नानी-बाबुहरूसँग

बलराम तिमल्सिना २०७७ कार्तिक १ गते, शनिबार

चिप्ले कीराका बच्चाहरूलाई
बाउ-आमाहरू सुस्त घिस्रेको देखेर
कहिलै अल्छी लाग्दैन
चिप्ले कीराको बच्चाको दिमागमा
त्योभन्दा तिव्र गतिको अनुभूति नै हुदैन !

सुँगुरका बच्चाहरू
हिलोमा सुतेकी आमाका
हिलाम्य बनेका फाँचामा मुख गाडेर
दूध चुस्न कहिलै घिन मान्दैनन्
ती झम्का मारी मारी दूध चुस्छन्
त्योभन्दा सफा कुराको चित्र
तिनीहरूको दिमागमै हुदैन !

अरुले फालेको खकार या सिँगान
फटाफट खाएको देखेर माउले
कुखुराका चल्लाहरू
कैलै घिन मान्दैनन्
बरु ति पनि प्रशिक्षित बन्दै जान्छन्
आमाले आची खाएको देखेर
कुकुरका छाउराहरूलाई
कैलै वाकवाकी लाग्दैन
बरु ती पनि चाट्न थाल्छन् !

अरु जनावरको
घाँटी निमोठेको देखेर
या आन्द्राभुँडी छरेको देखेर
आफ्ना बाउ-आमाप्रति
सिंह या ब्वाँसाका बच्चाहरूमा
कहिलै घृणा पैदा हुदैन
बरु आनन्द पैदा हुन्छ !

प्यारा नानी बाबुहरू हो !
यस्तै यस्तै गरेर
घुषखोरका छोराछोरीहरू
कमिशनखोरका श्रीमतीहरू
गद्दार तथा भ्रष्ट दलका कार्यकर्ताहरू
तस्करका ससुरालीहरू
बलात्कारीका यार दोस्तहरू
ती कसैलाई पनि पछुतो हुदैन
बरू ती त गदगद हुन्छन् !

बजारमा महङ्गी बढ्दा
दुखी हुनेहरू मात्र हुदैनन्
भोज खानेहरू पनि हुन्छन्
झुपडीको घाम खोसेर
महलमा बसेर ताप्नेहरू हुन्छन्
नानी बाबुको खुसी खोसेर
खुसीको पसल थाप्नेहरू हुन्छन् !

नानी बाबुहरू
मान्छे भन्नु
हाड मासु र छालाको आकृति मात्र होइन
मान्छे पनि दुई खालको छ
शिकार गर्ने मान्छे
र शिकार पर्ने मान्छे
मलाई नढाँटी भन त-
तिमीहरू कुन मान्छेका छोरा छोरी हौ ?

प्रतिक्रियाहरु