बहुमतको केपी ओली नेतृत्वको सरकारले दिनप्रतिदिन राष्ट्रघात र जनघात गरेको समाचारहरु सार्बजनिक भइरहेका छन् । महँगी र भ्रष्टाचारले सीमा नाघेको छ, जनजीविका चौपट भएको छ । बैदेशिक हस्तक्षेपले देशको अस्तित्व माथि संकट आइलागेको छ । यी तमाम बिषयलाई केन्द्र भागमा राखेर देश र जनताको पक्षामा सतिसालको रुपमा खडा भएर्को नेपाल कम्युनिस्ट पार्टीलाई बन्दुकको बलमा सिध्याउने दुस्साहस गर्नु गम्भीर राष्ट्रघात र जनघात भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

नेपाल कम्युनिस्ट पार्टी कै खबरदारीका कारण सरकारले गर्न लागेका कयौँ राष्ट्रघात, जनघात र भ्रष्टाचार रोकिएका छन् । नेपाल कम्युनिस्ट पार्टी कै खबरदारीका कारण मल र रेलको लिग निर्माण ठेक्काका नाममा सरकार कै संलग्नतामा हुन लागेको अर्बौ भ्रष्टाचार रोकिएका छन् भने नेपाल कम्युनिस्ट पार्टी कै खबरदारीका कारण भ्रष्टाचारी, कालोबजारी र दलालहरुलाई कारवाही गर्न सरकार बाध्य भएको छ । नेपाल कम्युनिस्ट पार्टी कै खबरदारीका कारण सरकारले बेलगाम राष्ट्रघात र जनघात गर्न नपाएपछि आफैँले बनाएको संविधानको धज्जी उडाउँदै नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाए पनि जनताले नेपाल कम्युनिस्ट पार्टीमाथि लागाएको सरकारी प्रतिबन्धको उपहास गर्दै र धाजी उडाउँदै नेपाल कम्युनिस्ट पार्टीलाई साथ र सहयोग गरेका छन् । अब यो राष्ट्र र जनताको लागि नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिलाई पूर्णता दिनुको बिकल्प नभएको आमसचेत नागरिकको ठम्याई छ । जसको पुष्टि हालै विभिन्न साना दलहरुले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध फिर्ता हुनुपर्ने लगायतका माग राख्दै गरेको सडक संघषले गर्दछ । यस्तो अवस्थामा गृहमन्त्रीबाट ठाउँ–ठाउँमा र पटक–पटक आउने अशोभनीय अभिव्यक्ति अनिष्ठको संकेत भएको राजनीतिक विश्लेषकहरुको ठहर छ । उनीहरुले प्रधानमन्त्री केपी ओलीले गृहमन्त्रीले देशलाई द्वन्द्वमा होम्ने किसिमले दिएको अभिव्यक्ति तत्काल फिर्ता लिन लगाई नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध तत्काल हाटाई वार्तावाट समस्याको समाधान खोज्नु पर्ने बताएका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु